आज मार्च आठ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । देशभरनै विभिन्न कार्यक्रम गरी नारी दिवस मनाइँदै छ । हरेक क्षेत्रमा जस्तै प्रविधिमा पनि नारीहरुको सक्रियता बढेको छ ।
केही नारीहरुले प्रविधि क्षेत्रलाई अगाडि बढाउन उल्लेखनीय योगदान पनि दिएका छन् । प्रविधि शिक्षामा समेत नारीहरुको सहभागीता बढदै गइरहेको छ ।
आज हामी प्रविधि क्षेत्रलाई अगाडि बढाउन नारीको भूमिका उल्लेखनीय छ । नारी दिवसको अवसरमा हामीले नेपालको सूचना प्रविधि क्षेत्रका १२ अब्बल नारीको बारेमा यो विशेष सामग्री तयार पारेका छौं ।
प्रनिता उपाध्याय
प्रनिता उपाध्याय नेपालको प्रविधि क्षेत्रमा अग्रज महिला हुन् । उनी मेडीसफ्ट नेपालकी प्रमुख कार्यकारी अधिकृत हुन् । उनले विभिन्न सफ्टवेयर तथा नयाँ सिस्टम एपहरु बनाउने गर्दछिन् ।
त्यस्तै उनी व्यवसायमा चाहिने आन्तरिक कार्यहरु,व्यवसाय विकास रणनीतिहरु र आइटी प्रक्रियाहरुको मूल्याकंन गर्न सक्षम छन् ।
उनले आर्किटेक्चर मोडेलहरु तयार पार्ने, व्यवसायिक दृष्टिकोण र लक्ष्यहरु सिर्जना तथा कार्यान्वयन गर्ने कार्यमा निरन्तर रुपमा सहयोग पुर्याउँदै आएकी छन् । उनले विद्यार्थीहरुलाई शैक्षिक कार्यमा पनि सहयोग गर्ने गर्छिन ।
त्यस्तै आइटी क्षेत्रको राम्रो ज्ञान दिनका लागी पनि उनले निरन्तर रुपले काम गरिरहेकी छन् । उनले एकदमै राम्रो तरिकाले सरकारी तथा गैरसरकारी संघसंस्थासँग सहकार्य गर्दै काम गरिरहनु भएको छ ।
तिमीला यमी थापा
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानकी पूर्व सहायक डिन हुन्, तिमिला यमी । नेपालकै पहिलो महिला इन्जिनयर प्रोफेसरको रुपमा उनलाई धेरैले चिन्ने गर्दछन् ।
२०२३ सालमा काठमाडौंको कान्तेश्वरी राज्यलक्ष्मी स्कुलबाट एसएलसी गरेकी तिमिलाले भारतको इन्डियन इन्स्टिच्युट अफ इन्जिनियरिङ र बेलायतबाट उच्च शिक्षा हासिल गरेकी हुन् ।
सरकरी र निजी स्तरमा आइसिटी क्षेत्रमा काम गर्ने क्रममा उनले सूचना प्रविधि परिषद, त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा आइटी र इन्जिनियरिङ विषयको पाठ्यक्रम निर्माणमा सहयोग, रुरल टेक्नोलोजी फन्डलगायत गरी विभिन्न संस्थामा काम गर्दै आएकी छिन् ।
तिमिला यमि थापाले स्वदेशमा प्रविधिको विस्तारको लागी थुप्रै क्षेत्रबाट कार्य गरेकी छिन् । उनको अथक प्रयासले गर्दा नेपालको इतिहासमा पहिलो चोटि कम्प्यूटर ईन्जिनियरिङ् प्रोग्रामलाई पाठयक्रममा समावेश गरिएको थियो । यही नै प्रविधिको विकासका लागी जग बन्न पुगेको हो ।
यसैगरी उनले १९९० को दशकमा नै नेपालमा सफ्टवेयर कम्पनी सञ्चालन गरेर धेरै सरकारी, गैरसरकारी तथा कर्पोरेट अर्गनाइजेसनको काम गरेकी छिन् ।
एक राष्ट्रिय स्तरको नीति नियोजकको रुपमा उनले प्रधानमन्त्रीको कार्यालय अन्तर्गत आईसीटी सल्लाहकार बोर्डको सदस्यको रुपमा एक वर्ष काम गरिन् ।
थापालाई शैक्षिक नीति योजनाकारको हैसियतमा विश्व विद्यालय अनुदान आयोग अन्तर्गत एकेडेमिक काउन्सिल र अनुसन्धान परिषदको सदस्यको रुपमा पनि काम गरेको अनुभव छ ।
प्रविधि क्षेत्रसँग सम्बन्धित व्यक्ति भएकाले उनीले तीन वर्ष ईन्जिनियरिङ्ग काउन्सिलको गभर्निङ सदस्यको रुपमा पनि काम गरिन् । थापाले नेपाल दुरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोष बोर्डमा रहेर पनि तीन वर्ष सेवा गरिन् । उनका महिला र आइसिटी विषयमा ३० भन्दा बढी लेख प्रकाशित छन् ।
‘मैले निरन्तर रुपमा महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन हुने काम गरिरहेकी छु । अहिले तत्कालै सूचना प्रविधिको विकास हुने सम्भावना छैन । त्यसैले अवेरनेशका कार्यक्रम नै मुख्य गरि गर्ने गर्दछु’ उनले बताइन् ।
उनकै प्रयासमा कम्प्युटर इञ्जिनियरिङ डिग्री कार्यक्रम पहिलो पटक सुरू भएको थियो । उनको नेपालमा आईसीटी विकासको प्रारम्भिक चरणको प्रयासले गर्दानै नेपालमा आईटी पार्कको निर्माण भएको थियो ।
उनले मन्त्रालयमा पनि पहिलो आइटी विभागको निर्माणमा योगदान पुर्याएकी थिइन् । उनले नेपाल दूरसञ्चार प्राधिकरणमा दिएको योगदानका कारणले आइसीटी पूर्वाधारको विकास भएको थियो ।
त्यसैगरी थुप्रै आइसीटीसँग सम्बन्धित प्रोजेक्टहरुको पनि सुरुवात भएको थियो । उनले छाठी जना कम्प्यूटर इन्जिनियरहरुलाई रोजगाार प्रदान गरेकी थिइन् र आफ्नै कम्पनी खोल्नका लागी पनि उनीले प्रेरणा दिने गर्दछिन् ।
गुणकेशरी प्रधान
आइटीमा नेपाली महिलाको नाम लिनेबित्तिकै सम्झिइने नाम हो, गुणकेशरी प्रधान । उनी नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर हुन् । उनी सूचना प्रविधिमा महिला (वुमन इन इन्फोरमेसन टेक्नोलोaजी) की अध्यक्ष समेत हुन् ।
२०४२ सालमा युक्रेनबाट कम्प्युटर इन्जिनियर गरेर नेपाल फर्केकी प्रधानले नेपाल टेलिकमको अफिस भिजिट गर्न गएकै दिन सातौं तहको इन्जिनियरको नियुक्ति पाएकी थिइन् ।
टेलिकममा टेलिफोनको रकम भुक्तानी कार्य कम्प्युटराइजड गरेर करिअर सुरु गरेकी उनले सिस्टम एनालाइसिस र अपरेसन, सफ्टवेयर डेभलपमेन्टमा काम गरिन् ।
नेपालमा जिएसएम मोबाइल र इन्टरनेट विस्तार हुदा त्यसको सुपरिवेक्षण पनि प्रधानले गरेकी थिइन् । हाल उनी टेलिकमको अपरेसनस एन्ड मेन्टेनेन्स डिपार्टमेन्टकी म्यानेजर रहेकी छन् ।
‘त्यतिबेला नेपालमा यति इञ्जिनियरको आवश्यकता थियो कि म र मेरो साथी नेपाल टेलिकममा के के अवसर छ भनेर कार्यालय गएकै दिन तुरुन्तै तपाईंहरु हामीलाई चाहिएको छ, आजै नियुक्तिपत्र लिएर जानुहोस् भनेर आधा घण्टामै नियुक्ति दिइयो । त्यसपछि दूरसञ्चार कम्पनीमै करिअर सुरु भयो,’ उनले भनिन् ।
जुन उमेरमा महिला एग्रेसिभ्ली बिजनेस सेक्टरमा आउन सक्छन्, त्यतिबेला घरायसी समस्या जस्तै बिहे गर्नुपर्ने, घर रेखदेख, बालबाच्चा स्याहार गर्नुपर्ने लगायतका कारण महिला घरमै सीमित हुनुपरिरहेको उनी बताउँछिन् ।
रत्नतारा वैद्य
बैंकिङ क्षेत्रकी पहिलो महिला आइटी प्रमुखका रुपमा रत्नतारा वैद्य परिचित छिन् । शिक्षिका बन्ने सपना बोकेकी रत्न ताराले अगंजे्रीमा एमए गरेकी थिइन् ।
त्यतिबेला अमेरिकी दूतावासको सहयोगमा नेपालका ३० जनालाई फुल डाटा सिस्टम इन्टर नेसनल तालिम दिइएको थियो, जसमा रत्नतारा पनि अटाइन् ।
त्यसपछि उनी पूर्ण कम्प्युटर प्रोगामर बन्न सफल भइन् । अमेरिकामा समेत कम्प्युटर प्रोगामिङ गर्न सफल भएकी उनले सन् १९८५ देखि ८१ सालसम्ममा कम्प्युटर प्रोग्रामर बनेर काम गरिन् । कम्प्युटर प्रोग्रामर बन्न चाहने महिलाका लागि उनी आइडल हुन् ।
नेपाल बगंलादेश बैंक स्थापना भएसँगै आइटी अफिसरको रुपमा बैंक प्रवेश गरेकी उनले बैंकिङ क्षेत्रमा आइटी चिफ हुने एक्ली महिला हुन् । उनी क्यान महासंघको वरिष्ठ उपाध्यक्ष पनि हुन् रत्न तारा ।
आइटी क्षेत्रमा महिलाको सहभागिताको प्रसंगमा उनी भन्छिन्, ‘पहिलेको तुलनामा केही सहज देखिए पनि अझै महिला यो क्षेत्रमा खुलेर लागेका छैनन् । हाम्रो समाजले घरयासी काम नै महिलाको काम हो भन्ने मानसकिता दिएको छ ।
सुनैना पाण्डे
सन् १९७८ मा वीरगञ्जमा जन्मिएकी सुनैना घिमिरे पाण्डे कम्प्युटर एसोसिएसन अफ नेपालकी पुर्व उपाध्यक्ष हुन् । १४ वर्षको उमेरदेखि नै काम गर्दै पढेकी सुनैनाले नेपालीमा लोकलाइज गर्ने प्रोजेक्टको कोओर्डिनेट गरेकी थिइन् ।
यसैगरी नेपाली युनिकोड, तिथिमिति रुपान्तरण, विन्डोज भित्रैबाट नेपाली भाषाको किबोर्डबाट टाइप गर्ने व्यवस्था ल्याउन उनले सहयोग गरेकी थिइन् ।
सुनैना नेपालमा माइक्रासेफट्को बिजनेस हेर्ने टेक वनमा एसोसिएट जनरल म्यानेजर भएर केही बर्ष काम गरिन ।
अहिले आफ्नै कम्पनी जनरल टेक्नोलोजीको प्रवन्ध निर्देशकको रुपमा हाकिरहेकी सुनैनाले क्यान महासंघको केन्द्रीय तहमा महिलाको प्रतिनिधित्व गरेकी छन् ।
उनले क्यान मार्फत महिलाहरुको क्षमता अभिवृिद्ध गर्ने दजनौ कार्यक्रमहरुको समन्वय गरेकी छन् । क्यान महासंघको गत निर्वाचनमा अध्यक्ष पदमा झिनो अन्तरले पराजित भएपनि प्रविधिको सचेतना र विकासमा विभिन्न अभियानहरुमा क्रियाशील छिन् । उनले लायन्स क्लबको सदस्यको रुपमा पनि काम गरेकी छन् ।
कम्पनीलाई नेतृत्व गर्दै महिला आइटीमा सक्षम उद्यमी बन्न सक्छन भनि प्रमाणित गरिरहेकी सुनैना नेपालमा आइटी म्यागजिन सुरु गर्ने अभियन्ता पनि हुन् ।
महिलाको घरायसी दायित्व बढी हुने र टेक्नोलोजीमा अपटुडेट हुने समय कम भएकाले यो क्षेत्रमा सहभागिता थोरै देखिएको उनको अनुभव छ ।
सुनैना घिमिरे (पाण्डे) कम्प्युटर एसोसिएसन अफ नेपालकी पुर्व उपाध्यक्ष हुन् । उनले आइसीटीको क्षेत्रमा अठार वर्ष भन्दा बढि योगदान दिएकी छिन् । दुर्गम क्षेत्रमा ई–सर्भिसका लागी पनि उनीले काम गरिरहेकी छिन् ।
उनले क्यान मार्फत महिलाहरुको क्षमता अभिवृिद्ध गर्ने दर्जनौँ कार्यक्रमहरुको समन्वय गरेकी छिन् । क्यान महासंघको गत निर्वाचनमा अध्यक्ष पदमा झिनो अन्तरले पराजित भएपनि प्रविधिको सचेतना र विकासमा विभिन्न अभियानहरुमा क्रियाशील छिन् । उनी आइसिटी अवार्ड २०२३ को वुमन आइकन विधाको विजेतासमेत हुन् ।
मोना न्याच्छों
मोना न्याच्छों मोनालटेक कम्पनीका संस्थापक हुन् । उनी गोपाजु लगप्वइन्ट नेपालकी सिइओको कार्यभार सम्हालिसकेकी छन् । पोखरा विश्वविद्यालयबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ गरेकी उनले पूर्वाञ्चल विश्वविद्यालयबाट मास्टर्स इन बिजनेस स्टडिज र त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन सकेकी हुन् ।
इन्जिनियररिङ विद्यार्थीका रुपमा स्नातक पढ्दाकै समयमा आफ्नै कम्प्युटर इन्स्टिच्युटमा काम गरिन् र धेरै अनुभव हासिल गर्न पाइन् । उनले त्यहाँ कम्प्युटरको मेन्टेनेन्स गर्ने, प्रोग्रामिङ गर्ने, ज्ञान प्रदान गर्ने, क्लास र ल्याबमार्फत विद्यार्थीलाई सिकाउनेका साथमा रिसर्चको काम गर्थिन् ।
सन् २००६ मा स्नातक सकेपछि उनले युएस बेस्ड सफ्टेयर कम्पनी भेरिस्क इन्फर्मेसन टेक्नालोजीमा काम गर्न थालिन् । त्यहाँ सिनियर सफ्टवेयर डेभलपरकै हैसियतमा काम गर्न सफल मोना सन् २०१२ मा भने डेनिस बेस्ड आइटी कम्पनी लगप्वइन्टमा आइन् ।
त्यहाँकी पहिलो महिला कर्मचारी भइन् उनी । उनको दक्षता र कामप्रतिको लगावकै कारण सन् २०१४ देखि २०२० सम्म कम्पनीको सिइओका रुपमा कम्पनीको नेतृत्व गरेको हुन् ।
अहिले आफ्नै नेतृत्वमा नयाँ कम्पनि सुरु गरेकि उनले प्रविधि क्षेत्रमा महिला कुनै हिसाबले कम छैनन् भन्ने उदाहरण पेश गरेकी छन् ।
कुशुम लामा
नेपालको सूचना तथा सञ्चार प्रविधिमा परिचित नाम हो कुशुम लामा । कर्पोरेट क्षेत्रमा रहेर डिजिटाइजेसन र प्रविधिमा काम गरेको जस उनलाई जान्छ ।
प्रभु ग्रुपको अध्यक्षको रुपमा रहेकी लामा यस ग्रुप अन्तर्गतका एक दर्जनबढी कम्पनी तथा संस्थाहरुको नेतृत्व गर्छिन् ।
कुशुम लामाले नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२१ पनि (वुमन) प्राप्त गरेकी थिइन् ।
सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशेष योगदान गरेको भन्दै लामालाई आइसिटी डे २०२१ को अवसरमा उक्त अवार्ड प्रदान गरेको थियो ।
मुलुकमा कोरोना संक्रमणले भइरहेको बेला डिजिटाइजेसनको महत्व अझ बढी भएको भन्दै यस क्षेत्रमा अझै थप्रै काम गर्न बाँकी रहेको उनले भनाइ छ ।
उनी हाल प्रभु इन्सुरेन्समा अध्यक्ष, प्रभु म्यानेजमेन्टमा अध्यक्ष, प्रभु बैंक, प्रभु टेक्नोलोजी, स्मार्ट च्वाइस टेक्नोलोजि, फिन एक्सेसलगायतमा निर्देशकका रुपमा रहेकी छन् ।
पहिलो लाइसेन्स प्राप्त मोबाइल पेमेन्ट सर्भिस प्रोभाइडर प्रभु पेले स्मार्टफोन नभएका तर बारफोन प्रयोगकर्तालाई समेत पहिलोपटक डिजिटल पेमेन्टको पहुचमा जोड्न सफल छ ।
सन् २०१३ मा फिन एक्सेस मार्फत मोवाइल मनि अपरेटरको कन्सेप्टमा आएको हेल्लो पैसादेखि अस्पताललाई प्रविधि मैत्री बनाउने मेडिफ्लो सिस्टमसम्म उनले नेतृत्व गरेकी थिइन् ।
पहिलो लाइसेन्स प्राप्त मोबाइल पेमेन्ट सर्भिस प्रोभाइडर प्रभु पेले स्मार्टफोन नभएका तर बारफोन प्रयोगकर्तालाई समेत पहिलोपटक डिजिटल पेमेन्टको पहुचमा जोड्न सफल छ ।
यसैगरी, प्रभु म्यानेजमेन्ट मार्फत डिजिटल फाइनान्स सर्भिस, कोर एकाउन्टिङ सफ्टवेयर, रेमिट्यान्स र सहकारी सफ्टवेयरको विकास र प्रयोगले लाखौ मानिसलाई सहज जीवनशैलीमा रुपान्तरण गरेको छ ।
विदेशमा बसेका नेपालीलाई रेमिट्यान्सको डिजिटल नेटवर्कदेखि ग्रामिण क्षेत्रका सहकारीमार्फत गरिब, किसानको जीवनस्तर उकास्न उनेले नेतृत्व गरेका कम्पनीले महत्वपुर्ण योगदान दिएको छन् ।
यसैगरी, धेरै विद्यालयहरुको लागि ई–शिक्षा नामक सफ्टवेयर निशुल्क रुपमा प्रदान गरेकी कुशुम लामाले प्रभु बैंक लगायतका धेरै संस्थाहरुमा आइसिटी पोलिसी बनाउने र कार्यान्वयनमा ल्याउन सहयोग गरेकी छन् ।
लामाको नेतृत्वमा डिजिटल फाइनान्स साक्षरताको विभिन्न अभियानहरु सञ्चालनमा छन । विभिन्न कम्पनी मार्फत सयौंलाई रोजगारी उपलब्ध गराउन सफल लामाले डिजिटल रुपान्तरणको अभियानमा उत्तिकै महत्वपुर्ण योगदान दिएकी छन् ।
दोभान राई
प्रो डा. दोभान राई अनुसन्धानकर्ता हुन् । उनले कम्प्युटर विज्ञानमा पीएचडी गरेकी छिन् । उनी शोधकर्ता, लेखक, प्रोग्रामर, डिजाइनर, एआई र दिगो भविष्यका लागि उदीयमान प्रविधिहरूमा विज्ञता हासिल गरेकी छिन् । उनले प्रविधिको प्रयोगले दिगो भविष्यको विकासको सन्दर्भमा पनि काम गर्ने गर्दछिन् ।
उनले ओएलई नेपालमा समेत काम गरेकी छिन् । उनी ओएलई नेपालमा पहिले कन्टेन्ट डिजाइनर तथा रिभ्युअर पनि थिइन् ।
उनले कग्निशन, मेटाकग्निशनलाई प्रयोग गरेर तीन ओटा गेम जस्तो सिस्टमको पनि निर्माण गरेकी छिन्, जसमा मन्कीज रिभेन्ज, द लर्निङ ड्यासबोर्ड र मोजाईक रहेका छन् । उनले ममेडिकल डाइग्नोसिस एक्सपर्ट सिस्टमको पनि निर्माण गरेकी छिन् ।
रोजा किरण बासुकला
रोजा किरण बासुकला नेपाल दूरसञ्चार प्राधिकरणको उपनिर्देशक हुन् । उनले गल्र्स इन आईसिटीको कन्सेप्ट लिएर काम गरिरहेकी छिन् । आईसिटीमा रहेको लैगिंक विभेदलाई कम गर्नका लागि उनले काम गर्ने गर्दछिन् ।
उनले आईसिटी क्वीज, ह्याकाथन जस्ता कार्यक्रमहरु केटीहरुका लागि सञ्चालन गरिरहेकी छिन् । बासुकला क्यानको सदस्य पनि हुन् । उनी वुमन इन इन्फोरमेशन टेक्नोलोजीको कार्यकारी सदस्य पनि हुन् ।
दिब्या दली
दिब्या दलीले आइसिटी क्षेत्रमा गत २२ वर्ष देखि काम गरिरहेकी छन् । उनी डिजिटल एज नेपालकी संस्थापक र प्रबन्ध निर्देशक पनि हुन् । उनले केवाईसी र एएमएल सोलुसन बनाउनका लागि काम गरिरहेकी छन् ।
उनले आफ्नो काममा गरेको योगदानले गर्दा ग्राहकहरुले सदैव खोजेजस्तै क्वालिटी प्रोडक्ट पाएका छन् । उनी एक दशक भन्दा बढी समयसम्म क्यानसँग पनि आवद्ध थिइन् ।
उनले वुमन इन इन्फरमेसन टेक्नोलोजीको मद्दतले आइसिटी क्षेत्रमा महिला सशक्तिकरण बढाउनका लागि पनि काम गरिरहेकी छन् ।
उनको लक्ष्य नेपाललाई आइसिटी क्षेत्रमा एकदमै सक्षम बनाउनु पनि रहेको छ । उनी एक उत्कृष्ट प्रेरक वक्ता पनि हुन् र उनकै कारणले पनि धेरै नेपाली चेलीहरुले आइटी क्षेत्रबाट देशको सेवा गर्ने लक्ष्य राखेका छन् ।
सोनिका मानन्धर
सोनिका मानन्धर एलेओईको सहसंस्थापक र सीटिओ हुन् । सानै उमेर देखि प्रविधिमा रुची रहेको र एस्ट्रोनट बन्न उनी काठमाडौं इन्जिनियरिङ कलेजमा बिईमा भर्ना भइन् ।
यसपछि नै सुरु हुन्छ, सोनिकाको आइटी करियर । २०११ मा कलेजको पढाइ सकिनै लाग्दा काठमाडौंमा रहेको माइक्रोसफ्ट इन्नोभेसन सेन्टर (एमआइसी)मा उनले काम गरेकी थिइन् । एप्स बनाउन सिकिन् । ह्याकथनका इभेन्टमा सहभागी हुन थालिन् ।
उनले विन्डोज फोनका लागि फ्लावर फाइन्डर एप पनि निर्माण गरेकी थिइन् । सिक्दै सिकाउँदै अघि बढेकी सोनिकाको आइटी करियरमा माइक्रोसफ्ट इन्नोभेसन सेन्टरले धेरै अर्थ राख्दछ ।
२०१५ मा युनिसेफमा कार्यरत उनकी एक जना मेन्टरले सिलिकन भ्यालीस्थित नासा एम्स रिसर्च सेन्टरमा हुने ग्लोबल सोलुसन्स प्रोग्राममा एप्लाई गर्न अनुरोध गर्दै एउटा इमेल पठाए । उनले अप्लाई गरेर सेलेक्ट पनि भईन तर पछि भिसा ग्लीचका कारणले उनको अवसर छुट्यो ।
२०१७ मा उनको निरन्तर प्रयास पछि नाम निस्कियो र यसपटक साँच्चिकै उनी नासा एम्समा पुग्न सफल भइन् ।
नेपालबाटै पहिलो पटक ग्लोबल सोलुसन्स प्रोग्राममा गएकी सोनिकाको करियरले अर्को युटर्न लियो । उनले त्यहाँबाट धेरै कुरा सिक्न सकिन् ।
३ भाग्यमानी टिममध्ये सोनिका र लाइबेरियाकी टिफानी टङको टिम एक थियो, जसले सिलिकन भ्यालीमा भएको एसयु ग्लोबल समिटमा २ हजारभन्दा बढी सि लेभलका कार्यकारीहरुका अगाडि ‘फार्म स्पेस’ विषयमा पिच गर्ने अवसर पाएको थियो ।
एक वर्षसम्म आइडियामा ब्रेनस्टोर्मिङ गरेका यी दुईले आफ्नो जागिर छोड्दै स्टार्टअप कम्पनी खोले, जसको नाम हो आलोई ।
उनीहरुले बिग डाटा प्लेटफर्मका विभिन्न प्रोजेक्टको क्रमशः योजना ल्याएका छन् । अहिले कम्पनीले एसएमएस प्लाटफर्ममा काम गरिरहेका छ, जसले साना, मझौला तथा मध्यम व्यवसाय गर्ने व्यक्तिहरुको आर्थिक क्रियाकलापमा सहजिकरण गर्नेछ ।
यो सिस्टममा रकम प्रदान गर्ने र पाउने पक्षबीच ‘रियल टाइम ट्रान्जेक्सन’ हुने र रकम हस्तान्तरणको उद्धेश्य सजिलै पहिचान भएकाले छिटो काम सक्ने र भविष्यमा आउने समस्यालाई पनि हल गर्दछ । कृषिका लागि रिग्रो आलोईबाट ल्याएका छन् ।
यो स्टार्टअप स्थापनाअघि एक वर्षसम्म एक कम्पनीको फिनटेक प्लाटफर्म लिड समेत गरेको अनुभव समेत सोनिकासँग छ । यति मात्रै होइन उनले ग्वाहली नामको एक गैरसरकारी संस्था पनि चलाइरहेकी छन् ।
दृष्टिविहीन बालबालिकालाई कम्प्युटर सिकाउने कार्यबाट सुरु भएको यो संस्थाले अहिले अल्पसंख्यक र पिछडिएका मानिसहरुलाई विभिन्न सहयोग गर्दै आएको छ ।
एकपछि अर्को योजना बुन्ने र त्यसलाई मूर्तरुप दिएरै छाड्ने स्वभावको कारण उनलाई सफलताले पछ्याइरहेको छ ।
शिला कंसाकार
नेपालको सूचना प्रविधि क्षेत्रको अग्रणी नाम हो, शिला कंसाकार । नेपाल प्रहरीमा कम्प्युटर शाखा स्थापना गर्न महत्वपूर्ण भूमिका खलेकी उनी पूर्व डीआईजी समेत हुन् । उनी सूचना प्रविधिमा महिला (वुमन इन इन्फोरमेसन टेक्नोलोजी) की उपाध्यक्ष हुन् ।
सिस्टम एनालिष्टको रूपमा प्रहरी निरीक्षकबाट सरकारी सेवा आरम्भ गरेकी कंसाकार आइसिटी क्षेत्रबाट डीआईजीसम्म पुग्ने पहिलो महिला हुन् ।
२८ वर्ष प्रहरी सेवामा बिताएकी कंसाकार सूचना प्रविधिमा महिलाहरूलाई आकर्षित गर्न र उत्प्रेरित गर्न तल्लिन छन् ।
सूचना प्रविधिका विभिन्न संघ, संस्थामा क्रियासिल उनले नेपाल प्रहरीलाई डिजिटल युगमा पुर्याउन महत्वपूर्ण योगदान दिएकी छन् ।