ट्रम्प सरकारले आफ्नो ट्यारिफ नीतिमा ठूलो यु–टर्न लिँदै स्मार्टफोन र ल्यापटपजस्ता इलेक्ट्रोनिक्स सामानहरूलाई ट्यारिफको दायराबाट बाहिर राखेको छ ।
ट्रम्प सरकारमाथि यी कम्पनीहरूको दबाब भएको बताइएको छ । यो निर्णयपछि अब अर्को घोषणा नभएसम्म इलेक्ट्रोनिक्स सामानहरूको मूल्य बढ्ने चिन्ता टर्नेछ । यसबाट एप्पल र सामसङ जस्ता कम्पनीहरूलाई फाइदा हुनेछ ।
यूएस कस्टम्स एन्ड बोर्डर प्रोटेक्शनबाट प्राप्त जानकारी अनुसार स्मार्टफोन, ल्यापटप, हार्ड ड्राइभ, फ्ल्याट–प्यानल मनिटर र केही चिप्सहरूलाई बढाइएको ट्यारिफबाट छुट दिइएको छ । त्यसैगरी, सेमिकन्डक्टर उत्पादन गर्ने मेसिनहरू पनि यस दायराबाट बाहिर राखिएको छ । यसको अर्थ यी वस्तुहरूमा चीनका लागि १४५ प्रतिशत र अन्य देशहरूका लागि १० प्रतिशतको बेसलाइन ट्यारिफ लाग्ने छैन् ।
यसअघि कम्पनीहरू मात्र होइन, सर्वसाधारण पनि स्मार्टफोन र ल्यापटपजस्ता वस्तुहरूका मूल्य धेरै गुणा बढ्ने डरमा थिए । ट्रम्प सरकार आफ्नो यु–टर्नलाई यसरी प्रस्तुत गर्दैछ कि उनीहरूको उद्देश्य घरेलु उत्पादनलाई प्रवद्र्धन गर्नु हो ।
यो निर्णयले यो पनि स्पष्ट गरिदिएको छ कि अमेरिकी सरकार आफैं पनि स्वीकार गर्दैछ कि एशिया नै सप्लाई चेन हब हो र यसलाई एकै रातमा अमेरिका सार्न सकिँदैन। जानकारीका अनुसार ९० प्रतिशत आईफोन चीनमा निर्माण हुन्छन् । ट्रम्प सरकारको ट्यारिफ घोषणा भएपछि अमेरिका भित्र आईफोनजस्ता डिभाइसहरू दोब्बर महँगा हुने डर थियो ।
विश्लेषकहरूले यस निर्णयले अमेरिकामा आर्थिक मन्दीको खतरा बढेको बताउन थालेका थिए । डोनाल्ड ट्रम्प अमेरिकी निर्माण उद्योग म्यान्युफ्याक्चरिङलाई प्रवद्र्धन गर्ने नीतिसहित राष्ट्रपति बनेका थिए ।
उनको ट्यारिफ नीतिको उद्देश्य अमेरिकी उद्योगलाई सहयोग गर्नु थियो । उनले धेरैजसो देशहरूमाथि भारी ट्यारिफ लगाउने घोषणा गरेका थिए । चीनमाथि सबैभन्दा धेरै १४५ प्रतिशत ट्यारिफ लगाइएको थियो । ट्रम्पको धारणा थियो कि यसले अमेरिकामा रोजगारी बढ्छ र उत्पादन प्रवर्द्धन हुन्छ ।
तर अहिलेसम्म चीन अमेरिका सामु झुकेको छैन् । चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा ८४ प्रतिशत ट्यारिफ लगाएको छ ।
यस किसिमको नयाँ ट्रेड वार (व्यापार युद्ध) बाट अर्थतन्त्रहरू मात्र होइन, सामान्य जनतालाई पनि महँगीको बोझ पर्नेछ ।
अर्को कुनै घोषणा नभएसम्म स्मार्टफोन र ल्यापटपजस्ता डिभाइसहरूमा मूल्यवृद्धिको डर हटेको छ ।
तर विशेषज्ञहरू भने अवस्था अझै स्थिर नभएको र कुनै पनि बेला नयाँ निर्णय आउन सक्ने बताउँछन् ।
अमेरिकाभित्र ट्रम्पको ट्यारिफ नीतिलाई लिएर विरोध प्रदर्शनहरू पनि सुरू भइसकेका छन् ।