काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आर्थिक वर्ष २०८३/८४ को बजेट समग्रमा सन्तुलित र भविष्य निर्माणमुखी रहेको टिप्पणी गरेको छ । यद्यपि सवारी साधनमा थप करको व्यवस्था गरिएकाले अटोमोबाइल क्षेत्र प्रभावित हुने संकेत गरेको छ ।
एसोसिएसनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा प्रस्तुत गरेको बजेटप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्त:शुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लागू गर्ने निर्णयले बजारमा असर पार्ने जनाएको छ । नाडाका अनुसार नयाँ व्यवस्थाका कारण विद्युतीय मात्र नभई इन्धनबाट चल्ने सवारी साधनको मूल्यसमेत बढ्ने देखिएको छ ।
नाडाले सरकारले हालसम्म मोटरको पिक पावरका आधारमा भन्सार तथा महसुल निर्धारण गर्दै आएकोमा अब कारोबार मूल्यका आधारमा महसुल लगाउने व्यवस्था गरेको भन्दै यसले कर प्रणालीमा अनिश्चितता बढाउन सक्ने जनाएको छ । संस्थाले विद्युतीय सवारी साधनमा स्थिर र प्रोत्साहनमुखी कर नीति आवश्यक रहेको धारणा राखेको छ ।
एसोसिएसनका अनुसार मूल्यका आधारमा कर निर्धारण गर्ने तथा विभिन्न शीर्षकमार्फत अतिरिक्त शुल्क थप्ने व्यवस्थाले अधिकांश सवारी साधनको मूल्य वृद्धि हुने सम्भावना छ । मूल्य स्थिरता कायम राख्न नेपाली रुपैयाँको सट्टा अमेरिकी डलरलाई आधार मानेर कर निर्धारण गर्नु बढी व्यावहारिक हुने सुझाव पनि नाडाले दिएको छ ।
यद्यपि बजेटमा सडक पूर्वाधार निर्माणका लागि ठूलो रकम विनियोजन गरिनु सकारात्मक पक्ष भएको नाडाको भनाइ छ । अधुरा सडक तथा राजमार्ग निर्माण सम्पन्न गर्ने सरकारको प्रतिबद्धताले पूर्वाधार विकासमा गति आउने र त्यसको प्रत्यक्ष लाभ अटोमोबाइल क्षेत्रले समेत पाउने अपेक्षा गरिएको छ ।
नाडाले बजेट केही महत्वाकांक्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके देशको अर्थतन्त्र र अटोमोबाइल व्यवसाय दुवै गतिशील बन्न सक्ने विश्वास व्यक्त गरेको छ ।
आईसीटी समाचार