५/६ वर्षअघिसम्म घरमा एउटा मात्रै डिभाइस हुन्थ्यो । अहिले एक व्यक्तिले नै मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटर चलाउन थालेका छन् । यतीमात्रै होइन गाडी, वासिङं मेसिन, फ्रिज, स्मार्ट टिभीजस्ता आधुनिक प्रविधिको प्रयोग निकै बढिरहेको छ । उता इन्टरनेट प्रयोग देशैभरी नै बढिरहेको छ । नयाँ डिभाइस, एप्लिकेशन र सर्भिस भित्रिने क्रम तिव्र बढिरहेको छ ।
पछिल्लो पटक झनै चर्चामा रहेको विषय हो, स्मार्ट सिटी । स्मार्ट सिटीमा हामीले बुझ्दै आएको कुरा के हो भने, त्यहाँ धेरै प्रविधिको प्रयोग गरिन्छ अनि यी सबै प्रविधि इन्टरनेट प्रोटोकलमा जोडिन आउँछन् । यस्तो अवस्थामा विद्यमान आइपीभी ४ (IPv4) मा भएको ट्राफिकले धान्न गार्हो हुन्छ । धेरै खतरा र समस्या निम्तिन सक्छन् । यसको समाधानका लागि आइपीभी ४ को विकल्प बनेर आएको छ, आइपीभी ६ (IPv6) ।
इन्टनेट ठेगानाहरुको पछिल्लो संस्करण हो, आइपीभी ६ । ६ वर्षअघि इन्टरनेट सोसाइटीको अग्रसरतामा इन्टरनेटसम्बन्धी काम गर्ने संस्थाहरु मिलेर उनीहरुको नेटवर्कमा स्थायी रुपले आइपीभी ६ सुरु गर्ने निर्णय गरे । यो अवधिमा विश्वका कुल इन्टनेट प्रयोगकर्तामध्ये २५ प्रतिशत प्रयोगकर्ता आइपीभी ६ मा जोडिएका छन् । केही देशहरुमा अझ यसको प्रयोग निकै उच्च देखिएको छ ।
हाम्रै छिमेकी देश भारतले पनि ६ वर्षअघि आइपीभी ६ सुरु गर्यो । अहिले भारतमा २३७ मिलियन मानिस आइपिभी ६ मा जोडिएका छन् । एलेक्सामा शीर्ष एक हजार वेबसाइटमध्ये २४ प्रतिशत वेबसाइट आइपीभी ६ इनेबल छन् । यसरी विश्वभर नै नेटवर्क र सर्भिस प्रोभाइडरले आइपीभी ६ लाई डिप्लोइ गरिहेका छन् ।
नेपालमा आइपीभी ६ कहिले ?
नेपालमा पनि इन्टरनेट प्रयोगकर्ताको संख्या दिनानुदिन बढिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)को पछिल्लो तथ्यांकअनुसार एक करोड ३४ लाख नेपालीको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । इन्टरनेट प्रयोगमा वृद्धि भएसँगै नेपालमा नयाँनयाँ डिभाइस, एप्लिकेशन तथा सर्भिस पनि उत्तिकै रुपमा भित्रिदैछन् ।
जसरी इन्टरनेटको प्रयोग बढिरहेको छ, इन्टरनेटलाई चलाउन आवश्यक आइपी एडरेसको पनि उत्तिकै आवश्यकता छ । हुन त हाल प्रचलित र उपलब्ध आइपीभी ४ एडरेसले पर्याप्त सर्भिस नदिएका होइनन् । तर, अहिले आइरहेका नयाँ डिभाइसहरु, एप्लिकेशनहरु बढ्दै जाने हुनाले आइपी एडरेस सिमित हुन्छ । अनि इन्टरनेटको गुणस्तरीयता र इन्टरनेटको गति पनि साँघुरिदै जाने देखिन्छ ।
यो समस्या नेपालको मात्रै नभई पुरा विश्वको हो । धेरै देश भविष्यको यो चुनौतीलाई सम्बोधन गर्न लागिसके । नेपालमा भने यसको प्रयोगबारे चर्चा हुन थालेको भर्खर-भर्खरै हो । अहिलेको विद्यमान नेटवर्क सिष्टमले के भन्छ भने जति पनि कम्प्युटर इन्टरनेटमा जडान हुन्छ, त्यति नै तिनलाई आइपी एडरेस अर्थात् एउटा युनिक आइपी नामकरण दिइन्छ । त्यसका लागि आइपीभी ४ प्रणालीमै बसेर काम गर्ने हो भने यसले ४३ विलियन जति आइपी एडरेसहरुमा काम गर्न सकिन्छ ।
‘यसो हेर्दा यो संख्या धेरै भए पनि त्यतिबेला सही सोच, दूरगामी नजर आदि नभएकाले धेरै आइपी एडरेसहरु अनधिकृत रुपले बेचियो । जुन अब फिर्ता लिने अवस्था छैन । केही प्रयोगमा आउन सकेका छैनन् । बाँकी रहेका आइपी एडरेसहरु इन्टरनेट प्रयोगकर्ता, डिभाइस, एप्लिकेशन, वेबसाइट होस्ट गर्न निकै कम हुँदै गएका छन्,’ सूचना प्रविधि विज्ञ एवं भारतस्थित केआइआइटी युनिभर्सिटीका प्राध्यापक डा. सुदन झाले भने । उनका अनुसार जुन गतिले इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन्, जसरी वेबसाइटहरु होस्ट भइरहेका छन्, त्यसरी नै डिभाइसहरु र एप्लिकेशनहरुको प्रयोग पनि बढिरहेको छ ।
‘वर्तमान अवस्थामा आइपीभी ४ ले सबैलाई आइपी एडरेस दिन सके पनि भोलीको मागलाई पुरा गर्न सकेन भने स्वभावैले इन्टरनेट नचल्ने, गुणस्तरीय सेवा लिन नसक्ने तथा अन्य प्राविधिक समस्याहरु आउने गर्छन् । यसको विकल्प भनेको आइपीभी ४ को नयाँ संस्करण आइपीभी ६ नै हो,’ उनले भने ।
किन आइपीभी ६ ?
- डाटा सटिक रुपले छिटो परिचालन हुन्छ । किनभने एउटा आइपी पाइएन भने अर्कोबाट परिचालन हुने सम्भावना प्रबल हुन्छ ।
- आइपीभी ४ मा जस्तो हरेक नोड वा ठाउँठाउँमा यसको डाटाको परीक्षण हुँदैन । एकैपटकमा हुने भएकाले यसले सेवाको गुणस्तरीयता राम्रो हुन्छ ।
- डाटाको बहाव हुने बाटो 'routing path' एउटा मात्रै नभई थुप्रै हुन जान्छन्, जसले गर्दा समयको बचत पनि हुने भयो र डाटा गन्तव्यमै पुग्ने निश्चितता हुन्छ ।
- अहिलेको अवस्थामा सर्भर आफैले आइपी दिन्थ्यो भने आइपीभी ६ मा इन्टरनेट प्रयोगकर्ता, डिभाइस, एप्लिकेशनहरु, वेबसाइट होस्ट आदि जो भएपनि सिस्टम आफैले आइपी जेनेरेट गरिदिन्छ । जसले गर्दा प्रयोगकर्तालाई केही थाहा नै हुँदैन । तर उसको इन्टरनेटको गति भने कायमै रहन जान्छ, अर्थात् आइपी एडरेसको कमी हुँदैन ।
- भिओआइपी, क्युओएस जस्ता सेवारु प्रबल रुपले काम गर्न सक्ने हुन्छन् ।
- सुरक्षाका दृष्टिले हेर्ने हो भने आइपीभी६ मा आइपीसेक प्रविधि रहेको छ,, जसले डाटाको गोपनियता, अथेन्टिकेशन र डाटा इन्टिग्रिटीलाई विशेष ध्यानमा राखेर काम गर्छ ।
अवसर र चुनौती
नेपाल अब चाँडै नै आइपीभी ४ बाट आइपीभी ६ को रुपान्तरणको चरणमा जानुपर्ने छ । तसर्थ आइपीभी ६ के हो, यसमा के के अवसर र चुनौती के के छन् भनेर थाहा पाउन जरुरी छ । अहिले इन्टरनेट सबैका लागि आवश्यकता बनिसकेको छ । यसले गर्दा पुरानो आइपी भर्सनबाट नयाँ आइपी भर्सनमा रुपान्तरण गर्दा केही चुनौतीसँगै पर्याप्त अवसर छन् ।
नेपालमा अहिले केही इन्टरनेट र नेटवर्क प्रोभाइडरहरु आइपीभी ६ को परीक्षणमा जुटेका छन् । अर्कोतर्फ त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक इन्जिनियरिङ संस्थानको आइसिटी सेन्टरमा आइपीभी ६ नेटवर्क प्रणाली जडान गरिएको छ । यसै नेटवर्कमार्फत् अनलाइन क्लासहरु पनि सञ्चालन भइरहेका छन् ।
नेपालमा आइपीभी ६ को एडेप्सन एक प्रतिशत मात्रै भएको जानकारी दिदै इन्टरनेट सोसाइटी नेपालका सचिव रामकृष्ण परियार भन्छन्, ‘नेपालमा सबै कन्टेन्ट आइपीभी ४ मा स्टोर भएका छन् । यसर्थ आइपीभी ६ भित्र्याउन धेरै कसरत गर्नुपर्ने देखिन्छ ।’
अहिले फेसबुक, गुगल, क्लाउडफेयरजस्ता कम्पनीहरुले आइपीभी ६ प्रयोग गरिसकेका छन् । भोली यी कम्पनीहरुले आइपीभी ४ पूर्ण रुपमा अन्त गरेभने प्रयोगकर्तामा ठूलो समस्या आउने देखिन्छ । इन्टरनेट सोसाइटी नेपालका सदस्य कृष्णप्रसाद पोखरेलको विचारमा नेपालमा आइपीभी ६ का लागि थोरै माग हुनु, अहिलेको अवस्थामा आइपीभी ४ नै पर्याप्त हुनु, यसमा काम गर्ने जनशक्ति कम हुनु, सुरक्षाको विषयमा कम अवगत हुनु, लगानीकर्ताको अनिच्छा, कमजोर सरकारी नीति आदिका कारण आइपीभी ६ मा सिफ्ट हुन अझै चुनौती रहेको छ ।
इन्टरनेट सोसाइटी नेपालका महासचिव अमरराज भण्डारी भन्छन्, ‘सरकारसँग यसबारे कुनै नीति, बजेट र रिसोर्स छैन । युवाहरुलाई आइपीभी ४ बाट आइपीभी ६ मा लैजादा हुने अवसर, चुनौती र जोखिमका बारे आत्मासात गर्दै प्रयोगमा ल्याउन सक्यौं भने आइपीभी ६ मा जान सकिन्छ ।’ उनले विश्वले विस्तारै आइपीभी ४ लाई रुपान्तरण गर्दै लगेकोमा नेपालमा पनि भोलीको आइपीभी ६ का लागि अहिले नै वातावरण बनाउनुपर्ने भनाइ राख्छन् । ‘तर,यसका लागि मुख्य सरकारको भूमिका हुने भएकाले उसलाई झक्झकाउनु पर्ने आवश्यकता छ,’ उनले भने ।
इन्टरनेट सोसाइटी नेपालको कार्यक्रम
आइपीभी ६ लञ्च डे अवसरमा ललितपुरस्थित नेपाल कलेज अफ इन्फर्मेशन एन्ड टेक्नोलोजी (एनसिआइटी)मा एक कार्यक्रम आयोजना गरियो । कलेजका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा इन्टरनेट सोसाइटी नेपालका सचिव रामकृष्ण परियार र सदस्य कृष्ण पोखरेलले आइपीभी ६ का विषयमा जानकारी दिदै आइपीभी ४ बाट आइपीभी ६ मा रुपान्तरण हुदा आउने अवसर र सम्भावनाका बारे जानकारी दिए ।