कीवर्डहरू -

स्टाइल र पावरको संयोजनसहित भेस्पाको १५० सीसी स्कुटर सार्वजनिक

स्टाइल र पावरको संयोजनसहित भेस्पाको १५० सीसी स्कुटर सार्वजनिक

काठमाडौं । इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा १५० सीसी क्षमताको नयाँ स्कुटर भित्र्याएको छ । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी (Vespa 150 FI OBD 2 Stage B) सार्वजनिक गरेको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत स्कुटर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । नयाँ मोडलमा भेस्पाको परम्परागत इटालियन डिजाइनलाई कायम राख्दै थप शक्तिशाली राइडिङ अनुभवमा जोड दिइएको छ ।

भेस्पा आफ्नो मौलिक डिजाइन, आकर्षक बनावट र विशिष्ट पहिचानका कारण विश्वभर परिचित छ । कम्पनीले स्कुटरलाई यातायातको साधनका रूपमा मात्र नभई व्यक्तिगत शैली र जीवनशैलीको प्रतीकका रूपमा समेत स्थापित गर्दै आएको छ । नयाँ १५० सीसी मोडलले यही पहिचानलाई निरन्तरता दिँदै नेपाली बजारमा भेस्पाका विकल्प थप गरेको छ ।

डेल्टा अटोकर्प प्रालिका निर्देशक केतन भिमसारियाले नयाँ मोडलमार्फत भेस्पाको कालजयी इटालियन डिजाइन कायम राख्दै नेपाली ग्राहकलाई थप शक्तिशाली राइडिङ अनुभव उपलब्ध गराउने उद्देश्य रहेको बताए ।

त्यस्तै, कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले नयाँ स्कुटरमा इटालियन डिजाइनसँगै आधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमतामा जोड दिइएको बताए । नेपालको भौगोलिक बनावट र सहरी यात्रालाई ध्यानमा राखेर ल्याइएको यो मोडलले ग्राहकलाई स्टाइल, आराम र पावरको अनुभव प्रदान गर्ने उनको विश्वास छ ।

महतोले भेस्पाको ऐतिहासिक विरासत र मौलिक पहिचानलाई कायम राख्दै नयाँ १५० सीसी मोडल ल्याउन पाउँदा खुसी व्यक्त गरे । साथै, देशभर विस्तार भइरहेको आधिकारिक बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाए ।

नयाँ स्कुटरको सार्वजनिक कार्यक्रममा आमन्त्रित अतिथि, शुभचिन्तक तथा भेस्पाका पारखीहरूको उपस्थिति थियो । डेल्टा अटोकर्पले नेपालभर रहेका आधिकारिक शोरुममार्फत नयाँ मोडलका विशेषता र उपलब्धताबारे जानकारी लिन सकिने जनाएको छ ।

नयाँ स्कुटरले इटालियन डिजाइन, विशिष्ट पहिचान र दैनिक यात्राका लागि उपयुक्त विकल्प खोज्ने नेपाली ग्राहकलाई आकर्षित गर्ने कम्पनीको अपेक्षा छ ।