कीवर्डहरू -

डिपसिकको चर्चासँगै फेरिएको ठाउँ, लियाङको गाउँमा दैनिक १० हजार पर्यटक

डिपसिकको चर्चासँगै फेरिएको ठाउँ, लियाङको गाउँमा दैनिक १० हजार पर्यटक
डिपसिकका संस्थापक, Photo: Weibo

चिनियाँ एआई स्टार्टअप डिपसिकका संस्थापक लियाङ वेनफेङ जन्मिएको गाउँ यतिबेला पर्यटकीय स्थल बनेको छ । डिपसिकले विश्वभर चर्चा मच्चाएपछि चीनको दक्षिण भागमा रहेको मिलिलिङ गाउँमा पर्यटहरूको घुइचो लाग्न थालेको छ । 

गत जनवरीमा डिपसिकको आरवान मोडेल सार्वजनिक भएपछि यसले विश्वको ध्यान खिचेको थियो भने अमेरिकामा ठूलो हलचल ल्याएको थियो । अनि धेरै मानिसहरू लियाङको पृष्ठभूमि बुझ्न चाहेर मिलिलिङ गाउँ जान थालेका थिए । 

सिपसिकका संस्थापक ४० वर्षीय वेन्फेङ, मिलिलिङ गाउँमा जन्मिएका र हुर्किएका हुन् । यो गाउँ वुचुआन भन्ने सानो सहरमा पर्दछ, जुन ग्वाङ्डोङ प्रान्तको झानजियाङ सहर अन्तर्गत पर्छ । 

मिलिलिङ गाउँमा ७०० भन्दा बढी बासिन्दा छन्, जहाँ युवाहरू नजिकैको जुत्ता कारखानामा काम गर्छन् भने वृद्धहरू कृषि कार्यमा संलग्न छन् । गाउँमा कुनै औद्योगिक विकास छैन । 

लियाङका दुबै आमा-बुवा गाउँकै एक प्राथमिक विद्यालयमा शिक्षक हुन् । उनले गाउँको प्राथमिक विद्यालय सकेपछि वुचुआन नम्बर १ मिडल स्कुलमा भर्ना पाएका थिए, जुन सो क्षेत्रकै प्रमुख शैक्षिक संस्था हो ।

सन् २००२ मा, उनले गाओकाओ (चीनको कठिन विश्वविद्यालय प्रवेश परीक्षा) मा उच्च स्कोर गरी प्रसिद्ध झेजियाङ विश्वविद्यालयमा अध्ययन गर्न गर्न थालेका थिए । लियाङ पढाइमा तेज थिए । उनले झेजियाङ विश्वविद्यालयबाट इलेक्ट्रोनिक सूचना इन्जिनियरिङमा स्नातक डिग्री गरेका छन् भने सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर स्नातकोत्तर गरेका छन् । 

सन् २०१५ मा लियाङ दुई साथीहरूसँग मिलेर ‘हाई–फ्लायर’ नामक क्वान्टिटेटिभ हेज फन्ड स्थापना गरेका थिए, जुन डिपसिकको मातृ कम्पनी हो । लियाङको मिलिलिङ गाउँमा अहिले दैनिक १० हजार पर्यटक आउँछन् । पर्यटक बढ्न थाल्दा पूर्वाधार कमजोर भएको गुनासो आउन थालेको छ । फेब्रुअरीको मध्यतिरदेखि पूर्वाधारको पुनर्निर्माण कार्य थालिएको छ । 

गाउँका २९ घरका बाहिरी पर्खालहरू सुधार गर्ने, जीर्ण भवनहरू भत्काउने, सडकहरू फराकिला पार्ने, ढल निकास राख्ने, झाडीहरू सफा गर्ने र नयाँ रूखहरू रोप्ने कार्य भइरहेको छ । 

लियाङको गाउँमा रहेको चार तले घरमा उनका हजुरबुबा मात्रै बस्छन् । पर्यटकहरूले बारम्बार वेन्फेङको घरतर्फ आउन थालेपछि उनका हजुरबुबाले दिनभरि आफ्नो ढोका बन्द गर्नुपर्ने अवस्था आएको छ । केही पर्यटकहरूले त, माटो, ढुंगा, पातका टुक्राहरूसमेत लगेका थिए । 

गाउँमा पर्यटन बढ्न थालेपछि स्थानीय बासिन्दाहरू लियाङप्रति आभारी छन् । लियाङको उपलब्धिले गाउँको जीवनशैलीमै परिवर्तन ल्याउन थालेको छ । लियाङको सफलताबाट प्रेरित भई गाउँलेहरूले हालै उत्कृष्ट विद्यार्थीहरूलाई सहयोग गर्ने कोष स्थापना गरेका छन् ।