अनलाइन बाल सुरक्षामा कार्यरत अग्रणी संस्था चाइल्डसेफनेटले राष्ट्रिय बाल अधिकार परिषद् र ५० भन्दा बढी सहकर्मी संस्थाहरुकासंगको सहकार्यमा सुरक्षित इन्टरनेट दिवस २०२५ को अवसरमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको छ ।
यी संस्थाहरुले बालबालिका, युवा र समुदायलाई सुरक्षित इन्टरनेट प्रयोग र अनलाइन जोखिमहरूबाट जोगिने उपायहरू सिकाउन देशका विभिन्न स्थानमा डिजिटल सुरक्षा कार्यक्रमहरू सञ्चालन गरेका थिए।
सन् २०१९ देखि, चाइल्डस्फनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको राष्ट्रिय सचिवालय र संयोजकको रूपमा कार्य गर्दै यस दिवसको प्रवर्द्धन गर्दै आएको छ । यस वर्ष, ५० भन्दा बढी संस्थाहरूले सुरक्षित इन्टरनेट दिवस मनाउन चाइल्डसेफनेटसंग ऐक्यवद्धता गरेका छन् ।
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, रामेछाप, सुनसरी, मोरङ, तनहुँ, कास्की, नवलपरासी, अछाम, र बाजुरा जिल्लाहरूमा अनलाइन सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरि यस वर्ष सुरक्षित इन्टरनेट दिवस मनाइये ।साथै, आगामी दिनहरूमा थप जिल्लाहरूमा पनि कार्यक्रमहरू गरिने जानकारी सहकर्मी संस्थाहरुले दिएका छन् ।
अनलाइन बाल सुरक्षामा जिम्मेवार निकायहरुबाट पर्याप्त काम नभएको जानकारी दिँदै चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले सुरक्षित इन्टरनेट दिवसले अनलाइन सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने बताए ।
यसै क्रममा चाइल्डसेफनेटले राष्ट्रिय बाल अधिकार परिषद्संग सहकार्य गर्दै इलेन मेमोरियल स्कूल, सीतापाइला, काठमाडौँमा २०८१ माघ २९ गते अनलाइन बाल सुरक्षाबारे एक सार्वजनिक जनचेतना कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विद्यार्थी र शिक्षकहरूले नृत्य, गीत, र नाटक प्रस्तुत गरी सुरक्षित इन्टरनेट प्रयोग सम्बन्धी सन्देशहरू प्रभावकारी रूपमा प्रस्तुत गरे। कार्यक्रममा साइबर सुरक्षा हाज़िरी जवाफ पनि संचालन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रा देवी ढकालले बालबालिकाको डिजिटल सुरक्षाको महत्त्वबारे प्रकाश पार्दै नेपालका बालबालिकालाई अनलाइन जोखिमहरूबाट सुरक्षित राख्न पहल गरिरहेको बताए ।
अइलेन मेमोरियल स्कूलका कार्यकारी निर्देशक सपना तुलाधरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्कूलका संस्थापक तथा नेपालका आईटी क्षेत्रका अगुवा एलन तुलाधरले विद्यार्थीहरूलाई डिजिटल प्रविधिको सकारात्मक र सुरक्षित प्रयोग गर्न प्रेरित गरे । कार्यक्रममा ३०० भन्दा बढी विद्यार्थी, शिक्षक, नागार्जुन नगरपालिकाका प्रतिनिधिहरू र प्याबसनका सदस्यहरूको सहभागिता रहेको थियो।
यसै गरि देशका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रमहरू संचालन गरि सुरक्षित इन्टरनेट दिवस मनाइएको छ । ललितपुरको रातो बंगला स्कूलमा माघ २८ गते यस संस्थाले एक अन्तरक्रियात्मक बाल अनलाइन सुरक्षा सचेतना कार्यक्रम संचालन गरेको थियो, जसमा कक्षा ५, ६, र ७ का २०६ विद्यार्थी (११९ छात्रा र ८७ छात्र) सहभागी थिए ।
ट्रिपल एच र चाइल्डसेफनेटले अछाम, बाजुरा, काभ्रे, र रामेछाप मा एक महिना भित्र ३० वटा भन्दा बढी तालिम सम्पन्न गरेका छन् । धरानमा सुनाखरी एकेडेमील् डिजिटल सुरक्षाबारे निबन्ध प्रतियोगिता संचालन गरिएको थियो । धरानकै शारदा बालिका नमुना माविले अनलाइन सुरक्षा सचेतना र्यालीको आयोजना गरेको थियो, जसमा विद्यार्थी (छात्राहरू), शिक्षक, र अभिभावकहरू समेत ३५० भन्दा बढीले भाग लिएका थिए ।
यसैगरि पोखरामा कृष्ण माविले अनलाइन सुरक्षा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो भने पोखरामा नै सामाजिक पब्लिक स्कूलद्वारा चित्रकला प्रतियोगिता संचालन गरेका थिए । साथै, नवलपरासीमा वेदः सिर्जनशील संस्थाद्वारा बालबालिकाका लागि इन्टरनेट सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
त्यसै गरि, बन्दीपुरमा दीपशिखा स्कुलद्वारा अनलाइन सुरक्षा तालिम र सचेतना गतिविधिहरू आयोजना भइरहेका छन् । यसै क्रममा मोरङ, बेलबारीमा श्री लक्ष्मी माविद्वारा वादविवाद प्रतियोगिता संचालन भएको थियो ।