कीवर्डहरू -

ई-कमर्स बिजनेसका लागि उपयोगी प्लेटफर्म ब्ल्यांकसर, वेबसाइट निर्माणदेखि लजिष्टिकसम्म सघाउने

ई-कमर्स बिजनेसका लागि उपयोगी प्लेटफर्म ब्ल्यांकसर, वेबसाइट निर्माणदेखि लजिष्टिकसम्म सघाउने

नेपालमा पनि पछिल्लो समय ई-कमर्सको प्रयोग बढ्दै गएको छ । भविष्यमा ई-कमर्सको प्रयोग झनै बढने निश्चित नै छ । 

उपभोक्तालाई मन परेको सामग्री उपभोक्ताकै घरदैलोमा पुर्‍याउनु ई-कमर्सको विशेषता हो । बजारमा नयाँ नयाँ ई-कमर्स आउने क्रम चलिरहेको छ । 

यस्तो अवस्थामा ई-कमर्सका लागि वेबसाइट, डिजिटल भुक्तानी, अर्डर व्यवस्थापन, एनालाइटिक्स, लजिष्टिक सेवाहरू आवश्यक पर्छ । साना साना ई-कमर्सलाई ‘इन हाउस’ नै यस्तो प्रणाली विकास गर्न धेरै खर्चिलो हुन सक्छ । 

यही समस्यालाई डेढ वर्षदेखि समाधान गर्दै आएको छ, ब्ल्यांकसर । ब्ल्यांकसर ई-कमर्स सञ्चालनका लागि सहज बनाउने एउटा प्लेटफर्म हो । 

ब्ल्यांकसर व्यवस्थित रूपमा ई-कमर्स सञ्चालन गर्न सघाउने प्लेटफर्म भएको सहसंस्थापक तथा सीईओ प्रशान्त फुँयाल बताउँछन् । 

ब्ल्यांकसर एउटा यस्तो प्रणाली हो, जसले एकैठाउँबाट वेबसाइट बनाउने, अर्डर व्यवस्थापन गर्ने, इन्भेन्ट्री व्यवस्थापन, अनलाइन पेमेन्ट, लजिष्टिक, एनालाइटिक्स, ट्रयाकिङ लगायत ई-कमर्सलाई चाहिएको सुविधा प्रदान गर्दछ ।

डेढ वर्षअघि प्रशान्त फुँयाल र किरण न्यौपानेले ब्ल्यांकसर सुरू गरेका थिए । ब्ल्यांकसर सुरू गर्नुभन्दा अगाडि प्रशान्तले मोबाइल स्किन बनाउने ब्राण्ड र्‍याप्सी सञ्चालन गरिरहेका थिए । 

त्यसबेला र्‍याप्सीको वेबसाइट बनाउनु पर्ने थियो । तर साना साना ई-कमर्सका लागि चाहिने सबै सेवाहरू एकीकृत भएको एउटा सजिलो प्लेटफर्म थिएन । सिस्टेम्याटिक तरिकाबाट काम नहुँदा धेरै समस्याहरू भोग्नुपर्‍यो । प्रशान्तको उद्यमी माइन्डसेटले यहाँ अवसर देख्यौं । त्यसपछि प्रशान्त र किरणले सुरू गरे 'ब्ल्यांकसर' । 

सुरूमा मिनिमल भायबल प्रडक्ट (एमभीपी) को रूपमा थोरै सुविधाहरूसहित सार्वजनिक गरेको प्रशान्तले बताए । ‘ब्ल्यांकसरलाई सुरूमा एमभीपीको रूपमा थोरै सुविधासहित सार्वजनिक गरेका थियौं, जसमा कस्टमाइजेनस, पेमेन्ट इन्टिग्रेसन, लजिष्टिकको सुविधा थिएन । अर्डर व्यवस्थापनको लागि पनि बेसिक मात्रै सुविधा थिए,’ उनले आईसीटी समाचारसँग भने, ‘अहिले हामीले धेरै सुविधाहरू थप गरिसकेका छौं ।’ 

सुरूमा ब्ल्यांकसर निःशुल्क थियो । प्रयोगकर्ताको प्रतिक्रियाको आधारमा थप सुविधाहरू थप गर्दै गयो र अहिले सःशुल्क भर्सन समेत उपलब्ध छ ।

निःशुल्कमा निश्चित सुविधा पाइने छ भने प्रिमियममा आफुले चाहे अनुसार सुविधा पाउन सकिन्छ । ब्ल्यांकरसले ३ महिना र १२ महिनाको प्याकेज वितरण गर्दै आएको छ । वार्षिक सब्सक्रिप्सन लिँदा २५ प्रतिशत छुट समेत पाइने छ । 

यसमा डिजिटल भुक्तानीका लागि फोनपे, मास्टरकार्ड, इसेवा, भिसा लगायतका प्लेटफर्म एकीकृत गरिएको छ भने आफ्नो कस्टम डोमेन समेत थप गर्न सकिने छ । 

प्रिमियम सब्सक्रिप्सन साना बिजनेस तथा इन्फ्लुएन्सरका लागि उपयोगी रहेको र प्लाटिनम सब्सक्रिप्सन ठूला बिजनेस र ग्रोइङ बिजनेसका लागि भएको कम्पनीले जानकारी दिएको छ ।ब्ल्यांकसरमा अहिले १५ हजार बढी प्रयोगकर्ता छन् । तीमध्ये अधिकांश निःशुल्क प्रयोगकर्ता छन् भने ४०० बढी प्रिमियम ग्राहक रहेका छन् । 

प्रशान्त फुँयाल

एउटा ई-कमर्स सञ्चालनका लागि चाहिने प्राविधिक काम सबै ब्ल्यांकसरले केही समयमै गरिदिने छ । ब्ल्यांकसरमा भएको ग्राहकको डेटा एकदमै सुरक्षित रहेको उनको दावी छ । यसको प्रत्याभूति गर्न कम्पनीले ग्राहकको डेटा अन्त कतै पनि प्रयोग नगर्ने कन्ट्रयाक्ट समेत गरेको छ । 

ब्ल्यांकसरप्रयोग गरेर अप्रेसनलाई अझै इफिसिन्ट बनाउन सकिने कम्पनीले जनाएको छ । नेपालको ई-कमर्स उद्योगलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न कानुनको आवश्यकता भएको उनी बताउँछन् । 

‘ई-कमर्स व्यवस्थित छैन् । यसका लागि आवश्यक कानुन बनाउनु पर्छ,’ उनी भन्छन्, ‘पैसा आइरहेको छ, गइरहेको छ तर ट्रयाकिङ छैन् । ई-कमर्समा सम्भावना धेरै छ ।’ 

अब भविष्यमा ब्ल्यांकसरले थप सेवाहरू समेत ल्याउने योजना बनाएको छ । एसएमएस र अकाउन्टिङको सुविधा थप गर्ने योजना कम्पनीको छ । 

ई-कमर्स गर्न चाहनेहरूले सिस्टममा कुनै दिमाग लगाउनु नपरोस् भन्ने उद्देश्यका साथ सबै कुरा सिंगल प्लेटफर्ममा ल्याउन खोजिरहेका प्रशान्तले बताउँछन् । सन् २०२३ मा ब्ल्यांकसरले राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड समेत जितेको थियो ।