कीवर्डहरू -

भिडियो प्रविधिद्वारा कक्षा सञ्चालन

भिडियो प्रविधिद्वारा कक्षा सञ्चालन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागले भिडियो प्रविधिका माध्यमबाट अमेरिकाको वहाइयो स्टेट युनिभर्सिटीका प्राध्यापक लोनी जी थोम्सनसँग जलवायु परिवर्तनका विषयमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ ।

विभिन्न केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थी एवं अनुसन्धानकर्तालाई विश्वकै विख्यात प्राध्यापकसँग भिडियो साक्षात्कार गर्ने अवसर प्राप्त हुनुका साथै मौसम र जलवायु परिवर्तनबारे विद्याार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक अनुभव प्राप्त गर्ने अवसरसमेत मिलेको छ ।

जनवरी ८ देखि अप्रिल २३ सम्म सञ्चालन हुने भिडियो कक्षामा २६ जना विभिन्न केन्द्रीय विभागका विद्यार्थी एवं अनुसन्धानकर्ता संलग्न रहेका छन् ।

भिडियो कक्षाको पहिलो दिनमा उपस्थित हुँदै त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले विश्वका महŒवपूर्ण प्राध्यापकसँग प्रविधिको प्रयोगबाट कक्षा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै त्रिविले आगामी दिनमा प्रविधियुक्त कक्षाकोठा निर्माण गरेर सम्पूर्ण विभागले यसप्रकारका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउने बताए ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख डा. दीपक अर्यालले केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीको अन्तर्राष्ट्रिय एक्स्पोजर बढाई जल तथा मौसम विषयमा ज्ञानको दायरा फराकिलो बनाउन महŒवपूर्ण अवसर प्राप्त भएको जानकारी गराए ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसन(केसीआई) का उपनिर्देशक डा. विनोद दवाडी काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसनका निर्देशक एवं चाइनिज एकेडेमी आफ साइन्सेसका प्राज्ञिक सदस्य प्रा. यावो थेल्दोङको विशेष पहलमा अमेरिकी प्राध्यापकसँग कक्षा सञ्चालन गरिएको जानकारी गराए ।

उनले जम्मा २९ वटा कक्षा सञ्चालन हुने र विद्यार्थीलाई अध्ययनका निम्ति प्रोजेक्ट पेपरसमेतको व्यवस्था र प्राविधिक एवं व्यवस्थापकीय सहयोग काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसन (चाइनिज एकेडेमी आफ साइन्सेस) ले गरेको जानकारी गराए ।