काठमाडौं । एउटै मोबाइलबाट व्यक्तिगत र व्यावसायिक प्रयोजनका फरक–फरक ह्वाट्सएप अकाउन्ट चलाउने प्रयोगकर्ताका लागि कम्पनीले नयाँ सुविधा ल्याउने तयारी गरेको छ । अब आईफोन प्रयोगकर्ताले एउटै ह्वाट्सएप एपमा तीनवटा अकाउन्ट राख्न सक्ने व्यवस्था विकास भइरहेको छ ।
अहिले आईफोनमा एउटै एपबाट दुईवटा अकाउन्ट मात्र व्यवस्थापन गर्न सकिन्छ । ह्वाट्सएपले भने आगामी प्रणालीमा अर्को अकाउन्ट थप्ने विकल्प उपलब्ध गराउने तयारी गरेको हो । नयाँ व्यवस्था परीक्षणका क्रममा आईओएस बिटा संस्करण २६.३७.१०.१५ मा देखिएको छ ।
टेस्टफ्लाइटमार्फत उपलब्ध गराइएको उक्त बिटा संस्करणमा अकाउन्ट व्यवस्थापनसम्बन्धी नयाँ संरचना देखिएको हो । ह्वाट्सएपका परीक्षण संस्करणमा आउने परिवर्तनबारे निगरानी गर्ने डब्ल्यूएबिटाइन्फोले यसबारे जानकारी सार्वजनिक गरेको छ ।
नयाँ प्रणालीमा प्रयोगकर्ताले अकाउन्ट थप्न ‘एड अकाउन्ट’ विकल्प प्रयोग गर्न सक्नेछन् । त्यसपछि एउटै एपभित्र रहेका तीनवटै नम्बरमध्ये आवश्यक अकाउन्ट छानेर प्रयोग गर्न सकिनेछ । अकाउन्ट परिवर्तन गर्न हरेकपटक एपबाट बाहिरिएर पुन: लगइन गर्नुपर्ने छैन ।
प्रयोगकर्तालाई कुन अकाउन्ट सक्रिय छ भन्ने छुट्याउन पनि सहज हुने गरी इन्टरफेस तयार गरिएको छ । अकाउन्ट सूचीमा सम्बन्धित प्रोफाइलको नाम, फोटो र फोन नम्बर देखिनेछन् भने चलिरहेको अकाउन्टमा हरियो संकेत रहनेछ ।
महत्त्वपूर्ण कुरा, एउटै एपमा जोडिएका अकाउन्टहरू आपसमा मिसिने छैनन् । प्रत्येक अकाउन्टको च्याट, मिडिया, ब्याकअप, नोटिफिकेसन र गोपनीयता सेटिङ छुट्टाछुट्टै व्यवस्थापन हुने व्यवस्था गरिएको छ ।
यसले एउटै फोनमा विभिन्न नम्बर प्रयोग गर्नेहरूलाई विशेष सुविधा पुग्न सक्छ । उदाहरणका लागि, व्यक्तिगत सम्पर्कका लागि एउटा र काम वा व्यवसायका लागि अर्को नम्बर प्रयोग गर्नेले छुट्टाछुट्टै एप वा डिभाइसको भर पर्नुपर्ने अवस्था कम हुनेछ ।
तर, तीन अकाउन्ट चलाउन सकिने सुविधा अहिले नै सबै आईफोन प्रयोगकर्ताले प्रयोग गर्न पाउने अवस्था छैन । ह्वाट्सएपले यसको औपचारिक घोषणा गरेको छैन र परीक्षण संस्करणमै यसको विकास भइरहेको छ । बिटा परीक्षणमा समेत सुविधा सीमित रूपमा उपलब्ध भएकाले सबै प्रयोगकर्तासम्म कहिले पुग्छ भन्ने स्पष्ट भइसकेको छैन ।
आईफोनमा अकाउन्ट व्यवस्थापनलाई थप सहज बनाउने क्रममा ह्वाट्सएपले दुई अकाउन्टको सीमाबाट तीन अकाउन्टसम्म विस्तार गर्न लागेको हो । सुविधा सार्वजनिक भएपछि एउटै एपबाट तीन फरक ह्वाट्सएप नम्बर व्यवस्थापन गर्न सकिनेछ ।
आईसीटी समाचार