काठमाडौं । नेपालका लागि चेरी गाडीहरूको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आफ्नो नयाँ विद्युतीय क्रसओभर चेरी क्यू नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
आधुनिक प्रविधि, प्रिमियम आराम र अत्याधुनिक सुरक्षा सुविधासहित सार्वजनिक गरिएको चेरी क्यूले नेपालको बढ्दो विद्युतीय सवारी साधन बजारमा नयाँ आयाम थप्ने अपेक्षा राखेको वितरक कम्पनीको भनाइ छ ।
चेरी क्यूको लम्बाइ ४,१९५ मिमी, चौडाइ १,८११ मिमी र उचाइ १,५६८ मिमी रहेको छ भने यसको ह्विलबेस २,७०० मिमी रहेको छ । १७५ मिमी ग्राउन्ड क्लियरेन्स, २१ डिग्रीको अप्रोच एंगल र २६ डिग्रीको डिपार्चर एंगलले यसलाई नेपाली सडक तथा विविध ड्राइभिङ अवस्थाका लागि उपयुक्त बनाएको कम्पनीको दाबी छ ।
व्यवहारिकतालाई ध्यानमा राख्दै यसमा ७० लिटर क्षमताको इलेक्ट्रिक फ्रङ्क (अगाडिको स्टोरेज) र ३७५ लिटर क्षमताको पछाडिको बुट स्पेस उपलब्ध छ, जसलाई पछाडिका सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिने भनिएको छ ।
आरामदायी र स्थिर ड्राइभिङ अनुभवका लागि यसमा अगाडि म्याकफर्सन सटूट र पछाडि मल्टीलिंक सस्पेन्सन सिस्टम जडान गरिएको छ । सुरक्षाका लागि चेरी क्यूमा ६ वटा एयरब्याग, ५४०-डिग्री प्यानोरामिक क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल असिस्ट लगायतका सुविधाहरू उपलब्ध छन् ।
साथै, अडेष्टिभ कुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र अटोमेटिक इमर्जेनसी ब्रेकिड्ड लगायत एड्भान्डस ड्राइभिङ असिस्टेन्स सिस्टम सुविधाहरूले ड्राइभिङलाई थप सुरक्षित र सहज बनाउने कम्पनीले जनाएको छ ।
चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक र रियर ह्विल ड्राइभ पमनिन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ । यसको मोटरले अधिकतम ९० किलोवाट पावर र ११५ एनएम टर्क उत्पादन गर्छ ।
एकपटक पूर्ण चार्ज गर्दा यसले एनइडीसी परीक्षण चक्रअनुसार ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यसमा उपलब्ध फास्ट चार्जिङ प्रविधिमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६.५ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
पायोनियर मोटो कर्पकाका प्रबन्ध निर्देशक गौरव सारदाले चेरी क्यूको सार्वजनिक कार्यक्रममा भने, ‘चेरी क्यूको सार्वजनिकरणले नेपालमा विश्वस्तरीय अटोमोटिभ प्रविधि र स्मार्ट मोबिलिटी समाधानहरू भित्र्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । अत्याधुनिक सुरक्षा सुविधाहरू, प्रिमियम आराम, स्मार्ट पार्किङ प्रविधि र दैनिक प्रयोगका लागि उपयुक्त व्यावहारिकताको उत्कृष्ट संयोजनसहित यसले नेपाली ग्राहकहरूको बदलिँदो अपेक्षालाई पूरा गर्न डिजाइन गरिएको छ । नवीन उत्पादनहरू प्रस्तुत गर्नुका साथै हामी देशभर आफ्नो पूर्वाधार विस्तार गर्दै ग्राहकहरूलाई सहज र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध छौं ।’
चेरी विश्वभर सन् २००३ देखि लगातार नम्बर १ यात्रुवाहक सवारीसाधन निर्यातकर्ता रहँदै आएको कम्पनीको दाबी छ । २ करोडभन्दा बढी प्रयोगकर्ता तथा विश्वका १३० भन्दा बढी क्षेत्र र देशहरूमा आफ्नो उपस्थिति स्थापित गरेको चेरीले नवीनता, गुणस्तर र अत्याधुनिक अटोमोटिभ प्रविधिमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको कम्पनीको भनाइ छ ।
नेपालमा चेरीको उपस्थितिलाई थप सुदृढ बनाउँदै पायोनियर मोटो कर्पले आफ्नो देशव्यापी पूर्वाधार तथा ग्राहक सेवा सञ्जाल विस्तार गरिरहेको छ । ग्राहकहरूले चेरी क्यू प्रिमियमलाई काठमाडौंको थापाथलीस्थित चेरी शोरुमका साथै बुटवल, विराटनगर, दाङ, चितवन र बिर्तामोडस्थित शोरुमहरूमा अवलोकन तथा अनुभव गर्न सक्ने जनाइएको छ ।
चेरी क्यूको सार्वजनिकरणसँगै पायोनियर मोटो कर्पले नेपाली ग्राहकहरूलाई नवीन प्रविधि, आराम, सुरक्षा र उत्कृष्ट मूल्यको संयोजनसहितको विद्युतीय सवारी अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीको भनाइ छ ।
आईसीटी समाचार