कीवर्डहरू -

इन्टरनेट सेवा दिन अमेजनले अन्तरिक्षमा प्रक्षेपण गर्‍यो २७ स्याटेलाइट, स्टारलिंकलाई टक्कर

इन्टरनेट सेवा दिन अमेजनले अन्तरिक्षमा प्रक्षेपण गर्‍यो २७ स्याटेलाइट, स्टारलिंकलाई टक्कर

अमेजनको काइपर प्रोजेक्ट अन्तर्गत पहिलो २७ वटा स्याटेलाइटहरू अन्तरिक्षमा प्रक्षेपण भएका छन्  । स्टारलिंकको जस्तै स्याटेलाइटबाट इन्टरनेट दिने उद्देश्यसहित पहिलो चरणमा अमेजनले २७ स्याटेलाटइ सार्वजनिक गरेको हो । 

यी स्याटेलाइटहरू अमेजनको प्रोजेक्ट काइपर अन्तर्गत प्रक्षेपण गरिन लागेको कुल ३ हजार २३६ स्याटेलाइटहरूमध्ये पहिलो हुन् । यो परियोजना सन् २०१९ मा सार्वजनिक गरिएको थियो ।

१० अर्ब डलर लागत लाग्ने अनुमान गरिएको यसको उद्देश्य संसारभरि उपभोक्ता, व्यवसाय र सरकारहरूलाई ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनु हो । यसअघि अप्रिल ९ मा प्रक्षेपणको पहिलो प्रक्षेपण प्रयास गरेको थियो तर खराब मौसमका कारण प्रक्षेपण प्रभावित भएको थियो ।

रोयटर्सका अनुसार काइपर अमेजनको अहिलेसम्मकै सबैभन्दा ठूलो सट्टाबाजी हो, जसले स्टारलिंकसँगै विश्वका ठूला टेलिकम सेवा प्रदायकहरू प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको छ । अमेजनले यस सेवालाई विशेषगरी ग्रामीण क्षेत्रहरू, जहाँ इन्टरनेट पहुँच निकै सीमित वा छैन नै, त्यस्ता ठाउँमा उपयोगी हुने बताएको छ ।

कम्पनीले सुरुवातमा सन् २०२४ को सुरुमा नै पहिलो चरणको प्रक्षेपण गर्ने लक्ष्य राखेको थियो । संयुक्त राज्यको संघीय सञ्चार आयोग (एफसीसी) ले अमेजनलाई सन् २०२६ को मध्यसम्ममा आफ्नो तारामण्डलको आधा हिस्सा अर्थात् १ हजार ६१८ स्याटेलाइटहरू प्रक्षेपण गर्नुपर्ने समयसीमा दिएको छ । तर सुरुवाती ढिलाइका कारण कम्पनीले त्यो म्याद पूरा गर्न विस्तारको अनुरोध गर्नुपर्ने हुनसक्छ भन्ने विश्लेषकहरूको भनाइ छ ।

यदि सबै योजना अनुसार अगाडि बढ्यो भने, कम्पनीले यसै वर्षको अन्त्यदेखि ग्राहकहरूलाई सेवा दिन सुरु गर्ने बताएको छ । यसै वर्षभित्र पाँच वटा काइपर मिशनहरू प्रक्षेपण हुन सक्ने बताइएको छ ।

अमेजनले सन् २०२० मा एफसीसीमा दर्ता गरेको फाइलिङ अनुसार, ५७८ वटा स्याटेलाइटहरूसँग कम्पनीले उत्तरी र दक्षिणी क्षेत्रहरूमा सेवा सुरु गर्न सक्ने छ र थप स्याटेलाइट प्रक्षेपणसँगै पृथ्वीको भूमध्य रेखातर्फ सेवा विस्तार गरिने छ ।