नेपाल दूरसञ्चार प्राधिकरणले गत भदौमा ‘दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोड र टोल फ्री व्यवस्थापन कार्यविधि, २०७७’ जारी गरेको थियो ।
उक्त कार्यविधिमा ब्यालेन्स रिचार्ज, ब्यालेन्स ट्रान्सफर र ब्यालेन्स चेकका लागि अब सबै मोबाइल सेवा प्रदायकले एउटै सर्ट कोड प्रयोग गर्नुपर्ने भनिएको थियो ।
यो कार्यविधि लागु भएको ६ महिनाभित्र सबै मोबाइल सेवा प्रदायकले ब्यालेन्स रिचार्ज गर्न १२२, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र ब्यालेन्स चेक गर्न १४४ शर्ट कोड प्रयोग गर्नुपर्ने बताइएको छ ।
तर कार्यविधि जारी भएको एकवर्ष हुन लाग्दा पनि मोबाइल सेवा प्रदायकले यो शर्टकोड प्रयोगमा ल्याएका छैनन् । प्रयोगकर्ताको सहजताका लागि प्राधिकरणले यो व्यवस्था गरेको थियो ।
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ शर्टकोड अनुसार ब्यालेन्स चेक गर्ने व्यवस्था गरेको छ भने अन्य शर्ट कोड प्रयोगमा ल्याएको छैन् । त्यस्तै नेपाल टेलिकम र स्मार्ट टेलिकमले उक्त शर्ट कोड प्रयोगमा ल्याएका छैनन् ।
यसबारे प्राधिकरणको नियमन महाशाखाका निर्देशक अम्बर स्थापितले मोबाइल सेवा प्रदायकलाई सोध्ने बताए । ‘यो प्रयोग भएको छैन् भने हामी सोध्छौं । कार्यविधिमा ६ महिनाभित्र नयाँ शर्टकोड पनि प्रयोग गर्नुपर्ने व्यवस्था छ ।’ उनले भने ।
मोबाइल सेवा प्रदायकलाई कार्यविधिमा उल्लेख भएअनुसार शर्टकोड प्रयोग ल्याउन निर्देशन दिने समेत उनले बताए ।
कार्यविधिमा सेवा प्रदायकले १ वर्षसम्म पुरानो तथा नयाँ दुवै कोडलाई समानान्तर रुपमा सञ्चालन गर्न सक्ने उल्लेख छ । तर कार्यविधि लागु भएको १ वर्षपछि भने कार्यविधिमा उल्लेख भएको कोड मात्रै प्रयोग गर्नुपर्ने व्यवस्था रहेको छ ।