एप्पलको हेल्थ एपमा एआईमा ठुलो सुधार आउने भएको छ । ब्लूमबर्गका मार्क गुर्मनको पावर अन न्यूजलेटर अनुसार, एप्पल प्रोजेक्ट मलबेरी कोडनेमअन्तर्गत हेल्थ एपको अझ विस्तृत संस्करणमा काम गरिरहेको छ ।
यसमा एक एआई एजेन्ट समावेश गरिनेछ, जसले केही हदसम्म चिकित्सकको जस्तै काम गर्नेछ र व्यक्तिगत हेल्थ कोचको रूपमा कार्य गर्नेछ ।
गुर्मनका अनुसार, यो एआईले प्रयोगकर्ताको स्वास्थ्य डेटाको आधारमा जीवनशैली सुधार्ने सल्लाह दिनेछ। साथै, एपमा वास्तविक चिकित्सकहरूद्वारा तयार पारिएको स्वास्थ्य सम्बन्धी शिक्षामूलक भिडियो पनि समावेश गरिनेछ।
नयाँ हेल्थ एपले खानपान ट्र्याकिङमा बढी ध्यान दिनेछ । यसबाहेक, मोबाइलको क्यामेरा प्रयोग गरेर वर्कआउटका लागि सही ‘फर्म करेक्शन’ टिप्स दिने सुविधा पनि रहन सक्छ । यो नयाँ सेवा अनौपचारिक रूपमा हेल्थ प्लस भनेर चिनिने छ । गुर्मनका अनुसार, आईओएस १९.४ को साथ अर्को वसन्त वा ग्रीष्म ऋतुमा आउन सक्ने छ ।
हाल, एप्पलसँग चिकित्सकहरूको एक टिम छ, जसको डेटा एआई एजेन्टलाई तालिम दिन प्रयोग गरिँदैछ । साथै, एप्पलले ओकल्याण्ड, क्यालिफोर्निया नजिकै एउटा स्टुडियो खोल्ने योजना बनाएको छ, जहाँ स्वास्थ्य सम्बन्धी कन्टेन्ट फिल्मिङ हुनेछ ।
गुर्मनका अनुसार, एप्पल ‘प्रसिद्ध डाक्टर’ खोज्दैछ, जो हेल्थ प्लसको मुख्य अनुहार बन्न सक्छ । त्यसैले, हेल्थ प्लस कुनै चर्चित चिकित्सकसँगै लन्च भएमा आश्चर्य मान्नु पर्ने छैन् ।