काठमाडौँ महानगरपालिका क्षेत्रभित्र आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) भएका अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन, फेसियल रिकग्निजेसन सिस्टम सीसीटिभी क्यामरा जडान भएका छन् ।
नेपाल प्रहरीसँगको सहकार्य काठमाडौँ महानगरपालिकाले एआई सुविधा भएका सीसीटीभी क्यामेरा जडान भएका हुन् ।
३ ठाउँमा एनएफपीआर (सवारी साधन र चालक सम्बन्धी दृश्य तथा विवरण दिने) र १० ठाउँमा एफआरएस (घटनासँग सम्बन्धित व्यक्तिका बारेमा विवरण र दृश्य दिने) क्यामरा राखिएका छन् ।
यससँगै सहरमा राखिएका सीसीटिभीको संख्या ३३५ पुगेको छ । २०७५ फागुन १५ गते सम्झौता गरेर आ. व. २०७६/०७७ मा २५ वटा पीटीजेड (प्यान, टिल्ट, जुम) र १४० वटा फिक्स्ड गरेर १६५ वटा र २०८० बैशाख ७ गते सम्झौता गरेर चालु आर्थिक बर्ष (२०८०÷०८१) मा ५ वटा पीटीजेड, १४५ वटा फिक्स्ड, १० वटा एएनपीआर र १० वटा एफआरएस गरी १७० वटा क्यामरा जडान गरिएका हुन् । अघिल्लो सम्झौताबमोजिम महानगरपालिकाले नेपाल प्रहरीलाई ३ करोड रुपैयाँ प्रदान गरेको थियो । चालु आर्थिक बर्षमा ६ करोड रुपैयाँ प्रदान गरिनेछ । जसमध्ये पहिलो किस्तामा ३ करोड रुपैयाँ दिइसकिएको छ ।
रात्रीकालीन दृश्य समेत स्पष्ट हेर्न सकिने क्षमताका क्यामरा जडान गर्ने, रात्रीकालीन उज्यालोका लागि सडक बत्ती व्यवस्था गर्ने, निगरानी कक्षका लागि छुट्टै वैकल्पिक पावर सिस्टमको व्यवस्था गरिएको छ ।
प्याकेज १ अन्तर्गत ५ वटा पीटीजेड र १४५ वटा फिक्स्ड क्यामरा जडान भएका छन् । यस प्याकेजअन्तर्गत ठमेल क्षेत्रमा ५ वटा पीटीजेड र १२३ वटा फिक्स्ड क्यामरा जडान गरिएका छन् । यस्तै नयाँ सडक क्षेत्रमा ११ वटा र रानीपोखरी आसपास क्षेत्रमा ११ वटा क्यामरा जडान गरिएका छन् ।
यस्तै प्याकेज २ अन्तर्गत कोटेश्वर भैरव मन्दिर परिसरमा ४ वटा, महाराजगञ्जमा ४ वटा र नयाँ बसपार्क प्रवेश क्षेत्रमा २ वटा गरी १० वटा एएनपीआर क्यामरा जडान भइसकेको छन् । यस्तै शान्तिबाटिका, बौद्ध गेट, पशुपति मन्दिर मुख्य प्रवेश द्वार, नयाँ बसपार्क टिकट काउन्टर, केन्द्रीय कारागार, न्युरोड गेट, काठमाडौँ मल, ठमेल, विमानस्थल मुल गेट, सिंहदरबार दक्षिण ढोकामा १/१ वटा गरी १० स्थानमा एफआरयस (फेसियल रिकोग्निजेसन सिस्टम) क्यामरा जडान भएका छन् ।
एनएफपीआर र एफआरएस एआइ (आर्टिफिसियल इन्टेलिजेन्ट) फिचर भएका क्यामरा हुन् । यी क्यामराले सवारी साधनको प्रकार, नम्बर प्लेट, रङ्ग, गाडी गुडेको रुट, चालकको अनुहार पहिचान गर्छ । लेन क्रस, वन वेमा प्रवेश, ट्राफिक नियम उलङ्घन गर्ने सवारी, अनधिकृत ठाउँको पार्किङ् पहिचान र संकेत गर्छ । यस्तै व्यक्तिहरुको अनुहार पहिचान गर्छ । कुनै व्यक्तिको खोज्नु पर्यो भने यसले व्यक्ति हिँडेको वा पुगेको ठाउँ देखाउँछ । यस्ता प्रणालीले सहरी आवागमन नियन्त्रण गर्न, अपराध नियन्त्रण गर्न, हराएका व्यक्ति पत्ता लगाउन, भागेका सवारी साधन खोज्न तथा सवारी व्यवस्थापनमा निगरानी गर्न सहज हुन्छ ।
यसपछि गौशाला, चावहिल, बौद्ध, हात्तीसार, रातोपुल, गौशाला, विमानस्थल, गौशाला, पुरानो वानेश्वर, नयाँ वानेश्वर, सोह्रखुट्टे, बालाजु, कलंकी, चावहिल रुटमा भएका क्यामरा मिलान र व्यवस्थापन गर्नुपर्नेछ ।
प्रहरी कन्ट्रोल रुमबाट निगरानी गरिने सीसीटिभीहरु क्रमशः एआइमा आधारित बनाउँदै लगिएको छ । यस अघि भिडियो म्यानेजमेन्ट सिस्टम (भीएमएस) मा आधारित थिए । अहिले १ हजार ३५२ वटा क्यामराको दृश्यको दृश्य कन्ट्रोल रुमबाट निगरानी हुन्छ ।
कुनै घटना भयो भने सीसीटिभी क्यामरामा कैद भएका दृश्य उपलब्ध गराउन निवेदन आउने गरेका छन् । सवारी दुर्घटना, सामान छुटेको हराएको, चोरी भएको, लुटपाट भएको, सवारी साधन हराएको, मानिस हराएको घटनाका दृश्य माग हुनेछ गरेका छन् । प्रचलित कानुनले उपलब्ध गराउन मिल्ने खालका दृश्य उपलब्ध गराउने गरिएको छ ।