काठमाडौं । चीनले याङ्त्जे नदीमुनि निर्माण गरिएको आफ्नो पहिलो उच्चगतिको रेलमार्ग सुरुङको निर्माण सम्पन्न गरेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार यो उपलब्धिले चीनको भित्री भूभागलाई तटीय क्षेत्रसँग जोड्ने उच्चगतिको रेल सञ्जाल विस्तारमा महत्वपूर्ण कोसेढुङ्गा साबित भएको छ ।
नयाँ रेल सुरुङ ११.९ किलोमिटर लामो छ । चाइयुआनबा याङ्त्जे नदी रेलमार्ग सुरुङले चोङछिङका दुई जिल्लालाई जोड्नेछ । साथै, यो दक्षिणपश्चिमी महानगर चोङछिङ र दक्षिणपूर्वी फुजियान प्रान्तको सियामेन सहरलाई जोड्ने उच्चगतिको रेलमार्गको महत्वपूर्ण खण्ड हुनेछ ।
पहाड, आवासीय क्षेत्र तथा नदीको पिँधमुनिबाट सुरुङ निर्माण गर्नुपरेकाले यस परियोजनाले जटिल भौगोलिक बनावट र घना सहरी वातावरणका कारण विभिन्न प्राविधिक चुनौतीहरूको सामना गर्नुपरेको थियो ।
सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार निर्माण कम्पनी चाइना रेलवे १४औँ ब्युरो ग्रुपले ‘चाङजियाङ’ (याङ्त्जे नदीको चिनियाँ नाम) नामक विशेष टनेल बोरिङ मेसिन (TBM) प्रयोग गरेको थियो । उक्त मेसिनले नदीको पिँधमुनि रहेका विभिन्न प्रकारका चट्टानी तह काट्दै उच्च पानीको चापसमेत सफलतापूर्वक सामना गरेको थियो ।
चोङछिङ–सियामेन उच्चगतिको रेलमार्गका केही खण्ड सञ्चालनमा आइसकेका छन् । यो रेलमार्ग चीनले सन् २०३० सम्म पूरा गर्ने लक्ष्य लिएका १६ वटा प्रमुख उच्चगतिको रेल कोरिडोरमध्ये एक हो । यसको उद्देश्य देशका प्रमुख सहरी क्षेत्रहरूबीचको यातायात सञ्जाललाई थप सुदृढ बनाउनु हो ।
आठ उत्तर–दक्षिण र आठ पूर्व–पश्चिम गरी १६ प्रमुख रेलमार्ग समेटिएको यो सञ्जाल उत्तरपश्चिमको गान्सु प्रान्तदेखि दक्षिणी तटीय क्षेत्रका हङकङ र शेन्जेन तथा उत्तरपूर्वी यातायात केन्द्र हार्बिनसम्म फैलिएको छ ।
सरकारी स्वामित्वको चाइना रेलवे ग्रुपका अनुसार गत मार्चसम्म उक्त रेल सञ्जालको निर्माण ८४ प्रतिशत सम्पन्न भइसकेको थियो । राष्ट्रिय रेलवे प्रशासनका उपप्रमुख वाङ किमिङले पत्रकार सम्मेलनमा आगामी पाँच वर्षभित्र रेल सञ्जालको क्षमता र पूर्वाधारमा उल्लेखनीय विस्तार गरिने बताए ।
उनका अनुसार यस अवधिमा आठ उत्तर–दक्षिण र आठ पूर्व–पश्चिम उच्चगतिको रेल सञ्जालको निर्माणलाई तीव्रता दिइने, प्रमुख आर्थिक क्षेत्रहरूबीचको सम्पर्क विस्तार गरिने तथा मुख्य सहरी क्षेत्रहरूमा यात्रु आवागमनलाई अझ सहज बनाइनेछ ।
गत वर्षको अन्त्यसम्म चीनको उच्चगतिको रेल सञ्जाल ५० हजार किलोमिटरभन्दा बढी विस्तार भइसकेको छ । सरकारले आगामी पाँच वर्षभित्र यसलाई करिब ६० हजार किलोमिटर पुर्याउने लक्ष्य लिएको छ । यही विस्तार अभियानअन्तर्गत पानीमुनि लामो दूरीका रेल सुरुङ निर्माणको क्रम पनि तीव्र रूपमा अघि बढिरहेको छ ।
यसै अभियानअन्तर्गत सांघाईको चोङमिङ टापुलाई जियाङ्सु प्रान्तको ताइकाङसँग जोड्ने प्रमुख रेलमार्गको निर्माण पनि अन्तिम चरणमा पुगेको छ, जुन यसै वर्ष सम्पन्न हुने अपेक्षा गरिएको छ ।
यस्तै, दक्षिणी प्रान्त ग्वाङडोङमा शेन्जेन–जियाङमेन रेल सम्पर्क परियोजनाअन्तर्गत पर्ल नदीको मुहानमुनि विश्वकै सबैभन्दा गहिरो पानीमुनिको उच्चगतिको रेल सुरुङ निर्माण भइरहेको छ । उक्त सुरुङ नदीको सतहबाट करिब ११६ मिटर (३८० फिट) गहिराइमा निर्माण भइरहेको छ ।
आईसीटी समाचार