काठमाडौं । वेब ब्राउजर अब मानिसले वेबसाइट चलाउन प्रयोग गर्ने उपकरणमा मात्र सीमित नरहने भएको छ । एआई एजेन्टले प्रयोगकर्ताको निर्देशनअनुसार आफैं वेबमा पुगेर काम गर्न थालेसँगै यस्ता एजेन्टलाई लक्षित गरेर नयाँ प्रकारका ब्राउजर विकास हुन थालेका छन् । यही प्रविधिको दौडमा क्लाउडफ्लेयर पनि प्रवेश गरेको छ ।
इन्टरनेट पूर्वाधारसम्बन्धी सेवा प्रदान गर्दै आएको क्लाउडफ्लेयरले एआई एजेन्टलाई केन्द्रमा राखेर ‘काइटसर्फ’ नामको क्लाउड-आधारित ब्राउजर सार्वजनिक गरेको छ । यो मानिसका लागि क्रोमको अर्को विकल्पका रूपमा ल्याइएको परम्परागत ब्राउजर भने होइन ।
काइटसर्फको मुख्य उद्देश्य विकासकर्तालाई एआई एजेन्टले वेबमा आवश्यक काम गर्न सक्ने वातावरण उपलब्ध गराउनु हो । उदाहरणका लागि, एजेन्टले वेबसाइट खोल्ने, विभिन्न पेजमा जाने, अनलाइन फारम भर्ने वा ब्राउजरमा आधारित अन्य कार्य गर्न सक्ने सफ्टवेयर निर्माण गर्न विकासकर्ताले छुट्टै ब्राउजर इन्जिन तयार गर्नुपर्ने छैन ।
ब्राउजरको परम्परागत अवधारणाभन्दा फरक
मानिसले प्रयोग गर्ने ब्राउजरमा ट्याब, थिम, एक्सटेन्सन र अन्य दृश्य सुविधालाई महत्व दिइन्छ । तर एआई एजेन्टका लागि तयार गरिएको काइटसर्फमा यस्ता सुविधाभन्दा फरक प्राविधिक पक्ष प्राथमिकतामा छन् ।
एआईले वेबमा काम गर्दा कति कन्टेक्स्ट आवश्यक पर्छ, कति टोकन खर्च हुन्छ, कार्यसम्पादन कस्तो हुन्छ र ठूलो संख्यामा एजेन्टलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषय महत्वपूर्ण हुने क्लाउडफ्लेयरको भनाइ छ ।
यसै कारण काइटसर्फलाई मानिसले प्रत्यक्ष प्रयोग गर्ने ब्राउजरभन्दा एआई सफ्टवेयरले प्रोग्राममार्फत नियन्त्रण गर्न मिल्ने पूर्वाधारका रूपमा विकास गरिएको हो ।
कम कम्प्युटिङ स्रोतमा वेब चलाउने लक्ष्य
क्लाउडफ्लेयरले काइटसर्फको प्रमुख विशेषतामध्ये कम कम्प्युटिङ स्रोतमा एआई एजेन्टलाई वेब प्रयोग गराउनु रहेको जनाएको छ । कम्पनीका अनुसार क्रोमियमसँग तुलना गर्दा स्क्रिनसट लिने र एचटीएमएल एक्स्ट्र्याक्ट गर्नेजस्ता एआई एजेन्टका सामान्य काममा काइटसर्फले कम सीपीयू र मेमोरी प्रयोग गर्छ ।
कम स्रोत आवश्यक पर्दा एउटै पूर्वाधारमा बढी एआई एजेन्ट सञ्चालन गर्न सकिने र त्यसबाट कम्प्युटिङ खर्च घटाउन सकिने कम्पनीको दाबी छ । काइटसर्फ क्लाउडफ्लेयरको ‘वर्कर्स’ सर्भरलेस प्लेटफर्ममै सञ्चालन हुन्छ । कम्पनीले यसको विकास सुरु गरेको करिब १२ सातामै प्रारम्भिक संस्करण सार्वजनिक गरेको जनाएको छ ।
अहिले काइटसर्फ बिटा चरणमा निःशुल्क प्रयोग गर्न सकिन्छ । क्लाउडफ्लेयरको ‘ब्राउजर रन’ सेवामार्फत यसको नेटवर्कमा चल्ने हेडलेस ब्राउजर इन्स्ट्यान्सलाई प्रोग्रामबाट नियन्त्रण गर्न सकिन्छ ।
एआई ब्राउजरका लागि सुरक्षा पनि चुनौती
एआई एजेन्टले वेबसाइटसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने भएकाले यसको सुरक्षा परम्परागत ब्राउजरको भन्दा फरक हुने देखिन्छ । विशेष गरी वेबसाइटभित्र राखिएको सामग्रीमार्फत एआईलाई गलत निर्देशन दिन सकिने ‘प्रम्प्ट इन्जेक्सन’ जस्ता आक्रमण नयाँ चुनौती बन्न सक्ने क्लाउडफ्लेयरले जनाएको छ ।
एआई एजेन्टले वेबसाइटमा देखिएको सामाग्रीलाई कसरी बुझ्छ, कुन निर्देशन पालना गर्छ र कुन कार्य गर्न अनुमति पाउँछ भन्ने विषयमा थप सुरक्षा तह आवश्यक पर्ने कम्पनीको भनाइ छ ।
विभिन्न प्रविधिको संयोजन
काइटसर्फ एउटै प्रविधिमा आधारित नभई विभिन्न ओपन तथा मोड्युलर कम्पोनेन्टलाई जोडेर तयार गरिएको छ । यसको रेन्डरिङका लागि ब्लिट्जको मोड्युलर रेन्डरिङ इन्जिन प्रयोग गरिएको छ भने सीएसएस पार्सिङमा फायरफक्सको ‘स्टाइलो’ प्रयोग गरिएको छ ।
त्यसैगरी जाभास्क्रिप्ट चलाउन रस्टमा आधारित ‘बोआ जेएस’ ईसीएमास्क्रिप्ट इन्जिन प्रयोग गरिएको छ । यीबाहेकका अधिकांश प्रक्रिया क्लाउडफ्लेयर वर्कर्सभित्रै सञ्चालन हुने कम्पनीले जनाएको छ ।
काइटसर्फ विकास गर्ने क्रममा क्लाउडफ्लेयरले ओपन सोर्स रस्ट हेडलेस इन्जिन ‘अब्स्क्युरा’बाट पनि प्रेरणा लिएको बताएको छ । काइटसर्फको पहिलो प्रुफ अफ कन्सेप्ट अब्स्क्युरालाई वर्कर्समा पोर्ट गरेर तयार गरिएको थियो ।
२ लाखभन्दा बढी वेब प्लेटफर्म परीक्षण
नयाँ प्रविधि भएपनि काइटसर्फले विभिन्न वेब प्लेटफर्मसँगको अनुकूलता परीक्षणमा उल्लेख्य प्रगति गरेको क्लाउडफ्लेयरको दाबी छ । कम्पनीका अनुसार यसले हालसम्म २ लाख १५ हजारभन्दा बढी वेब प्लेटफर्म टेस्ट सफलतापूर्वक पार गरिसकेको छ ।
कम्पनीले प्रत्येक साता थप सयौं परीक्षण गर्दै काइटसर्फको वेब कम्प्याटिबिलिटी सुधार गरिरहेको जनाएको छ । काइटसर्फले जाभास्क्रिप्ट फ्रेमवर्कको क्षमता तुलना गर्न प्रयोग हुने ‘टुडोएमभीसी’ जस्ता एप्लिकेसन, विकिपेडिया, ह्याकर न्युज, क्लाउडफ्लेयर ब्लग र क्लाउडफ्लेयर ड्यासबोर्डका अधिकांश भागसमेत सही रूपमा रेन्डर गर्न सक्ने कम्पनीको भनाइ छ ।
क्लाउडफ्लेयरको यो कदमले एआई एजेन्टका लागि छुट्टै वेब पूर्वाधार विकास गर्ने प्रतिस्पर्धा बढ्दै गएको संकेत गरेको छ । एआई एजेन्टले मानिसको सट्टा आफैं वेबसाइट प्रयोग गर्ने अवस्था विस्तार हुँदै जाँदा ब्राउजरको भूमिकासमेत परम्परागत वेब सर्फिङभन्दा बाहिर जाने सम्भावना देखिएको छ ।
आईसीटी समाचार