कीवर्डहरू -

नेपाल टेलिकमको फोरजी विस्तार सुस्त गतिमा, पुरा हुन अझै केही समय लाग्ने 

नेपाल टेलिकमको फोरजी विस्तार सुस्त गतिमा, पुरा हुन अझै केही समय लाग्ने 

नेपाल टेलिकमको फोरजी आयोजना निकै सुस्त गतिमा अगाडि बढिरहेको छ । फोरजी आयोजना सम्पन्न गर्ने भनेर तोकेको समय ढेड वर्ष घर्किदा पनि पुरा हुन सकेको छैन ।

नेपाल टेलिकमले नेपाल मै पहिलो पटक फोजरी सेवा सुरु गर्दै २०२० फेबु्रअरीमा सम्पन्न गर्ने लक्ष्य राखेको थियो । आयोजना सम्पन्न गर्ने समयभन्दा ढेड वर्षभन्दा धेरै बितिसक्दा पनि आयोजना पुरा हुन सकेको छैन ।

सोमबार पत्रकार भेटघाट कार्यक्रममा नेपाल टेलिकमले फोरजी आयोजना सम्पन्न हुने क्रममा रहेको जानकारी गराएको थियो ।  कार्यक्रममा टेलिकमका प्रवक्ता राजेश जोशीले फोरजी आयोजनाको भौतिक प्रगति ९७ प्रतिशत पुरा भएको बताए ।

उनका अनुसार मुलुकका ७७ जिल्लाका ७५३ स्थानीय निकायमध्ये ६८२ मा फोरजी पुगेको छ । ति स्थानीय तहमा सबै स्थानमा भने पुग्न सकेको छैन ।

टेलिकमका अनुसार नेटवर्क १ को कुल भौतिक प्रगति ८४ प्रतिशत र नेटवर्क २ को कुल भौतिक प्रगति ८६ प्रतिशत पुरा भएको छ । ४ हजार १ सय ८६ फिजिकल साइटमध्ये ३ हजार ५ सय ४४ साइटहरु अनएयर भइसकेका छन् । यसको अर्थ हो ८५ प्रतिशत साइटमा फोरजी सञ्चालन भएको छ ।

त्यस्तै, ६ हजार ७ सय ३२ लोजिकल साइटमध्ये ५ हजार ९ सय ४३ अर्थात ८८ प्रतिशत अनएर भएका छन्।

महालेखाको ५८ औं वार्षिक प्रतिवेदनले पनि उक्त परियोजना २०२० फेब्रुअरी सभत्र सम्पन्न गरिसक्नुपर्नेमा हालसम्ममा कार्यसम्पन्न नभएको भन्दै सचेत गराएको छ ।

परियोजनाको परिमार्जित कार्यतालिका बनाई लागू पनि नगरेको उसले उल्लेख गरेको छ । सो परियोजनाको ढिलाईले कम्पनीको व्यवसाय र आयआर्जनमा उल्लेखनीय असर पर्ने महालेखाको ठहर छ ।
नेपाल टेलिकमले फोरजी आयोजना सम्पन्न गर्नका लागि १९ अर्ब ६८ करोड खर्च गर्दैछ ।

२०७८ असारसम्म फोरजी चलाउने ग्राहकको संख्या ४७ लाख ४४ हजार ३ सय ७५ पुगेको छ । नेपाल टेलिकमले फोरजी आयोजना सम्पन्न भएपछि फाइभजी परीक्षण कार्य सुरु गर्ने बताएको छ ।

सोमबारको कार्यक्रममा टेलिकम प्रबन्ध निर्देशक डिल्ली अधिकारीले फोरजी आयोजना सम्पन्न हुन लागेको र यो सम्पन्न भएपछि फाइभजी परीक्षणको कार्य सुरु गर्ने जानकारी गराएका थिए ।