कीवर्डहरू -

साइबर सुरक्षा जोखिमपछि भन्सारको VCТS प्रणाली अस्थायी रूपमा बन्द

साइबर सुरक्षा जोखिमपछि भन्सारको VCТS प्रणाली अस्थायी रूपमा बन्द

काठमाडौं । PHP तथा सँगसँगै प्रयोग हुने प्रविधिमा गम्भीर सुरक्षा कमजोरी देखिएपछि राजस्व अनुसन्धान विभागअन्तर्गत सञ्चालनमा रहेको Vehicle Consignment Tracking System (VCTS) प्रणाली अस्थायी रूपमा बन्द गरिएको छ ।

अर्थ मन्त्रालयअन्तर्गतको राजस्व अनुसन्धान विभागले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्रबाट मिति २०८३/०७/०५ मा प्राप्त जानकारीका आधारमा प्रविधिको दुरुपयोग हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रणाली बन्द गर्ने निर्णय गरिएको हो ।

विभागले प्रणालीमा आवश्यक सुरक्षा अद्यावधिक तथा सुधारका काम पूरा गरी सुरक्षित भएको सुनिश्चित भएपछि मात्रै सेवा पुन: सञ्चालनमा ल्याइने जनाएको छ । सूचनामा प्रणाली बन्द रहे पनि नियमानुसार जारी भएका बिलबिजक तथा ढुवानीसम्बन्धी कागजात साथमा राखी सवारीसाधन सञ्चालन गर्न सकिने उल्लेख छ ।

प्रणाली पुन: सञ्चालनमा आएपछि सम्बन्धित सेवाग्राही, करदाता तथा निकायले यथाशीघ्र सम्बन्धित ढुवानीको VCTS नियमानुसार जारी गर्नुपर्नेछ । प्रणाली अस्थायी रूपमा बन्द हुँदा सेवाग्राही तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति विभागले क्षमायाचना गरेको छ ।

साथै, प्रणालीको सुरक्षा सुनिश्चित गर्न चालिएको कदममा सबै सरोकारवालाको सहयोग र समन्वयको अपेक्षा गरेको छ । विभागले सुरक्षा जोखिम न्यूनीकरण गरी प्रणालीलाई सुरक्षित बनाएपछि सेवा पुन: सञ्चालन गर्ने जनाएको छ ।

null