कीवर्डहरू -

एआईबाट गीतको स्वर र शैली नै बदल्न सकिने सुविधा ल्याउँदै स्पोटीफाई

एआईबाट गीतको स्वर र शैली नै बदल्न सकिने सुविधा ल्याउँदै स्पोटीफाई

काठमाडौं । लोकप्रिय संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटीफाईले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट गीत रिमिक्स गर्न सकिने नयाँ सुविधा ल्याउने तयारी गरेको छ । कम्पनीले सन् २०२७ को पहिलो त्रैमासिकमा यो सेवा सार्वजनिक गर्ने योजना बनाएको छ ।

फाइनान्सियल टाइम्स (एफटी) का अनुसार स्पोटीफाईले आगामी फेब्रुअरीमा आयोजना हुने ग्रामी अवार्डको आसपास नयाँ सुविधा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसका लागि प्रिमियम सदस्यता लिएका प्रयोगकर्तासँग नियमित शुल्कबाहेक मासिक थप ४ देखि ५ अमेरिकी डलर लिने विकल्पमा समेत कम्पनीले विचार गरिरहेको छ ।

रोयटर्सका अनुसार नयाँ सुविधामार्फत सशुल्क प्रयोगकर्ताले आफूलाई मनपर्ने गीतलाई एआईको सहयोगमा नयाँ शैली र स्वरूपमा रूपान्तरण गर्न सक्नेछन् । उदाहरणका लागि, कुनै लोकगीतलाई डान्स ट्र्याकमा बदल्न वा एउटा कलाकारको स्वरमा अर्को कलाकारको गीत तयार गर्न सकिनेछ ।

यस सुविधाको अर्को विशेष पक्ष भनेको प्रयोगकर्ताले तयार पारेका रिमिक्सबाट मूल कलाकारले पनि रोयल्टी प्राप्त गर्न सक्ने व्यवस्था हो । एफटीका अनुसार स्पोटीफाईले रिमिक्सबाट हुने स्ट्रिमिङलाई मूल गीतकै स्ट्रिमिङ संख्यामा गणना गर्ने योजना समेत बनाएको छ । यसले गीतका सर्जक तथा कलाकारलाई नयाँ संस्करणबाट पनि आम्दानी गर्ने अवसर प्रदान गर्न सक्नेछ ।

नयाँ सेवा सञ्चालनका लागि स्पोटीफाईले विभिन्न संगीत कम्पनीसँग अनुमति तथा लाइसेन्ससम्बन्धी सम्झौता अघि बढाएको छ । एफटीका अनुसार कम्पनीले युनिभर्सल म्युजिक ग्रुप, स्वतन्त्र रेकर्ड लेबलहरूको समूह मर्लिन र फ्रान्सेली संगीत कम्पनी बिलिभसँग सम्झौता गरिसकेको छ ।

यद्यपि, सोनी म्युजिक र वार्नर म्युजिकसँग भने स्पोटीफाईको छलफल जारी रहेको समाचारमा उल्लेख छ । यस विषयमा रोयटर्सले प्रतिक्रिया माग्दा स्पोटीफाईले तत्काल कुनै जवाफ नदिएको जनाएको छ । एआई प्रविधिको तीव्र विकाससँगै संगीत सिर्जना, सम्पादन र वितरणको क्षेत्रमा नयाँ सम्भावना थपिँदै गएका छन् ।

स्पोटीफाईको प्रस्तावित सेवाले प्रयोगकर्तालाई आफ्नै रुचिअनुसार गीतको नयाँ संस्करण तयार पार्ने अवसर दिनुका साथै संगीत उद्योगमा कलाकारको अधिकार र रोयल्टी वितरणको विषयलाई समेत नयाँ बहसमा ल्याउन सक्नेछ ।