सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इमोबाट पार्सल पठाइ दिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले भारतको दार्जिलिङका ३३ वर्षिय सन्दिप क्षेत्रीलाई पक्राउ गरेको हो ।
उनले फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इमो प्रयोगकर्ता महिलालाई फेसबुकमा Nancy Michael को नामबाट फ्रेन्ड रिक्वेस्ट आए पश्चात कुराकानी हुने क्रममा आफुलाई युकेको नागरिक बताई कुराकानी गर्दै आएका थिए ।
त्यसपछि विश्वास कायम गरी प्रेम समेत गर्ने बताएर क्षेत्रीले विभिन्न प्रकारका उपहारहरु पार्सल पठाएको बताउँदै आएका थिए ।
विभिन्न कागजात सहित पार्सल ट्रयाकिङ गर्ने नम्बर समेत उपलब्ध गराई पीडितलाई विश्वासमा पारी रु. ५ लाख १० हजार ठगी गरेको पीडितको उजुरीको आधारमा अनुसन्धान गर्दा भारतिय नागरिक क्षेत्रीलाई जिप्रका झापा संगको समन्वयमा पक्राउ गरेको महाशाखाले जनाएको छ ।
क्षेत्री प्रेन्टि क्रोस्टल (पानीटंकी सिलगुढी) चर्चका पादरी रहेको र चर्चको विभिन्न धार्मिक कार्यक्रममा भेट भएका महिलाहरुलाई क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको रकम आफ्नो खातामा झिकाउन नमिल्ने भएको भनी विश्वासमा पारी खाता खोल्न लगाई आफूले ठगी गरेको रकम निज महिलाहरुको खातामा जम्मा गरी महिलाहरु मार्फत भुक्तानी लिने गरेको खुल्न आएको महाशाखाले बताएको छ ।
महाशाखा अनुसार उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।
आईसीटी समाचार