कीवर्डहरू -

काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको एआई पाठशाला

काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको एआई पाठशाला

नेपाल अप्लाइड म्याथम्याटिक्स एण्ड इनफरमेटिक्स ईन्स्टिच्यूट अफ रिसर्च (नामी)को आयोजनामा काठमाडौंको प्राइम कलेजमा ११ दिने प्रथम नेपाल एआई पाठशाला सञ्चालन भइरहेको छ ।

नेपाल, भारत, चीन, फिलिपिन्स, जर्मनी, नर्वेलगायतका देशहरुबाट आएका १ सय २० जना प्रशिक्षार्थीहरुले उक्त पाठशालामा सहभागिता जनाइरहेका छन् । पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्सको प्रयोग, उपादयता र आवश्यकताको सन्दर्भमा आवश्यक, तालिम, परामर्श र अनुसन्धान गरिने वताईएको छ ।

उक्त ११ दिने पाठशालामा २२ जना विदेशी, ७० जना काठमाडौं उपत्यका, १७ जना काठमाडौं उपत्यका बाहिरका र २० जना व्यावसायिक क्षेत्रका प्रतिनिधि सहभागी रहेका छन् । पाठशालामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई नेपालको सन्दर्भमा कसरी प्रयोग गर्ने तथा नेपालले झेलिरहेका आर्थिक, शैक्षिक, व्यवस्थापकीय, स्वास्थ्यलगायतका समस्याहरुको समाधानमा एआईलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ ।

नेपालमा सन् २०१८ मा कानूनी प्रकृया पुरा गरी गैरनाफामूलक संस्थाको रुपमा स्थापित नामीले नेपालको शैक्षिक, औद्योगिक, व्यवस्थापकीय र स्वास्थ्य क्षेत्रसँग मिलेर उक्त विषयगत क्षेत्रहरुको विकासका लागि एआईसम्बद्ध अध्ययन अनुसन्धान गर्ने तय गरेको छ ।

कार्यक्रममा सहभागीहरुलाई तालिम र परामर्र्श दिन आएका नामीका सदस्य तथा बेलायतमा रहेको योर्क विश्वविद्यालयअन्तर्गत कम्युटर विज्ञान विभागका प्राध्यापक सुरेश मानन्धर नेपालमा एआईसम्बन्धी प्रभावकारी शिक्षणको सुरुवात नै हुन नसकेको बताउँछन् र
मानन्धरका अनुसार यो पाठशालाले एआईको सम्बन्धमा विद्यमान भ्रम निवारण तथा यसको उपादयताको बढोत्तरी र एआई पढाउने शैक्षिक संस्थाहरुको स्तर उन्नतिमा सहयोग पु¥याउनेछ ।

नामीका अर्का सदस्य तथा ईम्पेरियल कलेज लण्डनमा पोष्ट डक्टरल अनुसन्धानकर्ताको रुपमा कार्यरत डा.विनोद भट्टराईका अनुसार पाठशालाको आयोजना गर्नुको कारण नेपालमा ‘अनुसन्धान संस्कारलाई सहयोग पु¥याउनु हो । भट्टराई नेपालका लागि कस्तो प्रविधि आवश्यकता हुन्छ भन्ने कुरा नेपालले नै तय गर्न सक्नुपर्ने तर्क राख्छन् । नेपालको कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक प्रविधिका लागि आज पनि बाहिरी देशसँग निर्भर हुनु परिरहेको भट्टराईको भनाई छ ।

विज्ञान प्रविधिको क्षेत्रमा अत्यन्तै पछौटेपन बेहोरिरहेको नेपालमा आर्टिफिसियल ईन्टेलिजेन्स जस्तो अत्याधुनिक विज्ञान र प्रविधिसँग सम्वन्धित विषयमा शोध, तालिम र बहस हुनु आफैंमा सुखद विषय हो । प्राईम कलेजका प्रिन्सिपल प्रा. डा. कृष्णकुमार श्रेष्ठ नामीले सञ्चालन गरेको पाठशालाले एआई सँगसँगै समग्र सूचना प्रविधि क्षेत्रलाई उत्प्रेरित गर्ने धारणा राख्छन् ।

नेपालबाट विश्वका विभिन्न विश्वाविद्यालय र अनुसन्धान केन्द्रहरु पुगेर उक्त विश्वविद्यालयहरुमा कम्युटर विज्ञान र एआईको क्षेत्रमा कार्य गरेका तथा नेपालमा पनि सूचना प्रविधि क्षेत्रमै कार्य गरेका प्राध्यापक, अनुसन्धानकर्ता र वैज्ञानिकहरु मिलेर स्थापना गरिएको नामीको अवधारणा सन् २०१५ बाट नै अगाडि बढेको हो ।

नेपालमा सन् २०१८ मा कानूनी प्रकृया पुरा गरी गैरनाफामूलक संस्थाको रुपमा स्थापित नामीले नेपालको शैक्षिक, औद्योगिक, व्यवस्थापकीय र स्वास्थ्य क्षेत्रसँग मिलेर उक्त विषयगत क्षेत्रहरुको विकासका लागि एआईसम्बद्ध अध्ययन अनुसन्धान गर्ने तय गरेको छ ।

नेपाली विद्यार्थीहरुको विद्यावारिधीलगायत शोध र अनुसन्धानको कार्यलाई सहयोग गर्ने र नेपालको आवश्यकतामा आधारित वृहत्तर अनुसन्धानलाई कार्यान्वयनमा लैजाने उद्देश्यसहित स्थापित नामीले विज्ञान प्रविधिको विकासका लागि आवश्यक नीति निर्माणमा सहेत सहयोग गर्ने बताएको छ ।

प्रथम नेपाल एआई पाठशालाका लागि सहभागीहरु छनौट गर्न अनलाईनमार्फत विश्वव्यापी आवेदन माग गरिएको थियो भने नेपालका कलेजहरुमा विभिन्न माध्यममार्फत सूचना सम्प्रेषण गरिएको थियो । विभिन्न मापन विधिमार्फत १ सय २० जना सहभागीहरुको छनौट गरिएको पाठशालामा काठमाडौं उपत्यकाभन्दा बाहिरका सहभागिहरुका लागि आवासिय ब्यवस्था गरिएको छ । एनसेलको प्रायोजनमा काठमाडौंकाे प्राईम कलेजमा सञ्चालन भइरहेको पाठशाला यही डिसेम्वर २० तारिखदेखि ११ दिनसम्म सञ्चालन हुनेछ ।