काठमाडौं विश्वविद्यालय (केयु)ले नेपालमै पहिलोपटक ब्याचलर्स र मास्टर्समा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का कोर्स सञ्चालन गर्दै छ ।
विश्वविद्यालयले नेपालमा अहिले एआई पढाउन नसके चौथो औद्योगिक क्रान्तिमा पछाडि पर्ने भन्दै एआई कोर्स शुरू गर्दै छ । सञ्चालनको तयारी पनि गरिरहेको छ ।
सेप्टेम्बर अन्तिम साता वा अक्टोबर पहिलो सातासम्म कक्षा शुरू गर्ने विश्वविद्यालयको योजना छ । यसै सन्दर्भमा एआई कोर्स कसले पढ्न पाउँछन् ? नेपालमा यसका जनशक्तिको उपलब्धता, अनलाइन शिक्षा लगायतका विविध विषयमा काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डीनमा नियुक्त भएका प्रा.डा. मनिष पोखरेल सँग लिभिङ विथ आइसिटीका लागि कमल केसी ले गरेको कुराकानीको सम्पादित अंशः
गत चैत १ गतेदेखि काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङको डीन हुनुहुन्छ । यो महामारीको समयमा के के गर्न भ्याउनुभयो ?
महामारीले गर्दा विश्व नै स्तब्ध भएको अवस्था छ । हाम्रो देशमा पनि कतिपयले आफ्ना आफन्त गुमाउनु भएको छ । यो दुःख एकातिर छ तर अर्कोतिर पुरानो तरिकाले गयो भने हाम्रो शिक्षा अगाडि बढ्न सक्दैन भनेर महामारीले एउटा पाठ सिकाएको छ ।
यो महामारीभन्दा पहिले त्यस्तो आपत्विपत् परेको थिएन । महामारीले हाम्रो राष्ट्रको उन्नतिको लागि हामी नै कम्मर कस्नु पर्छ भन्ने ठूलो पाठ सिकाएको छ । हामीलाई सहयोग गर्ने त कोही हुँदा रहेनछन् । एउटा खोप त राम्रोसँग पाउन सकेका छैनौं भने अब अन्य मित्र राष्ट्रबाट धेरै अपेक्षा राख्नु हुँदैन ।
आशा गर्ने बानीलाई बन्द गरेर हाम्रो खुट्टा आफै दह्रो पार्नुपर्छ । खुट्टा दह्रो पार्न शिक्षालाई परिमार्जन गर्नुपर्छ भनेर हामीले काठमाडौं विश्वविद्यालयमा विशेषगरी स्कुल अफ इन्जिनियरिङमा अब चाहिने शिक्षा के हुन सक्छ भन्ने विषयमा गृहकार्य गरेका छौं ।
साथै स्किल फर फ्युचर (एसफोरएफ)को अवधारणामा काम गरिरहेका छौं । अबका दिनमा कस्तो स्किल चाहिन्छ, त्यो अध्ययन गरेर हामी विद्यार्थीलाई प्रदान गर्छौं ।
अब अनलाइन शिक्षा अपरिहार्य भएको हो ?
हो, अब हामी अनालाइन शिक्षामा जानैपर्छ । अनलाइनको पनि कठिनाइ होला । कठिनाइ नभएको त होइन । तर कठिनाइ छ भन्दैमा पाइला अगाडि नबढाउने पनि होइन् ।
गाडी चढ्दा दुर्घटना हुन्छ, भीरबाट खस्छ भन्ने थाहा पाएर हामी गाडी चढ्न त छाड्दैनौं । कठिनाइलाई हामी समाधान गर्न सक्छौं । कोरोनाको विभिन्न भेरियन्ट आइरहेको छ । यो त आइरहने प्रक्रिया भयो ।
पहिलेको जस्तै भौतिक रूपमा उपस्थित भएर पढाउँछु भन्दा विद्यार्थीको भविष्य अन्धकार हुन्छ । अनलाइन शिक्षा अपरिहार्य भएको कुरा विश्व जगत्ले बुझेको बेला हामी अबुझ हुनुहुँदैन, हामीले पनि बुझ्नुपर्छ ।
केयुले ब्याचलर र मास्टरमा एआईका शैक्षिक कार्यक्रम शुरु गर्दै छ । कसरी सम्भव भयो यो शुरुवात गर्न ?
काठमाडौं विश्वविद्यालयको एउटा परिचय के छ भने यसले कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ नेपालमै पहिलो पटक सन् १९९४ मा शुरू गरेको थियो । त्यतिबेला पनि यस्ता प्रश्नहरू आउँथे ।
सन् २०२१ मा भर्ना भएका विद्यार्थीहरू ४ वर्षपछि बजारमा जाँदा बजारको अवस्था कस्तो होला, कस्ता ग्राजुयट बजारले अपेक्षा गरेको छ होला, यी सबै अध्ययन गरेर हामी अगाडि बढ्छौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नयाँ कुरा होइन । सन् १९५६ मा एआईको जन्म भएको थियो । अबको समय भनेको एआईको हो ।
कोरोना महामारीले के देखायो भने एआईबाहेक अब आइसिटीले पनि धान्न सक्दैन । एआई अपरिहार्य हो । एआईको पढाइ नेपालमा हुनैपर्छ । किनभने विश्वका अरू ठाउँमा भइसक्यो । यदि हामीले काठमाडौंमा गर्न सकेनौं भने हामी जहिले पनि पछाडि पर्छौं ।
हामीले पहिलो, दोस्रो र तेस्रो औद्योगिक क्रान्ति गुमायौं । अब यो चौथो औद्योगिक क्रान्ति जुन २०१५ देखि शुरू भएको छ । चौथो औद्योगिक क्रान्ति एआईमै आधारित छ । यसको मुख्य मेरूदण्ड एआई हो ।
हाम्रा विद्यार्थीहरू एआईको सीप लिएर बजारमा गएनन् भने उनीहरूको माग हुँदैन । अवसर सिर्जना गर्न सक्दैनन् । विद्यार्थी भनेका भविष्यका कणर्धार हुन् । भविष्य नै अन्योलमा पर्यो भने पछि के गर्ने भने विषयमा काठमाडौं विश्वविद्यालयले जुमबाट पनि धेरै छलफल गर्यो ।
बाहिरका प्रोफेसरहरूसँग पनि छलफल गर्यौं । आन्तरिक रूपमा पनि छलफल गर्यौं । सबैको सहयोगमा अब हामीले एआई पढाउनुपर्छ भनेर यो वर्षदेखि ब्याचलर्स र मास्टर्समा एआई पढाउन खोजेका हौं ।
आइटीमा नेपालमा अपडेटेड कोर्स छैन, सिलेबस पनि पुराना छन् भन्ने गुनासो सुनिन्छ ? केयु यसबाट पृथक छ ?
हामी उद्योगसँग बारम्बार अन्तरक्रिया गर्छौं । हामीले उत्पादन गरेका ग्राजुएटको तपाईंको उद्योगमा परफर्मेन्स कस्तो छ भनेर सोध्छौं । उहाँहरू सल्लाह सुझाव दिनुहुन्छ ।
तपाईंका ग्राजुएटको यो पक्ष राम्रो छ, यो पक्ष कमजोर छ, हामीले खोजेको यो हो तर यसो भयो भन्नुहुन्छ । अनि हामीले त्यसका आधारमा र समय सापेक्ष पाठ्यक्रम परिमार्जन गरिरहेका छौं ।
पाठ्यक्रम परिमार्जन गर्नमा केयु अगाडि छ । स्थानीय उद्योगसँग पनि हामी अन्तरक्रिया गर्छौं । साथै ग्लोबल उद्योगसँग पनि अन्तरक्रिया गर्छौं । किनभने आईटीले गर्दा अहिले विश्वनै ग्लोबल भिलेज भएको छ ।
हाम्रा विद्यार्थीहरू स्थानीयमा मात्रै होइन, ग्लोबलमा पनि त्यत्तिकै प्रतिस्पर्धी हुनुपर्छ भनेर बाहिरका सिलेबसहरू हेर्छौं । बाहिरका विश्वविद्यालयमा के के पढाइ हुन्छ, त्यो हेर्छौं र बाहिरका उद्योगसँग कुरा गरेर तपाईंलाई कस्तो किसिमको जनशक्ति चाहिएको छ भनेर उहाँहरूसँग जुममा कुरा गरेर त्यस अनुसार पाठ्यक्रम परिमार्जन गरिरहेका छौं ।
अबको हाम्रो टार्गेट भनेको चौथो औद्योगिक क्रान्तिको लागि हाम्रा विद्यार्थीलाई कसरी तयार पार्ने भन्ने छ । त्यसका लागि पाठ्यक्रम त परिमार्जन गर्नुपर्यो । त्यो आधारमा काठमाडौं विश्वविद्यालय जहिले पनि अग्रस्थानमा छ ।
एआईको शैक्षिक कोर्समा के के अध्ययन गर्न सकिन्छ ?
एआई आइटीका लागि मात्रै होइन् । इन्जिनियरको लागि मात्रै होइन । एआई सबैको लागि हो । यसको मतलव कानून पढ्ने मान्छेलाई पनि अगाडि बढ्न अब एआई नभई हुँदैन । म्यानेजमेन्टका लागि पनि एआई नभई भएको छैन । मेडिकल साइन्सका लागि पनि एआई नै चाहिन्छ ।
इतिहासकारहरूका लागि पनि पुराना अभिलेख हेर्न एआईकै जरुरी पर्छ । भाषाविद्लाई पनि एआई चाहिन्छ । हामीले एआई कोर्स एकथरीका लागि मात्रै नभएर सबैको लागि हो भनेका छौं । त्यसअनुसार हामीले पाठ्यक्रमहरू बनाएका छौं । ब्याचलरमा हामीले १२९ क्रेडिट राखेका छौं ।
त्यो पनि नेपालको पाठ्यक्रममा एउटा क्रान्ति नै हो । किनभने जति बढी क्रेडिट पढायो, त्यति बढी राम्रो हुन्छ भन्ने नेपालमा एउटा भ्रम छ । विद्यार्थीलाई ४ वर्षमा १२० क्रेडिट पढाउने हो । अधिकतम १३० सम्म जान सकिन्छ । १२० भन्दा तल जानु भएन । त्यो स्ट्याण्डर्ड मेन्टेन गर्नुपर्छ ।
यसको पाठ्यक्रममा हामीले डेटा साइन्सलाई पनि समावेश गरेका छौं । किनभने अबको समय डेटाको हो । जोसँग डेटा छ, त्यो नै शक्तिशाली हुन्छ । गूगल, युट्युब, फेसबुक, ट्विटर अहिले किन शक्तिशाली छन् भन्दा उनीहरूँग डेटा छ । जसले राम्रोसँग डेटाको सही म्यानुपुलेसन गर्न सक्छ, ऊ अगाडि बढ्न सक्छ ।
एआई, मसिन लर्निङ, डिप लर्निङ, न्युरल नेटवर्कका लागि चाहिने गणित हामीले पढाउन गइरहेका छौं । यो कक्षा ११, १२ को जस्तो सामान्य गणित होइन । एआई पढेर हाम्रा विद्यार्थीले समुदाय, समाज र देशको सेवा गर्ने हुन् ।
त्यसकारण सोसल साइन्सका कुरा पनि यसमा समावेश छन् । अहिलेसम्म नेपालमा मात्र नभएर विदेशतिर पनि मेसिन मात्रै पढाइ हुन्थ्यो । समाजले एकातिर आशा गरिरहेको छ, हामीले भने अर्कोतिर काम गरिरहेका छौं ।
समाजको माग के छ भनेर हामीले त्यसलाई समावेश गरेका हौं । साथै इथिक्स, मोरल र इमोसनल इन्टेलिजेन्सको कुरा पनि पाठ्यक्रममा राखेका छौं ।
एआईको कोर्स पढ्न के के मापदण्ड तोकिएको छ ?
ग्राजुएटमा हामी केही लचिलो छौं । मैले अगाडि पनि भनेँ, ‘एआई फर अल’ । म शुरूमा ग्राजुएटतर्फ जान्छु । मास्टर्स पढ्न काठमाडौं विश्वविद्यालयको १६ वर्षको शिक्षा हुनुपर्छ भन्ने नियम छ । त्यो नियमबाट हामी फरक हुन सक्दैनौं ।
विद्यार्थीहरू बीसीए, बीआईटी, बीआईएम, बीई इलेक्ट्रिकल इन्जिनियरिङ, बीई सिभिल इन्जिनियरिङ पढेका छन् र मास्टर्स एआईमा गर्न मन छ भने गर्न पाउँछन् । हामीलाई गणित चाहिएको हो ।
गणित ती सबै कोर्समा पढाइ हुन्छ । जीपीए भने मेन्टेन गर्नुपर्ने हुन्छ । आर्ट, कमर्स र ह्युम्यानिटी पढेकालाई पनि यसमा समावेश गर्ने भनेर सोचिरहेका छौं ।
ब्याचलरमा एआई पढ्न फिजिक्स, केमेष्ट्री र म्याथमा ५० प्रतिशत अंक ल्याउनु पर्छ । त्यो हाम्रो नियम नै हो । त्यसमा पनि हामीले लचकता के गरेका छौं भने सेल्फ मोटिभेट स्टुडेन्टलाई लिन्छौं ।
हामी लचक नै हुन्छौं । यदि बजारले झन् माग गर्यो र राष्ट्रले पनि अलि लचक हुन आग्रह गरेमा आउँदा दिनमा हामी अझै लचिलो हुन सक्छौं ।
एआईको कोर्स सञ्चालन गर्न दक्ष जनशक्ति एवं स्रोतव्यक्ति उपलब्ध छन् त ?
यस्ता जनशक्ति नभएका होइनन् । काठमाडौं विश्वविद्यालयको आफ्नै इतिहास छ । मैले अगाडि नै भनेँ, काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलोपटक चारवर्षे कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ कोर्स शुरू गरेको हो । हामीसँग एक्सपर्टहरू छन् । हाम्रो विभागमा सर/म्याडमहरू हुनुहुन्छ ।
यसका लागि हामीले अन्तर्राष्ट्रिय समुदायलाई पनि भनेका छौं । अहिले हाइब्रिड मोडमा जानुपर्ने अवस्था छ । हाइब्रिड मोडमा गएको अवस्थामा विदेशका प्रोफेसरहरूलाई तपाईं अमेरिकामा बसेर भए पनि, जापानमा बसेर भए पनि अष्ट्रेलियामा बसेर भए पनि एउटा कोर्स लिइदिनुहोस् भनेका छौं ।
साथै सहज वातावरण भयो भने नेपाल आएर १-२ वर्ष फस्र्ट साइकल बसिदिनुहोस् भनेर हामीले पत्राचार गरेका छौं । यसका लागि उहाँहरू पनि तयार हुनुहुन्छ । कोरोना महामारीले रोकिनु भएको मात्र हो । यो कार्यक्रम केयुको मात्रै होइन, समग्र राष्ट्रको हो । नेपालमा भएका विज्ञहरूसँग पनि हामीले सहयोग मागेका छौं ।
उहाँहरू पनि तयार हुनुहुन्छ । हाम्रा पूर्व विद्यार्थीहरू पनि देश विदेशका राम्रो ठाउँमा पुगेका छन् । कतिले त एआईको कम्पनी खोलेका छन् । उनीहरूले पनि हामी वास्तविक एआई प्रोजेक्टमा सहयोग गर्छौं भनेका छन् ।
विद्यार्थीले कहिलेदेखि पढ्न पाउँछन् ? शुल्क कति हुन्छ ?
कोरोना भाइरसको तेस्रो लहरको त्रासका कारण हामीले अहिले प्रवेश परीक्षा लिन सकेका छैनौं । कक्षा १२ को पनि परीक्षा केही समय स्थगित भएको छ । कक्षा १२ को जाँचले केही समय पर गएको हो ।
हामी तयार छौं । वातावरण सजह भयो भने सेप्टेम्बर अन्तिम साता वा अक्टोबरको पहिला साता कक्षा सञ्चालन गरिसक्छौं । शुल्क काठमाडौं विश्वविद्यालयको निमय अनुसार छ ।
एआई पढ्ने विद्यार्थीलाई सैद्धान्तिकका साथै प्रयोगात्मक कक्षामा कत्तिको ध्यान दिनुभएको छ ?
अब शिक्षालाई अर्को रूपले हेर्नुपर्छ । शिक्षा भनेको पुरानै चक, डस्टर, मार्कर र ह्वाइट बोर्ड मात्रै होइन । अहिलेको माग अनुसार शिक्षा हुनुपर्छ भन्ने यथार्थ केयुको स्कुल अफ इन्जिनियरिङमा हामीले राम्रोसँग बुझेका छौं ।
एआईको के हुन्छ भने हरेक विद्यार्थीलाई हामीले पहिलो दिन नै ब्राण्डेड कम्प्युटर दिन्छौं । उनीहरूलाई वर्किङ प्लेस पनि दिन्छौं । अब पहिलेको जस्तो सैद्धान्तिक कक्षा एकातिर हुने प्रयोगात्मक ल्याब एकातिर हुँदैन ।
विद्यार्थीलाई हामीले दिएको कम्प्युटर चार वर्षका लागि हो भन्छौं । यसमा माउस बिग्रियो, किबोर्ड बिग्रियो या ह्याङ भयो भने त्यो तपाईंको जिम्मेवारी हो भन्छौं । यसले उनीहरूलाई एउटा जिम्मेवारी पनि बोध हुन्छ ।
विद्यार्थीहरू वर्किङ प्लेसमा पढ्छन् र काम गर्छन् । हामीहरू विद्यार्थीलाई छलफलका लागि डिस्कसन रूम पनि उपलब्ध गराउँछौं । हाम्रा विद्यार्थीहरू हाम्रै देशमा काम गरे हामी खुशी हुन्छौं । नभए अर्काको देशका लागि म्यानपावर उत्पादन गर्ने शैक्षिक संस्था बन्नु हुँदैन । यहाँ पढेर विदेश जाने मानसिकताबाट अलग हुनुपर्छ ।
सरकारले डिजिटल नेपाल फ्रेमवर्क पनि ल्याएको छ । त्यसमा भएका क्षेत्र र पहलमा कसरी एआई प्रयोग गर्न सकिन्छ, विद्यार्थीले त्यतातिर काम गर्न सक्छन् । अवसर पनि नेपालमै छ । नेपालमै बसेर पनि विदेशमा अवसर सिर्जना गर्न सकिन्छ । हामीले विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था गरेका छौं ।
केयुले यस्तो परिस्थितिमा पनि परीक्षा र अध्यापन निरन्तर गरिरह्यो ? तर अन्य विश्वविद्यालय त अझै अन्योलमा छन् नि ?
काठमाडौं विश्वविद्यालयका संस्थापकहरूले हामीलाई असम्भव केही छैन भनेर प्रेरित गर्नुभएको छ । असम्भव भन्ने कुरा हाम्रो सोचमा मात्रै हुन्छ । त्यो भन्दैमा हामीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नगरेका भने होइनौं ।
स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेर परीक्षा र अध्यापन गरिरहेका छौं । स्यानिटाइजर, मास्क अनिवार्य गरेका छौं । हामीले अनलाइनबाटै कक्षा सञ्चालन गर्यौं । गतवर्ष हामीले अनलाइनबाटै दीक्षान्त समारोह पनि गर्यौं । यो परिस्थितिमा पनि सकेसम्म शैक्षिक क्यालेन्डर अनुरूप अघि बढेका छौं ।
लकडाउन भएपछि भर्चुअल लर्निङको विकल्प छैन भनेर त्यसमा गृहकार्य गर्यौं । काठमाडौं विश्वविद्यालयको सुन्दरता भनेकै क्यालेन्डर परिपालन गर्ने हो । अहिले नयाँ उपकुलपति प्रा.डा. भोला थापा सर आइसकेपछि हामीले डिजिटल टिचिङ लर्निङ इकोसिस्टम सेन्टर पनि स्थापना गरेका छौं ।
त्यसमा लर्निङ म्यानेजमेन्ट सिस्टम, अर्काइभ लगायत कुराहरू राख्छौं । यो शुरू भइसकेको त छैन । हामी प्रारम्भिक चरणमै छौं । हामीले सर/म्याडमहरूको पनि सहयोग पाएका छौं । सबैको सहयोगले अनलाइनबाटै गर्न सफल भयौं । शुरूमा अनलाइनबाट गर्न सकिँदैन भन्ने आवाज नआएको होइन ।
शुरूमा केही अन्योल देखिए पनि हामी अगाडि बढ्यौं । अनलाइन कक्षा भनेको कक्षाकोठामा पढाएको कुरालाई पावरपोइन्ट गरेर जुम स्काइपबाट पढाउने होइन । त्यसको आफ्नै गाइडलाइन छ, फिलोसफी छ ।
त्यो बुझेरै हामीले डिजिटल टिचिङ लर्निङ इकोसिस्टम सेन्टर स्थापना गरेका हौं । अब हामी यसको कार्यान्वयनको चरणमा छौं ।
हामीले जुम, मिट, टिम्स लगायतका उपलब्ध टुलको प्रयोग गरेर पढायौं । रूटिनमा केही परिमार्जन गर्यौं । अनलाइनबाटै परीक्षा लिँदा उपस्थित नभएका विद्यार्थीको सम्बन्धमा निणर्यका लागि शिक्षकलाई नै स्वतन्त्रता दियौं । परीक्षामा उपस्थित नभएका विद्यार्थीको शिक्षकले नै वैकल्पिक मूल्यांकन गर्नुभयो ।
काठमाडौं विश्वविद्यालय जसले पढाएको हो, उसलै मूल्यांकन गर्नुपर्छ भन्ने मान्यता राख्छ । शिक्षकले गरेको मूल्यांकनमा केयूले पूणर्रूपमा विश्वास गर्छ । विद्यार्थीको मूल्यांकन गर्ने कुरा अन्तिमको ३ घण्टा मात्र होइन भन्ने कुरा हामीले बुझ्नुपर्छ ।
३ घण्टामा जसले लेख्न सक्यो, त्यो राम्रो वा जसले लेख्न सकेन, त्यसलाई नराम्रो मान्ने मूल्यांकन प्रक्रियालाई फरक पार्नुपर्छ । ३ घण्टाको अन्तिम परीक्षाबाट मात्रै विद्यार्थीको मूल्यांकन गर्नु हुँदैन । परीक्षा लिनका लागि एआईमा आधारित रिमोट प्रोक्टोरिङ सफ्टवेयरमा काम गर्दै छौं । अहिले प्रारम्भिक चरणमा छौं ।
बाहिरको विश्वविद्यालयमा कसरी परीक्षा भइरहेको छ भनेर बुझ्दा रिमोट प्रोक्टोरिङ सफ्टवेयरबारे जानकारी पाएँ । त्यसपछि काठमाडौंमै बसेर उक्त सिस्टम हेरेँ ।
जाँचको बेला उक्त सिस्टमले क्यामेराबाट निगरानी गर्छ । उक्त क्यामेराले विद्यार्थीको टाउको कति हल्लिएको छ । टाउको कति डिग्रीमा ढल्किएको छ भन्ने जानकारी दिन्छ ।
विद्यार्थीले सोध्यो वा अलिकति गलत व्यवहार गर्यो भन्ने कुरा त्यसले विश्लेषण गर्छ । विद्यार्थीले जाँच दिँदा कम्प्युटरभन्दा पछाडि बसेर कसैले सिकायो भने त्यो आवाज पनि डिटेक्ट गरेर यो आवाज यो प्रश्नसँग मिल्छ भनेर सिस्टमले जानकारी दिन्छ ।
नेपालमा डिजिटल लर्निङको अभ्यास कस्तो भइरहेको पाउनुभएको छ ? यसलाई व्यवस्थित गर्न के गर्नुपर्ला ?
पहिले डिजिटल टिचिङ लर्निङको बुझाइमा परिवर्तन गर्नुपर्छ । हामीले कक्षा कोठामा पढाएका कुरा मात्रै जुम, मिट र टिम्समा पढाउने होइन । त्यसमा फरक तरिकाले पढाउनु पर्छ ।
शैक्षिक संस्थाको नेतृत्व गर्नेले डिजिटल लर्निङलाई आत्मसात् गरिदिनु पर्छ । हाम्रो पालामा थिएन, अहिले किन गर्ने भन्ने मनसायबाट डिजिटल लर्निङलाई अगाडि बढाउन सकिँदैन ।
अबको समय भनेको डिजिटल टिचिङ लर्निङको हो, विद्यार्थीहरू त्यसैमा अभ्यस्त हुन्छन्, त्यसअनुसार मैले पहल गर्नुपर्छ भन्ने सोच मात्रै सकारात्मक भयो भने हाम्रो जस्तो देशमा झन् सजिलो छ । हाम्रो देशमा म डिजिटल टिचिङ लर्निङको भविष्य झन् सुनौलो देख्छु । तर सोच सकारात्मक हुनुपर्यो ।
आफ्नो कार्यकालमा के कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?
म गत चैत १ गतेदेखि डीनमा नियुक्त भएको हुँ । पुरानो शिक्षा प्रणालीले अहिलेको समस्या समाधान गर्न सक्दैन भन्नेमा मलाई पूर्ण विश्वास छ । अहिले पनि हामीले कतिपय कुरा आउटडेटेड पढाइरहेका छौं । त्यो हटाउनु पर्छ ।
हामीले अनावश्यक कुरा पढाएर विद्यार्थीलाई बोझ दिनुहुँदैन । मैले जिम्मेवारी लिएको भोलिपल्ट नै शिक्षामा परिमार्जन हुनुपर्छ भनेको थिएँ । अबको शिक्षा भनेको सूचना प्रविधिमा आधारित शिक्षा हो । आइटी मन पराउने, नपराउने आफ्नो ठाउँमा होला । तर आइटीविना अब हामी अगाडि बढ्न सक्दैनौं ।
मेरो कार्यकालमा शिक्षामा परिमार्जन हुनुपर्छ, आइटीमा आधारित शिक्षा हुनुपर्छ, चौथो औद्योगिक क्रान्ति र दिगो विकास लक्ष्यबाट हाम्रा विद्यार्थी वञ्चित हुनुहुँदैन भनेर काम गर्नेछु ।
अब हामी समस्या समाधान गर्ने तरिकाले जानुपर्छ । विद्यार्थीले रट्नै नपरोस्, कण्ठ गर्ने नपरोस् । विद्यार्थीले आफै सिक्नुपर्छ । यस्ता क्षेत्रमा काम गर्ने योजना छ ।
लिभिङ विथ आइसिटी म्यागजिनको असोज अंकबाट