कीवर्डहरू -

पिपुल डेभलपमेन्ट ल्याबलाई आइसिटी स्टार्टअप अवार्ड २०१८

पिपुल डेभलपमेन्ट ल्याबलाई आइसिटी स्टार्टअप अवार्ड २०१८

लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित शुक्रबार राजधानीमा भएको एक समारोहमा विभिन्न ७ विधामा आइसिटी अवार्ड प्रदान गरियो । विभिन्न विधामा सर्वोत्कृष्ट भएका विजयीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित विशिष्ट अतिथिहरुले सम्मान गरेका थिए ।

आइसिटी अवार्डमा कुल ७ विधा रहेका थिए । यसअन्तर्गत आइसिटी स्टार्टअप अवार्ड, आइसिटी प्रडक्ट अवार्ड, आइसिटी पायोनियर अवार्ड, आइसिटी आन्ट्रप्रनर अवार्ड, आइसिटी डायस्पोरा अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी मिडिया रिकग्निसन अवार्ड रहेका थिए । साथै स्टार्टअप र प्रडक्ट अवार्डमा एक कम्पनीलाई जुरी स्पेशल मेन्सन अवार्ड पनि प्रदान गरिएको थियो ।

सबै विधामा १ सय २० को अनलाइन आवेदन आएको थियो । १० जनाको जुरी समुहले १ महिनासम्म अध्ययन, अन्तवार्ता, प्रिजेन्टेशन, कार्यालय भ्रमण, अनलाइन भोटिङ लगायतको छनौट प्रकृयाबाट उत्कृष्ट छानिएको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।

\"\"

मल्टिनेश्नल कम्प्युटर नेटवर्किङ कम्पनी नेटगियरले शीर्ष प्रायोजन गरेको यस संस्करणको आइसिटी स्टार्टअप अवार्ड पिपुड डेभलपमेन्ट ल्याब प्रालिले जित्न सफल भएको छ ।

निर्णायक र अनलाइन भोटिङको आधारमा पहिलो हुन सफल यस कम्पनीले प्रविधिको माध्यमबाट मानिसलाई करियर गाइड गर्ने, कोचिङ प्रदान गर्ने र उनीहरुको लिडरसिप प्रोसेसलाई नयाँ रुपले मूल्याकंन र परिभाषित गर्ने गर्दछ । यसका लागि पिडिएलले विभिन्न डेटाको भरपुर प्रयोग गर्दछ भने मानिसको मनोविज्ञानलाई पनि उत्तिकै महत्व दिन्छ ।

पिडिएलको करियर प्रोफाइल नामको प्रडक्ट छ, जसमार्फत प्रयोगकर्ताले डेटा अनुसार आफूलाई जाँच्न र उपयुक्त निर्णय लिन सक्छन् ।

पि डिएलले यही कुरालाई नयाँ सोच बनायो र अनलाइन मार्फत् मानिसहरुको रुचि, क्षमता अनुसार करियर गाइड गर्ने काम थाल्यो । यसको लागि कम्पनीले मनोवैज्ञानिक, डेटा इन्जिनियर, एचआर विशेषज्ञ, डेभलपरसहितको टिम बनाइयो । हालसम्म यो टिमले १५ देखि ५० वर्षसम्मका विद्यार्थी र विभिन्न क्षेत्रमा काम गरिरहेका प्रोफेसनल गरी ३ सय जनालाई सेवा प्रदान गरिसकेको छ ।

इमपावर नामक अर्को साइकोमेट्रिक इन्स्ट्रुमेन्ट मुख्यतः युवा विद्यार्थीहरुमा लक्षित छ । झम्सिखेल ललितपुरमा कार्यालय रहेको पिडिएलमा ८ जना जनशक्ति कार्यरत छन् ।