कीवर्डहरू -

बागमती प्रदेशले अब स्मार्ट ड्राइभिङ लाइसेन्स आफै छाप्ने

बागमती प्रदेशले अब स्मार्ट ड्राइभिङ लाइसेन्स आफै छाप्ने

बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाई आफै गर्ने भएको छ । 

शनिबार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बागमती प्रदेशको सवारी चालक अनुमतिपत्र स्मार्ट कार्ड छपाई प्रणाली विकासको लागि बजेट व्यवस्था गरेको बताएका हुन् । 

‘संघीय सरकारसँगको समन्वय र सहकार्यमा चालक अनुमति पत्रको स्मार्ट कार्ड छपाई मेसिन खरिद गरी स्मार्ट कार्ड छपाई तथा वितरण प्रक्रिया प्रदेशबाटै हुने व्यवस्था मिलाएको छु,’ उनले भने, ‘बागमती प्रदेशको सवारी चालक अनुमतिपत्र स्मार्ट कार्ड छपाई प्रणाली विकासको लागि बजेट व्यवस्था गरेको छु ।’

यस्तै बजेटमार्फत निजी क्षेत्रसगँको सहकार्यमा एकीकृत अटोवर्कशप (अटोल्याण्ड) निर्माण र सवारी साधनको मर्मतका लागि आवश्यक औजारहरु रहने टुल बैंक स्थापना कार्यलाई अघि बढाउन आवश्यक व्यवस्था गरिएको छ । 

सवारी चालक अनुमतिपत्रको परीक्षालाई थप व्यवस्थित बनाउन निजी क्षेत्रको सहकार्यमा ट्रायल सेन्टरहरूलाई क्रमशः स्वचालित प्रणालीमा लैजाने व्यवस्था मिलाएको समेत उनले बताए । 

यस बाहेक स्थानीय तह र निजी क्षेत्रसँगको साझेदारीमा प्रदेशका मुख्य सहर र राजमार्गहरुमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन स्थापना गरी सञ्चालनमा ल्याउने कार्यलाई निरन्तरता दिन बजेट व्यवस्था गरिएको छ ।