इन्स्टाग्राममा आउँदैछ डिसलाइक बटन, अब मन नपरेको पोष्ट डिसलाइक गर्न सकिने

इन्स्टाग्राममा आउँदैछ डिसलाइक बटन, अब मन नपरेको पोष्ट डिसलाइक गर्न सकिने

इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई प्रायः यो एउटा गुनासो हुने गर्छ ।  उनीहरू कुनै पोस्टलाई लाइक त गर्न सक्छन्, तर यदि कुनै सामग्री मन परेन भने त्यसलाई डिसलाइक गर्ने कुनै विकल्प हुँदैन् । तर, अब प्रयोगकर्ताहरूका लागि खुशीको खबर छ ।

केही समययता धेरै इन्स्टाग्राम प्रयोगकर्ताहरूले आफ्नो कमेन्ट सेक्सनमा डिसलाइक बटन देख्न थालेका छन् । यसको अर्थ, अब यदि कुनै पोस्ट वा कमेन्ट तपाईंलाई ठीक लाग्दैन भने तपाईं त्यसलाई डिसलाइक गर्न सक्नुहुनेछ ।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले थ्रेड्समा एक पोस्ट गर्दै  नयाँ सुविधा बारे पुष्टि गरेका छन् । उनले चाँडै नै इन्स्टाग्राम पोस्ट र कमेन्ट सेक्सनमा डिसलाइक बटनको सुविधा थपिने जानकारी दिएका छन् । तर, यो युट्युब को डिसलाइक सुविधाजस्तै हुनेछ, जहाँ मन नपरेको को कुल संख्या कसैलाई देखाइने छैन् । साथै, कसले कुन टिप्पणीलाई डिसलाइक गर्‍यो भन्ने कुरा पनि गोप्य नै रहनेछ ।

इन्स्टाग्रामको यो नयाँ डिसलाइक बटनले प्लेटफर्मलाई अझ मैत्रीपूर्ण र अन्तक्र्रियात्मक बनाउन मद्दत गर्ने अनुमान गरिएको छ । मोसेरीका अनुसार, यस सुविधाले प्रयोगकर्ताहरूलाई कुनै नकारात्मकता बिना नै आफ्नो असहमति व्यक्त गर्ने अवसर दिनेछ । यसले स्वस्थ बहसलाई प्रवर्धन गर्नेछ र अनावश्यक दुःख दिने क्रियाकलाप रोक्न पनि सहयोग गर्न सक्छ ।

इन्स्टाग्रामकी प्रवक्ता क्रिस्टिन पाईले द भर्जलाई दिएको जानकारीअनुसार, यो सुविधा हाल परीक्षण चरणमा छ र सीमित संख्याका प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध छ । तर, उनले स्पष्ट रूपमा भनेकी छैनन् कि यो सुविधा कहिलेसम्म सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ ।

हालसम्म, इन्स्टाग्रामले यस सुविधाको लागि कुनै निश्चित समयसीमा सार्वजनिक गरेको छैन् । तर, आगामी दिनमा डिसलाइक बटनले इन्स्टाग्राममा ठूलो परिवर्तन ल्याउन सक्छ । यसले प्रयोगकर्ताहरूलाई आफ्नो विचार व्यक्त गर्ने नयाँ तरिका दिनेछ र प्लेटफर्मलाई अझ स्वस्थ तथा आकर्षक बनाउन सहयोग गर्नेछ ।