मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने परियोजना अन्र्तगत नेपाल दूरसञ्चार प्राधिकरणले ६६२ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरेको छ । प्राधिकरणका अनुसार गत जेठ मसान्तसम्म ६६२ स्थानीय निकायको कार्यालयमा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै ५ हजार २३० वडा कार्यालय, ४ हजार ६०३ माध्यामिक विद्यालय र ३ हजार ६३३ स्वास्थ्य संस्थामा इन्टनरेट जडान भएको छ ।
प्राधिकरणले देशका ७०२ स्थानिय तहमा इन्टरनेट सेवा पुर्याउन १८ प्याकेजमा विभिन्न इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेको थियो । अब ४० वटा स्थानीय तहमा मात्रै इन्टरनेट पुर्याउन बाँकी रहेको छ ।
त्यसैगरी मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग (अप्टिकल फाइबर) विस्तारको काम एकदमै ढिलाई भएको छ । अप्टिक फाइबर बिच्छ्याउन प्राधिकरणले ३ वटा प्याकेजमा सम्झौता गरेको थियो ।
पहिलो प्याकेज अन्तर्गत प्रदेश १,२ बागमति प्रदेशमा नेपाल टेलिकमले ९७९ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ । टेलिकमले हालसम्म अप्टिकल फाइबर बिच्छ्याउने काम ४४.९२ प्रतिशत मात्रै सम्पन्न गरेको छ ।
प्राधिकरणले दोस्रो प्याकेज अन्तर्गत गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिक फाइबर बिच्छ्याउन युनाईटेड टलिकमसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार कार्य प्रगति नभएपछि प्राधिकरणले सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।
तर युनाइटेड टेलिकम प्राधिकरणको उक्त निर्णय विरूद्ध सर्वोच्च अदालत गएपछि निर्णय कार्यन्यन नगर्न अन्तरिम आदेश दिएसँगै काम अगाडि बढ्न सकेको छैन् ।
त्यस्तै तेस्रो प्याकेज अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिच्छ्याउन प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरेको छ ।
शुरूमा स्मार्ट टेलिकमलाई दिइएको ठेक्का सम्झौता अनुसार काम हुन नसकेपछि टेलिकमलाई दिइएको थियो । हाल तेस्रो प्याकेजको कार्य प्रगति पनि शुन्य रहेको छ ।