कीवर्डहरू -

थ्रेड्सको लाइभ च्याटमा थपियो नयाँ फिचर, ट्रान्सलेसनदेखि सह-होस्टसम्मको सुविधा

थ्रेड्सको लाइभ च्याटमा थपियो नयाँ फिचर, ट्रान्सलेसनदेखि सह-होस्टसम्मको सुविधा

काठमाडौं । मेटाले आफ्नो सामाजिक सञ्जाल थ्रेड्सको लाइभ च्याट फिचरमा नयाँ सुविधा थप्दै यसको पहुँच विस्तार गरेको छ । कम्पनीले प्रयोगकर्ताको अनुभव सुधार गर्न सन्देश अनुवाद (ट्रान्सलेसन), सह-होस्ट, सन्देश व्यवस्थापनलगायतका नयाँ फिचर सार्वजनिक गरेको हो ।

नयाँ अपडेटअनुसार अब लाइभ च्याटमा आउने सन्देश स्वत: अनुवाद गर्ने सुविधा उपलब्ध हुनेछ । यसले विभिन्न भाषाका प्रयोगकर्ताबीच हुने संवादलाई सहज बनाउने कम्पनीको विश्वास छ ।

त्यस्तै, लाइभ च्याटको होस्टले अब एकैपटक तीन जनासम्म सह-होस्ट थप्न सक्नेछन् । होस्टले आवश्यक परे सबैका लागि सन्देश हटाउन सक्नेछन् भने उनीहरूले पठाएका सन्देशलाई अन्यभन्दा बढी प्राथमिकताका साथ देखाइने व्यवस्था पनि गरिएको छ ।

मेटाले लाइभ च्याट सुरु गर्न पाउने अधिकार थप ‘कम्युनिटी च्याम्पियन्स’ प्रयोगकर्तासम्म विस्तार गरेको जनाएको छ । साथै, डेस्कटपबाट लाइभ च्याट सञ्चालन गर्ने सुविधा र पिन गरिएका सन्देश पनि छिट्टै उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार लाइभ च्याट फिचरको उद्देश्य थ्रेड्सलाई रियल टाइम संवादका लागि अझ प्रभावकारी प्लेटफर्म बनाउनु हो । यो सुविधा सुरु भएदेखि दैनिक रूपमा सयौं लाइभ च्याट सञ्चालन भइरहेका छन्, जसमा हजारौं प्रयोगकर्ता सहभागी हुने गरेका छन् ।

हाल थपिएका अधिकांश फिचर क्रिएटरहरूको सुझाव र मागका आधारमा विकास गरिएको मेटाले जनाएको छ । लाइभ च्याटमार्फत प्रयोगकर्ताले सन्देश, फोटो, भिडियो, लिङ्क तथा इमोजी प्रतिक्रिया आदान प्रदान गर्न सक्छन् ।

मेटाका अनुसार थ्रेड्सले हालै ५० करोड मासिक सक्रिय प्रयोगकर्ताको उपलब्धि हासिल गरेको छ । कम्पनीले नयाँ फिचरहरूले रियल टाइम संवादलाई थप प्रभावकारी बनाउँदै प्लेटफर्मको लोकप्रियता अझ बढाउने अपेक्षा गरेको छ ।