कीवर्डहरू -

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१८ सम्पन्न

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१८ सम्पन्न

काठमाडौं – स्ट्रिट बाइक च्याम्पियनसिप ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१८’ मा २०० सीसीतर्फ प्रशान्त जङ्ग कार्की र १५० सीसी तर्फ विवेश श्रेष्ठले जित हासिल गरेका छन् । सो च्याम्पियनसिपमा २०० सीसीतर्फ आशुतोष धन्जु फस्र्ट रनर अप र सुजन थापा सेकेन्ड रनर अप भए भने १५० सीसी तर्फ आशिक लामा फस्र्ट रनर अप र पविन कार्की सेकेन्ड रनर अप भए । 


गत शनिबार सम्पन्न २०० सीसी क्याटागोरीमा बेस्ट राइडर रवि साह, मिस्टर प्रोपर सेफ्टी गियर्स गौराङ्ग प्रताप सिंह र मिस्टर पब्लिक च्वाइस राजकुमार कार्की भएका छन् । त्यसैगरी १५० सीसी क्याटागोरीमा बेस्ट राइडर च्यान्जी राजा जोशी, मिस्टर प्रोपर सेफ्टी गियर्स रितेश श्रेष्ठ र मिस्टर पब्लिक च्वाइस निसान न्यौपाने भएका छन् ।


मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो च्याम्पियनसिपलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का साथै नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को समेत समर्थन रहेको थियो ।


गुर्जधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा च्याम्पियनसिप हुने भएको थियो । सो रेसिङ प्रतियोगितामा १५० र २०० सीसीका स्ट्रिट बाइक कुँदाइएको थियो । ६ सय मिटरको ट्रयाकमा फाइनल प्रतियोगिता ५ ल्यापमा सम्पन्न भएको थियो । 


प्रतियोगिताको २०० सीसी क्याटागोरीमा ४७ जना र १५० सीसी क्याटागोरीमा ४८ जना राइडरको सहभागिता थियो ।  
च्याम्पियनसिपमा प्रथम, द्वितीय र तृतीय हुने राइडरलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारका साथै शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।
च्याम्पियनसिप विजेता मध्ये एक जना आगामी दिनमा हुने एसिया रोड रेसिङ च्याम्पियनसिपमा सहभागी हुने छन् ।
टीभीएस अपाचे आरटीआर सिरिजको मूख्य प्रायोजनमा सम्पन्न सो प्रतियोगिताका सहभागी खेलाडीहरुलाई टीभीएसका कुनै पनि बाइक खरिद गर्दा २० हजार रुपैयाँ छुट प्रदान गरिनुका साथै एक्सचेन्ज सुविधा समेत उपलब्ध गराउने बताइएको छ ।