कीवर्डहरू -

मोबाइल एपभित्रका विज्ञापन रोक्ने नयाँ टुल ‘फिल्टर’ सार्वजनिक

मोबाइल एपभित्रका विज्ञापन रोक्ने नयाँ टुल ‘फिल्टर’ सार्वजनिक

काठमाडौं । मोबाइल तथा कम्प्युटरमा देखिने विज्ञापन र ट्र्याकिङ नियन्त्रणका लागि नयाँ प्रविधि सार्वजनिक गरिएको छ । इन्टरनेट ब्राउजरमा एड ब्लकर प्रयोग हुँदै आएपनि मोबाइल एपभित्रका विज्ञापन रोक्न हालसम्म चुनौतीपूर्ण मानिँदै आएको थियो । यही समस्यालाई समाधान गर्ने उद्देश्यले ‘फिल्टर’ नामक नयाँ टुल बजारमा आएको हो ।

यो टुल आईओएस २६ र म्याकओएस २६ को नयाँ प्राविधिक संरचनामा आधारित छ । यसलाई सफारीको लोकप्रिय एड ब्लकर ‘विपर’ की विकासकर्ता केली सेरेना काल्डेरोलाले तयार पारेकी हुन् ।

‘फिल्टर’को विशेषता भनेको यसले केवल ब्राउजर मात्र नभई आइफोन, आइप्याड र म्याकका सम्पूर्ण एपहरूमा देखिने विज्ञापन नियन्त्रण गर्न सक्नु हो । यसले एप्पलको नयाँ ‘युआरएल फिल्टर’ प्रविधि प्रयोग गर्दै नेटवर्क स्तरमै विज्ञापन लोड हुन नदिने प्रणाली अपनाएको छ ।

विकासकर्ताका अनुसार यो टुलले प्रयोगकर्ताको व्यक्तिगत डाटा सङ्कलन गर्दैन । एप्पलको प्राविधिक संरचना र गोपनीयता मापदण्डअनुसार सुरक्षित रूपमा सञ्चालन हुने यस प्रणालीमा डिभाइसमा नै ब्लकलिस्ट राखिन्छ, जसले विज्ञापन सम्बन्धित लिङ्कहरूलाई स्वत: रोक्छ ।

सुरक्षाका दृष्टिले सबै नेटवर्क अनुरोधहरू एप्पलको सर्भरमार्फत प्रोक्सी भएर जाने व्यवस्था गरिएको छ, जसले गर्दा प्रयोगकर्ताको पहिचान एप विकासकर्तासम्म पुग्दैन । एक पटक सक्रिय गरेपछि यो टुल स्वतः अपडेट हुँदै जानेछ र प्रयोगकर्तालाई विज्ञापनरहित अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।

यस टुलले धेरैजसो एपहरूमा विज्ञापन रोक्न सक्षम भए पनि फेसबुक, गुगल र रेडिटजस्ता केही प्लेटफर्ममा सीमित प्रभाव रहने जनाइएको छ । ती कम्पनीहरूले आफ्नै डोमेनमार्फत विज्ञापन वितरण गर्ने भएकाले पूर्ण रूपमा ब्लक गर्दा एपको कार्यक्षमता प्रभावित हुन सक्ने भएकाले केही विज्ञापन देखिन सक्ने बताइएको छ ।

यद्यपि, यस्ता प्लेटफर्महरू मोबाइल ब्राउजरमार्फत प्रयोग गर्दा भने विज्ञापन पूर्ण रूपमा रोक्न सकिने विकासकर्ताको दाबी छ । ‘फिल्टर’ एप हाल ‘विपर’ भित्र उपलब्ध छ । यसको वार्षिक शुल्क ५ अमेरिकी डलर तोकिएको छ भने २५ डलर तिरेर आजीवन सदस्यता पनि लिन सकिने व्यवस्था गरिएको छ ।