नेपाल दूरसञ्चार प्राधिकरणले यसै वर्ष फाइभजी परीक्षण सुरु गर्ने भनेर घोषणा गरे पनि यसको प्राविधिक विषयमा अन्योल देखिएको छ ।
फाइभजी परीक्षणको लागि चाहिने दुुई महत्वपूर्ण पक्ष भनेको फ्रिक्वेन्सी र उपकरण हुन् । यि दुई विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय लिन सकेका छैनन् ।
सरकारले नेपाल टेलिकमबाट फाइभजी परीक्षण गर्ने भनेर यसअघि गरेको निर्णयअनुसार टेलिकमले परीक्षणको खाका प्राधिकरण समक्ष प्रस्तुत गरिसकेको छ ।
फाइभजी परीक्षण गर्ने भनेर बनेको अध्ययन समितिले परीक्षण कसरी गर्ने, कुन कुन फ्रिक्वन्सीमा गर्ने, कुन कुन साइटमा गर्ने, कसरी गर्ने, कुन एप्लिकेसन चलाउने भनेर समितिले तय गरेको छ ।
नियामक निकाय र तालुक मन्त्रालयले भने फ्रिक्वेन्सी कुन प्रयोग गर्ने भन्ने बारेमा निर्णय हुन सकेको छैन । फ्रिक्वेन्सी निर्धारण गरेपछि सोहीअनुसारको उपकरण आयात गर्नुपर्ने हुुन्छ । नेपालले निर्धारण गरेको फ्रिक्वेन्सीलाई आधार मानेर उत्पादक कम्पनीले उपकरण र अन्य प्राविधिक विषय निर्धारण गर्छ ।
ठूलो खर्च गरेर परीक्षणको लागि भनेर उपकरण आयात गरेपछि यदि त्यो प्रयोग हुन सकेन भने फिर्ता गर्न सक्ने अवस्था हुदैन । यसैले पनि नेपालमा कुन व्यान्डको फ्रिक्वन्सीले उपयुक्त हुन्छ भनेर एकिन गर्न नसक्दा उपकरण सहि प्रयोग हुने हो कि होइन भन्नेमा शंका छ ।
सोमबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फाइभजी परीक्षणको लागि पहिला फ्रिक्वेन्सी निर्धारण भएपछि मात्र सामान आउने बताए । कुनै पनि उत्पादक कम्पनीले नेपालको लागि मात्र भनेर सामान नबनाउने र परीक्षणको लागि भनेर नेपालले अर्डर दिनुपर्ने हुन्छ । यदि उक्त फ्रिवेन्सीमा राम्रोसँग काम गरेन भने सामान निर्यात गर्ने नीति नेपालमा नरहेको उनले बताए ।
ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन एसोसियसन (जीएसएमए) ले ३० गिगाहर्जभन्दा तल फाइजीको लागि राम्रो हुदैन भनेको छ ।
अन्तर्राष्ट्रियस्तरमा हेर्ने हो भने फाइभजीको लागि तीनवटा व्यान्डमा तय गरिएको छ । एउटा एक गिगाहर्जभन्दा तलको लोअर व्यान्ड अर्को एक गिगाहर्जभन्दा माथि मिड व्यान्ड र २४ गिगजाहर्जभन्दा माथिको हाइ व्यान्ड छन् ।
नेपाल टेलिकमले नेपालको सन्दर्भमा लोअवर व्यान्ड र मिड व्यान्डको संयोजनमा फाइभजी चलाउँदा प्रभावकारी हुने भनेको छ ।
अहिले बाहिर जति पनि फाइभजीका सिस्टमहरु चलेका छन्, तिनीहरुको स्पेक्ट्रम भनेको ३४ सय मेगाहर्ज व्यान्ड र २६ सय मेगाहर्ज व्यान्ड प्रयोग गरेका छन् । ७ सय मेगाहर्ज एकदमै कम भएको छ ।
नेपालको सन्दर्भमा ७ सय, ३४ सय २६ सय सय मेगाहर्ज व्यान्डमा फाइभजी चलाउँदा अझ बढी प्रभावकारी हुन सक्ने अनुमान गरिए पनि मन्त्रालयले निर्णय लिन सकेको छैन ।
प्राधिकरणले फाइभजी परीक्षणका लागि ७०० मेगाहर्ज र २.६ गिगाहर्ज ब्याण्ड प्रयोग गर्न सकिने भनेको छ ।
भारतमा फाइभजी परीक्षणको लागि ७०० मेगाहर्ज, ३.३–३.६ गिगाहर्ज र २४.२५–२८.५ गिगाहर्ज ब्याण्डमा परीक्षण भइरहेको छ ।
फाइभजी परीक्षणको लागि आधारभूत संरचनाहरु बिटिएसम्म १० जीको अप्टिकल लिंक उपलब्ध हुनुपर्छ । टावरमा स्पेस र पावर सिस्टम उपलब्ध हुनुपर्छ ।
फाइभजीको लागि कुन कुन एप्लिकेसन चलाउने हो सबै तयार हुनुपर्छ । साथै, कोर साइड पनि तयारी हुनुपर्छ ।
फाइभजीको एक्टिभ एन्टिना युनिट (एएयु) ल्याउनु पर्छ तर यो फ्रिक्वन्सी फाइनल भएपछि ल्याउने हो ।