कीवर्डहरू -

सिटिजन्स फोनपे भर्चुअल क्रेडिट कार्ड सुरू, १४ लाख बढी फोनपे मर्चेन्टमा भुक्तानी गर्न सकिने

सिटिजन्स फोनपे भर्चुअल क्रेडिट कार्ड सुरू, १४ लाख बढी फोनपे मर्चेन्टमा भुक्तानी गर्न सकिने

सिटिजन्स बैंकले फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ । सिटिजन्स फोनपे क्रेडिट कार्ड नेपालको आफ्नै कार्ड स्किम हो । 

यसले प्रयोगकर्तालाई सहज र सुरक्षित भुक्तानी अनुभव प्रदान गर्दै आफ्नो कारोबार सजिलै व्यवस्थापन गर्ने सुविधा प्रदान गर्नेछ । 

भर्चुअल कार्ड सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै पाउन सकिने छ । कार्डबाट १४ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिने भने आफ्नो खर्चहरू समेत ट्र्याक गर्न सजिलो हुने जनाइएको छ । 

४५ दिनसम्म बिना ब्याज क्रेडिट सुविधा समेत सिटिजन्स फोनपे भर्चुअल कार्डमा पाइने छ । कार्ड सुरूवात गरेको अवसरमा सिटिजन्स बैंकले सिटिजन्स फोनपे क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा प्रति प्रयोगकर्ता ५० प्रतिशत (१ हजार रूपैयाँ) सम्मको रकमको क्यासब्याक अफर समेत ल्याएको छ ।

यो अफर २०८१ भदौ २७ बाट सुरु हुनेछ र सबै योग्य सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि सिमित अवधिसम्म उपलब्ध हुनेछ । यस अफरले ग्राहकहरूलाई सिटिजन्स फोनपे क्रेडिट कार्डको सुविधाहरू अनुभव गर्न ठूलो अवसर प्रदान गर्नेछ ।

सिटिजन्स बैंकका सिइओ गणेश राज पोखरेलले फोनपे सँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाउँदा निकै उत्साहित रहेको बताए ।

‘नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाउँदा खुसी छौं । कार्डबाट फोनपे मर्चेन्टहरूमा स्क्यान र पेमेन्ट गरी प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘यो कदमले हाम्रा ग्राहकहरूको क्रेडिट र भुक्तानीको प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ ।’ 

यस्तै फोनपेका सिइओ दिवस कुमारले नेपालकै आफ्नै भर्चुअल क्रेडिट कार्ड प्रस्तुत गरेको बताउँदै कार्डले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा थप सजिलो अनुभव दिने जानकारी दिए । 

‘नेपालमा क्रेडिट कार्डको प्रयोग २ प्रतिशत भन्दा कम भएको अवस्थामा, हाम्रो भर्चुअल क्रेडिट कार्डले यो कमी पूरा गर्दै स्थानीयदेखि ठूला व्यापारीहरूसम्मको नेटवर्कमा तुरुन्त पहुँच पुर्याएका छौं,’ उनले भने, ‘यो केवल नयाँ सेवाको  सुरुवात नभई सम्पूर्ण नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर लचक र अनुकूल समाधान सिर्जना गर्ने प्रयास हो ।’

के हो फोनपे भर्चुअल कार्ड ? 

फोनपे भर्चुअल कार्ड स्किम पूर्ण रूपमा डिजिटल कार्ड समाधान हो, जसले प्रयोगकर्ताहरूलाई आफ्नो क्रेडिट कार्ड कार्य-क्षमतामा सजिलो, लचकता र नियन्त्रण प्रदान गर्नेछ ।

यस कार्ड स्किमले फोनपे नेटवर्कमा क्यूआर भुक्तानी, अनलाइन वा इ-कमर्स भुक्तानीहरू, र सहज ईएमआई कन्भर्जन जस्ता सुविधाहरू दिनेछ फोनले जनाएको छ ।

फोनपे क्रेडिट कार्डले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै सजिलै कार्ड सुरू गर्न र प्रयोग गर्न अवसर दिनेछ ।

यसमा ग्राहकले कार्ड व्यवस्थापन, लिमिट कन्ट्रोल र स्टेटमेन्ट डेलिभरीजस्ता उन्नत सुविधाहरूको पूर्ण फाइदा लिन सक्छन्, जसले ग्राहकहरुलाई आफ्नो कार्डमा सम्पूर्ण नियन्त्रण दिएको छ ।