काठमाडौं । मेटाको सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्स (Threads) ले किशोर–किशोरी प्रयोगकर्ताको अनलाइन गतिविधिलाई सुरक्षित बनाउन अभिभावक तथा संरक्षकका लागि नयाँ 'पेरेन्टल सुपरभिजन' (Parental Supervision) फिचर ल्याउने भएको छ ।
नयाँ फिचरमार्फत अभिभावकहरूले आफ्ना बालबालिकाले थ्रेड्समा कति समय बिताएका छन् भन्ने जानकारी हेर्न सक्नेछन् । साथै, उनीहरूले दैनिक स्क्रिन टाइमको सीमा निर्धारण गर्न र रातिको समयमा 'स्लीप मोड' (Sleep Mode) सक्रिय गर्न पनि सक्नेछन्, जसले निश्चित समयमा एपको प्रयोग सीमित गर्न मद्दत गर्नेछ ।
यसका अतिरिक्त, अभिभावकहरूले बालबालिकालाई कसले ट्याग गर्न पाउने भन्ने नियन्त्रण गर्न सक्नेछन् । गोपनीयता (Privacy) र सामाग्री (Content) सम्बन्धी विभिन्न सुरक्षा सेटिङहरू पनि व्यवस्थापन गर्न सकिनेछ, जसले किशोर–किशोरीलाई सुरक्षित डिजिटल वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
मेटाका अनुसार यी नयाँ अभिभावक नियन्त्रण उपकरणहरू आगामी केही साताभित्र फेमिली सेन्टर (Family Center) मार्फत उपलब्ध गराइनेछन् । यसले थ्रेड्समा पहिलेदेखि रहेका किशोर किशोरी सुरक्षा सुविधालाई थप सुदृढ बनाउने कम्पनीको विश्वास छ ।
मेटाले आफ्ना प्लेटफर्महरूमा बालबालिका तथा किशोर किशोरीको सुरक्षित डिजिटल अनुभव सुनिश्चित गर्न अभिभावकलाई थप नियन्त्रण र निगरानीका सुविधा उपलब्ध गराउने रणनीतिअन्तर्गत यी नयाँ फिचर सार्वजनिक गर्न लागेको जनाएको छ ।
आईसीटी समाचार