काठमाडौं । अहिलेसम्म अपरिचित ठाउँमा पुग्न बाटो खोज्न सबैभन्दा बढी प्रयोग हुने गुगल म्याप्स अब केवल ‘कहाँ जाने ?’ भन्ने प्रश्नको जवाफ दिने उपकरणमा सीमित नरहने भएको छ ।
गुगलले म्याप्सको ‘आस्क म्याप्स’ फिचरलाई थप क्षमतासहित विस्तार गर्दै प्रयोगकर्ताले नक्साभित्रैबाट खाना अर्डर गर्न, होटल बुक गर्न तथा कार्यक्रमका टिकट खोज्न सक्ने सुविधा थपेको जनाएको छ ।
यससँगै म्याप्सले प्रयोगकर्ताले दिएको निर्देशनअनुसार विभिन्न काम आफैँ अघि बढाउने एआई एजेन्टका रूपमा काम गर्ने दिशामा कदम अघि बढाएको छ ।
अब रेस्टुरेन्ट खोजेर मात्र रोकिँदैन
मानौँ तपाईंलाई घर नजिकै शाकाहारी खाना खान मन लाग्यो । पहिले म्याप्समा रेस्टुरेन्ट खोज्नुपर्थ्यो, त्यसपछि मेनु हेर्न अर्को एप खोल्नुपर्ने हुन सक्थ्यो । नयाँ प्रणालीमा भने प्रयोगकर्ताले ‘आस्क म्याप्स’मा आफूलाई चाहिएको खाना र स्थानबारे सामान्य भाषामै प्रश्न गर्न सक्नेछन् ।
उदाहरणका लागि, घर नजिकै भेगन एभोकाडो टोस्ट र ओट मिल्क लाटे कहाँ पाइन्छ भनेर सोध्न सकिन्छ । एआईले नजिकका विकल्पहरू पहिचान गरेर आवश्यक परिकार उपलब्ध हुने रेस्टुरेन्ट देखाउनेछ । त्यसपछि रेस्टुरेन्ट छनोट गरी ‘अर्डर अनलाइन’ विकल्प प्रयोग गर्न सकिन्छ ।
कार्टमा सामान पनि एआईले थप्ने
गुगलका अनुसार समर्थित सेवा उपलब्ध भएको अवस्थामा म्याप्सले प्रयोगकर्ताको रोजाइअनुसार सामानहरू कार्टमा थप्न समेत सहयोग गर्नेछ । यसका लागि स्क्वायर, टोस्ट र उबर इट्सजस्ता समर्थित प्लेटफर्म प्रयोग गर्न सकिनेछ ।
कार्ट तयार भएपछि प्रयोगकर्ताले आवश्यक परे थप सामान थप्न र अन्तिम भुक्तानी सम्बन्धित प्लेटफर्मबाट गर्न सक्नेछन् । यसको अर्थ प्रयोगकर्ताले खाना खोज्ने, रेस्टुरेन्ट छनोट गर्ने र अर्डर प्रक्रिया सुरु गर्ने कामका लागि विभिन्न एपबीच पटक पटक जानुपर्ने झन्झट कम हुनेछ ।
‘आस्क म्याप्स’ अब व्यक्तिगत पनि हुने
गुगलले ‘आस्क म्याप्स’मा व्यक्तिगत इन्टेलिजेन्स समेत थपेको जनाएको छ । यसअन्तर्गत प्रयोगकर्ताको अनुमति र उपलब्ध जानकारीका आधारमा जीमेल तथा गुगल क्यालेन्डरमा रहेका विवरणलाई प्रयोग गरेर म्याप्सले अझ व्यक्तिगत जवाफ दिन सक्नेछ ।
यसले प्रयोगकर्ताले कहाँ जाने, कहिले जाने वा आफ्नो तालिकासँग मिल्ने स्थान कुन हो भन्ने जस्ता प्रश्नमा थप सान्दर्भिक सुझाव पाउने सम्भावना बढाउँछ ।
नक्साबाट ‘एक्सन’तर्फ गुगलको कदम
गुगल म्याप्स लामो समयदेखि स्थान खोज्ने, बाटो पत्ता लगाउने र वरपरका व्यवसाय तथा स्थानबारे जानकारी दिने प्रमुख उपकरणका रूपमा प्रयोग हुँदै आएको छ । तर पछिल्ला एआई विकाससँगै गुगलले यसलाई जानकारी दिने प्लेटफर्मबाट काम सम्पन्न गरिदिने सहायक तर्फ लैजान खोजिरहेको देखिन्छ ।
खाना अर्डर, होटल बुकिङ र कार्यक्रमका टिकट खोज्ने जस्ता काम म्याप्सभित्रै जोडिनु त्यसैको संकेत हो । अब प्रश्न ‘यो ठाउँ कहाँ छ ?’ मा मात्र सीमित रहने छैन । ‘मलाई यहाँ जानु छ, यो काम गरिदेऊ’ भन्ने स्तरमा म्याप्सलाई प्रयोग गर्ने दिशामा गुगल अघि बढिरहेको छ ।
यद्यपि नयाँ एजेन्टिक सुविधाहरू सबै प्रयोगकर्ता, सबै स्थान वा सबै सेवामा एकैपटक उपलब्ध नहुन सक्छन् । सुविधा कुन देश र कुन सेवा प्रदायकमा उपलब्ध छ भन्ने आधारमा प्रयोगको अनुभव फरक हुन सक्नेछ ।
आईसीटी समाचार