एप्पलले यस महिनाको सुरुमा आइफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८.१ अपडेट रोल आउट गरेको थियो । यसको साथसाथै, कम्पनीले डिसेम्बरमा आईओएस १८.२ अपडेट पनि रिलिज गर्ने घोषणा गरेको थियो ।
रिपोर्टअनुसार, एप्पलले आईओएस १८.२ अपडेट ९ डिसेम्बरमा रोल आउट गर्न सक्ने सम्भावना छ । यो दाबी म्याकरुमर्सले बेलायती क्यारियर ईईमार्फत गरेको छ । यद्यपि, हालसम्म एप्पलले ९ डिसेम्बरमा आउने नयाँ अपडेटको बारेमा कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन् ।
एप्पलको आउँदै गरेको आईओएस १८.२ अपडेटसँगै कम्पनीले थुप्रै उन्नत एप्पल इन्टेलिजेन्स विशेषताहरू रोल आउट गर्नेछ । यहाँ हामी तपाईंलाई आईओएस १८.२ अपडेटसँग आउने केहि प्रमुख विशेषताहरूको बारेमा जानकारी दिँदैछौं ।
इमेज प्लेग्राउन्ड
एप्पलको नयाँ जेन एआई विशेषतासँगै आइफोन प्रयोगकर्ताहरूले आफ्नो सिर्जनशीलता प्रयोग गर्दै टेक्स्ट प्रम्प्टको सहायताले नयाँ कस्टोमाइज्ड ईमेज सिर्जना गर्न सक्नेछन् । रिपोर्टअनुसार, इमेज प्लेग्राउन्डलाई नोट्स जस्ता एप्लिकेसनसँग एकीकृत गरिनेछ।
जेनमोजी
एप्पलले आइफोन प्रयोगकर्ताहरूका लागि अनुकूलित इमोजीहरू सिर्जना गर्न जेनमोजी एडिटर प्रस्तुत गरेको छ । यी व्यक्तिगत इमोजीहरू प्रयोगकर्ताहरूले सिधै इमोजी किबोर्डमा समावेश गर्न सक्नेछन् ।
च्याट जीपीटी समर्थन
एप्पलले जनरेटिभ एआईका लागि ओपनएआईसँग साझेदारी गरेको छ । यस साझेदारीका कारण आइफोन प्रयोगकर्ताहरूले च्याटजीपीटी प्रयोग गर्न सक्नेछन् । साथै, रिपोर्टअनुसार, एप्पलको भ्वाइस सहायक सिरीलाई पनि च्याट जीपीटीसँग एकीकृत गरिँदैछ ।
आईओएस १८.२ मा पाइने नयाँ एप्पल इन्टेलिजेन्स विशेषताहरूको साथसाथै, कम्पनीले आईओएस १८.१ का केही विशेषताहरूमा पनि सुधार गर्नेछ । यसमा फोटो एप, क्यामरा नियन्त्रण विशेषताहरू लगायत छन् । साथै, एप्पलले कारप्ले आइकनलाई पनि रिफ्रेश गर्दैछ ।
फोटो एप सुधार
अपडेटसँगै फोटो एपमा कम्पनीले नयाँ विशेषताहरू र कार्यक्षमताहरू थप्नेछ । यस अपडेटको माध्यमबाट प्रयोगकर्ताहरू एपमा अझ राम्रो तरिकाले फोटोहरू व्यवस्थापन गर्न सक्नेछन् ।
क्यामरा नियन्त्रण परिमार्जन
नयाँ क्यामरा नियन्त्रण सेटिङ पनि प्रस्तुत गरिन सक्ने सम्भावना छ । यी सेटिङहरूसँगै प्रयोगकर्ताहरूले क्याप्चर बटनमा अझ बढी क्यामरा नियन्त्रण पहुँच गर्न सक्नेछन्् ।
कारप्ले आइकन
एप्पल कारप्ले एपको आइकनलाई पनि रिफ्रेश गर्दैछ, जसलाई नयाँ डिजाइनमा ल्याउन सकिनेछ ।