कीवर्डहरू -

इनबक्स भरियो ? जीमेलका यी फिचर प्रयोग गरेर हटाउनुहोस् अनावश्यक इमेल

इनबक्स भरियो ? जीमेलका यी फिचर प्रयोग गरेर हटाउनुहोस् अनावश्यक इमेल

काठमाडौं । डिजिटल प्रविधिको तीव्र विकाससँगै जीमेल आज व्यक्तिगत तथा व्यावसायिक सञ्चारको प्रमुख माध्यम बनेको छ । गुगलद्वारा प्रदान गरिएको यो इमेल सेवा विश्वभर करोडौँ प्रयोगकर्ताले दैनिक रूपमा प्रयोग गर्दै आएका छन् ।

पछिल्ला वर्षहरूमा जीमेल प्रयोगकर्ताले प्राप्त गर्ने अनावश्यक इमेल (Spam तथा Promotional Emails) को संख्या बढ्दै गएको छ । यसले इनबक्स भरिने, महत्वपूर्ण इमेल छुट्ने र डिजिटल सुरक्षा जोखिम बढ्ने समस्या सिर्जना गरिरहेको छ ।

यस समस्यालाई समाधान गर्न गुगलले जीमेलभित्रै उपलब्ध विभिन्न सुविधामार्फत अनावश्यक मेसेज नियन्त्रण र व्यवस्थापन गर्ने विकल्प दिएको छ । यी सुविधाको सही प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो इनबक्स सफा, व्यवस्थित र सुरक्षित राख्न सक्छन् ।

अनावश्यक इमेल हटाउने सरल तरिका
अनावश्यक इमेल व्यवस्थापन गर्ने सबैभन्दा सजिलो उपाय भनेको त्यस्ता मेसेजलाई नियमित रूपमा हटाउनु हो । यसका लागि प्रयोगकर्ताले जीमेल खोलेर आवश्यक नभएका इमेल चयन गर्ने र माथि देखिने Delete (डिलिट) विकल्पमा क्लिक गर्ने गर्नुपर्छ । नियमित रूपमा इनबक्स सफा गर्दा महत्वपूर्ण इमेल खोज्न सजिलो हुन्छ ।

Unsubscribe गरेर अनावश्यक सदस्यता हटाउने
धेरै अनावश्यक इमेलहरू विभिन्न वेबसाइट, अनलाइन सेवा वा न्यूजलेटरबाट आउने गर्छन् । यस्ता इमेलको तलतिर प्राय: Unsubscribe विकल्प उपलब्ध हुन्छ । त्यसमा क्लिक गरेर प्रयोगकर्ताले सम्बन्धित सेवा वा वेबसाइटबाट आउने अनावश्यक इमेल रोक्न सक्छन् ।

Filter प्रयोग गरेर इमेल व्यवस्थापन गर्ने
जीमेलमा उपलब्ध Filter सुविधाले निश्चित प्रकारका इमेललाई स्वचालित रूपमा व्यवस्थापन गर्न सहयोग गर्छ । प्रयोगकर्ताले प्रेषक, विषय वा अन्य मापदण्डका आधारमा फिल्टर बनाएर इमेललाई छुट्टै फोल्डरमा राख्न वा आवश्यक नभएका मेसेज नियन्त्रण गर्न सक्छन् ।

सुरक्षा सचेतना अपनाउनु आवश्यक
साइबर सुरक्षा विज्ञहरूले अनावश्यक इमेल व्यवस्थापनसँगै डिजिटल सुरक्षा सावधानी अपनाउन पनि सुझाव दिएका छन् । विशेष गरी अपरिचित इमेलमा आएका लिङ्क क्लिक नगर्ने, व्यक्तिगत विवरण उपलब्ध नगराउने र पासवर्ड वा संवेदनशील जानकारी कसैसँग पनि साझा नगर्न उनीहरूले आग्रह गरेका छन् । यस्ता सावधानी अपनाउँदा फिसिङ, स्क्याम तथा अन्य साइबर जोखिमबाट बच्न सकिन्छ ।