सन् २००० को दशकमा नेपालमा रेमिट्यान्स कम्पनीहरू खुल्न थाले । सन् २००१ मा आईएमई रेमिट स्थापना भएसँगै त्यसपछि क्रमशः रेमिट्यान्स कम्पनीहरू खुल्दै गए । रेमिट्यान्स कम्पनीहरूले विदेशमा कमाएको पैसालाई सिधैं नेपाल पठाउने सहज र सुरक्षित सुविधा दिए ।
त्यो बेला नेपालमा विस्तारै रेमिट्यान्स बुम हुँदै थियो । रेमिट्यान्स बुम हुँदै जाँदा सेवा प्रवाहलाई प्रविधिमैत्रीसँगै अझै सरल र सहज बनाउने चुनौती रेमिट्यान्स कम्पनीहरू सामु थियो ।
यो समस्यालाई अनुप शेरचनले नजिकबाट नियालिरहेका थिए । युक्रेनबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक अध्ययन गरेर नेपाल फर्किएको केही वर्षपछि शेरचनको दिमागमा रेमिट्यान्स कम्पनीका लागि सफ्टवेयर बनाउने आईडिया आयो ।
सन् १९९८ मा युक्रेनबाट अध्ययन पूरा गरी नेपाल आएका उनले केही वर्ष आईटी ट्रेनिङ इन्स्टिच्युट एनआईआईटीमा काम गरे । एनआईआईटीको कम्प्युटर ल्याबमा ‘ल्याब ब्वाई’को रूपमा काम सुरू गरेका उनी पछि सिनियर फ्याकल्टीसम्म बने । एनआईआईटीमा काम गर्दा धेरै कुराहरू सिकेको उनको अनुभव छ ।
एनआईआईटीमा काम गरिरहेकै बेला सन् २००२ तिर उनलाई एउटा अमेरिकी कम्पनी पायोनियर सोलुसनबाट रोजगारीको अफर आयो । उक्त प्रस्तावलाई स्वीकार गर्दै उनी त्यहाँ टेक्निल लिड भएर काम गर्न थाले । केही वर्षपछि पायोनियर सोलुसन पनि बन्द भयो । पायोनियर सोलुसनमा उनले करिब ३ वर्षमा त्यहाँ काम गरेका थिए ।
पायोनियर सोलुसन बन्द भएपछि अब के गर्ने भन्ने प्रश्नले उनलाई पछ्याइरह्यो । त्यसपछि रेमिट्यान्सलाई डिजिटलाइज गर्ने उद्देश्यले सन् २००५ फिनटेक कम्पनी इन्फिकेयर स्थापना गरे । खासमा इन्फिकेयर स्थापना हुनु अगाडि नै उनले रेमिट्यान्सलाई डिजिटलाइज गर्ने सफ्टवेयर बनाइसकेका थिए । ४-५ महिना लगातार रातको २-३ बजेसम्म बसेर सफ्टवेयर तयार गरेको अनुप बताउँछन् ।
‘दिनभर अमेरिकन कम्पनीमा काम गरेर रातको २-३ बजेसम्म रेमिट्यान्स सफ्टवेयरमा काम गर्थे,’ उनी भन्छन्, ‘सफ्टवेयर बनाउन ४-५ महिना लागेको थियो । अफिसबाट ६ बजे आएर रातको २-३ बजेसम्म काम गर्थे ।’
इन्फिकेयर स्थापना नहुँदै आईएमई र प्रभु रेमिटले समेत उक्त सफ्टवेयर प्रयोग गर्न थालिसकेका थिए । इन्फिकेयर स्थापना गरेपछि उनले यसलाई अझै व्यवस्थित रूपमा अगाडि बढाए । एउटा कोठाबाट सुरू भएको इन्फिकेयरले आज १५ देशका १५० बढी रेमिट्यान्स कम्पनीहरूलाई सेवा प्रदान गरिरहेको छ भने १०० बढीले रोजगारी पाएका छन् ।
उद्यमशीलतामार्फत देशको अर्थतन्त्र र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलेका अनुप शेरचनलाई सन् २०२३ मा आन्टरप्रेनर आइसिटी अवार्ड समेत प्रदान गरिएको थियो । अहिले नेपालमा भित्रिने रेमिट्यान्सको ६० प्रतिशत रकम इन्फिकेयरको सफ्टवेयरबाट आउने अनुपको भनाइ छ ।
अमेरिका जाने अवसर त्योगेर उद्यमी
भैरहवामा जन्मिएका शेरचनको हुर्काइ मध्यम परिवार भयो । जावलाखेलको एभीएम स्कुलमा विद्यालय तहको अध्ययन गरेका उनले प्लस टु साइन्स त्रिचन्द्र कलेजमा पढेका थिए । सुरूमा उनले एरोनोटिकल इन्जिनियरिङ पढ्ने सोच बनाएका थिए तर कम्प्युटर इन्जिनियरिङ पढे ।
१२-१३ वर्षको उमेरमा पहिलो पटक कम्प्युटर देखका शेरचन आज एक सफल आईटी उद्यमीको रूपमा पहिचान बनाउन सफल भएका छन् । सफल आईटी उद्यमी बन्न उनले धेरै संघर्ष गर्नुपरेको छ । सुरूमा एकजना साथी र अनुपले मिलेर इन्फिकेयर स्थापना गरेका थिए । तर १-२ वर्षसम्म पनि कम्पनीले कमाइ गर्न नसकेपछि साथी अर्को कम्पनीमा काम गर्न गए ।
इन्फिकेयर चलाउनकै लागि सुरूका केही वर्ष घरबाट पैसा माग्नु परेको शेरचनको अनुभव छ । ‘केही सम्भावना देखेर इन्फिकेयर सुरू गरेको थिए । मेहनत गरेर बनाएको सफ्टवेयर चटक्कै छोडेर हिड्न मन लागेन,’ उनले भने, ‘त्यो बेला भर्खर भर्खर बिहे पनि गरेको थियो । आफुसँग क्यास पनि थिएन । घरबाट धेरै पटक पैसा माग्नु परेको छ ।’
नेपालमै आफ्नै केही गर्ने हुटहुटीका कारण उनले अमेरिका जाने अवसर समेत त्योगे । पहिला बन्द भएको पायोनियर सोलुसनले नै काम गर्नका लागि अब अमेरिकामै आउन भन्ने प्रस्ताव पठायो । उनी गएनन् तर इन्फिकेयर सुरू गर्दाको साथीलाई पठाए ।
अमेरिकाको अवसर त्यागेकोमा उनलाई आज कुनै पछुतो छैन् । नेपालसहित मेलेसिया र अमेरिकामा इन्फिकेयरको कार्यालय नै छ । तर नेपालबाटै सबै कन्ट्रोल हुन्छ । इन्फिकेयरसँग अहिले रेमिट्यान्स सफ्टवेयर आई रेमिट एक्स, एएमल/सिएफ्टी सफ्टवेयर आई केयर र डकुमेन्ट म्यानेजमेन्ट सिस्टम स्मार्ट डकुमेन्ट छ ।
अब इन्फिकेयरलाई विश्वव्यापी चिनाउने काममा लाग्ने योजना अनुपको छ । ‘अब इन्फिकेयरलाई ग्लोबल्ली चिनाउनु छ । गल्फ तिर पनि सेवा विस्तार गर्दै छौं,’ शेरचन भन्छन्, ‘भइरहेका प्रडक्टमाथि फोकस गरेर अबको २-३ वर्षमा रोजगारी दोब्बर बनाउने योजना छ ।’