ओपनएआई खरिद गर्छु भन्दा एलन मस्कलाई स्याम अल्टम्यानले उल्टै एक्स किन्ने प्रस्ताव गरेका छन् । मस्कले ओपनएआईलाई ९७.४ अर्ब अमेरिकी डलरमा किन्ने प्रस्ताव गरेपछि त्यसको जवाफमा सीईओ अल्टम्यानले उक्त जवाफ दिएका हुन् ।
यो प्रस्ताव मस्कका कानूनी प्रतिनिधि मार्क टोबेराफमार्फत सोमबार ओपनएआईको सञ्चालक समितिसमक्ष पेश गरिएको थियो । तर, ओपनएआईले यस प्रस्ताव अस्वीकार गरिदिएको छ ।
स्याम अल्टम्यानले एलन मस्कको प्रस्ताव अस्वीकार गर्दै सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जवाफ दिदै भनेका छन्, 'धन्यवाद, तर यदि तपाईं चाहनुहुन्छ भने हामी ट्विटर (हाल एक्स) ९.७४ अर्ब डलरमा किन्न तयार छौं ।'
अल्टम्यानको यो जवाफ आएपछि मस्कले पुनः प्रतिक्रिया दिएका छन् । उनले अल्टम्यानलाई धोकेबाज भन्दै उनलाई ‘स्क्याम अल्टम्यान’ (ठग अल्टम्यान) को उपनाम दिएका छन् ।
किन किन्न चाहन्छन् मस्क ओपनएआई ?
एलन मस्क ओपनएआईका संस्थापक सदस्यहरूमध्ये एक हुन् । उनले सन् २०१५ मा सैम अल्टम्यानसँग मिलेर ओपनएआई स्थापना गरेका थिए ।
तर, सन् २०१९ मा मस्कले कम्पनी छोडेपछि ओपनएआईलाई नाफामुखी कम्पनी बनाइएकोमा उनले आलोचना गर्दै आएका छन् ।
मस्कको दाबी छ कि ओपनएआईलाई नाफा नकमाउने संस्थाका रूपमा सुरु गरिएको थियो, तर कम्पनीले माइक्रोसफ्टसँग साझेदारी गर्दै आफ्नो मूल उद्देश्य धोका दिएको छ ।