कीवर्डहरू -

विराटनगरमा पुस १९ देखि क्यान इन्फोटेक २०१९ हुँदै

विराटनगरमा पुस १९ देखि क्यान इन्फोटेक २०१९ हुँदै

विराटनगरमा दोस्रो पटक क्यान इन्फोटेकको आयोजना हुने भएको छ । सन् २०११ मा भएपछि ८ वर्षपछि दोस्रो इन्फोटेक हुन लागेको हो ।

पुस १९ देखि २३ गतेसम्म सञ्चालन हुने क्यान इन्फोटेकमा एक सय २० स्टल रहने आयोजक क्यान महासंघ मोरङले जनाएको छ । लिभिङ विथ आइसिटी सहआयोजक रहेको इन्फोटेकमा पछिल्ला प्रविधिहरु प्रदर्शनमा आउनेछन् ।

स्मार्ट प्रविधि, कम्प्युटर, ल्यापटप, ग्याजेट्स, सेक्युरिटी प्रडक्ट, इन्टरनेटलगायतको विशेष प्रदर्शनी हुनेछ । यसैगरी एआई, साइबर सेक्युरिटीमा पनि नयाँ प्रविधिहरुको प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ । 

लिभिङ विथ आइसिटीले पुस ६ देखि १० सम्म सोही स्थानमा आयोजना गर्न लागेको आइसिटी एक्स्पो इन्फोटेकमा सहकार्यसँगै स्थगित भएको छ । क्यान महासंघले विगत २५ वर्षदेखि काठमाडौं र अन्य जिल्लाहरुमा पनि इन्फोटेक गर्दै आएको छ । यस पटक हरेक प्रदेशमा एउटा इन्फोटेक आयोजना गर्ने तयारीअनुसार विराटनगरमा इन्फोटेक गर्न लागिएको महासंघले जनाएको छ ।

विराटनगरमा हुने इन्फोटेक भव्य हुने क्यान मोरङका अध्यक्ष राजन यादवले बताए । विराटनगरस्थित जैन भवनमा आयोजना हुने इन्फोटेकको ४ लाखभन्दा बढीले अवलोकन गर्ने यादवको भनाइ छ ।