पछिल्लो समय टेलिकम कम्पनीहरूको आम्दानी घटिरहेको छ । घट्दो आम्दानीका निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल यतिबेला व्यवसायलाई दिगो बनाउन विविधिकरणमा अगाडि बढेको छ ।
परम्परागत व्यवसाबाट मात्र टिक्न गार्हो पर्न थालेपछि एनसेल अब इन्टरप्राइजमा पनि केन्द्रित हुन थालेको हो । यसै अनुसार भर्खरै एनसेलले फिनल्याण्डको साइबर सुरक्षा कम्पनी विथसेक्योरसँग ‘एक्सक्लुसिभ’ साझेदारी गरेको छ ।
यद्यपी यसको औपचारिक घोषणा भने चाँडै हुने बताइएको छ । यसै सन्दर्भमा विथसेक्योरका उपाध्यक्ष पाओलो पालुम्बोसँग गरिएको छोटो कुराकानीको सम्पादित अशः
विथ सेक्योर के हो ?
विथसेक्योर फिनल्याण्डमा आधारित साइबर सुरक्षा कम्पनी हो । ३५ वर्षदेखि हामीहरूले साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेका छौं । हाम्रो मिसन भनेको कर्पोरेट र इन्टरप्राइजहरूलाई साइबर हमलाबाट जोगाउनु हो ।
साइबर सुरक्षाको क्षेत्रमा नेपालमा कस्तो छ ?
नेपालको डिजिटल बजार द्रुत रूपमा बढिरहेको छ । डिजिटल एडप्सन र व्यवसायको गती पनि तिव्र छ । डिजिटलाइजेसनको कुरा गर्दा साइबर सुरक्षा पनि सँगै जोडिन्छ । डिजिटलाइजेसन तीव्र बढिरहेको नेपालमा साइबर सुरक्षा कम्पनीका लागि पनि धेरै अवसर छन् । त्यसैले एनसेलमार्फत विथसेक्योर नेपाली बजारमा प्रवेश गर्दैछ ।
नेपाली बजारमा प्रवेश गर्नका लागि विथसेक्योरले एनसेल नै किन रोज्यो ?
व्यवसाय विस्तारका लागि सबैभन्दा पहिला उपयुक्त पार्टनर खोज्न आवश्यक छ । उपयुक्त पार्टनर हुनलाई सम्बन्धित बजारको बारेमा विस्तृत ज्ञान, विश्वासिलो र भरपर्दो हुनुपर्छ । नेपालमा पनि हामीले त्यस्तो उपयुक्त पार्टनरको रूपमा एनसेल भेट्यौं, जुन करिब २ दशकदेखि निरन्तर सेवारत नेपालको अग्रणी दूरसञ्चार कम्पनी समेत हो । एनसेलसँग सहकार्य गर्न पाउँदा हामी एकदमै उत्साहित छौं ।
यस सहकार्यले एनसेलका इन्टरप्राइज ग्राहकलाई कसरी सहयोग गर्छ ?
एनसेलका इन्टरप्राइज ग्राहकले अब विश्वकै अब्बल साइबर सेक्युरिटी प्रडक्ट प्रयोग गर्न पाउने छन् । ग्राहक सपोर्ट पनि चुस्त र दुरूस्त हुनेछ । यस सहकार्यले नेपाली इन्टरप्राइजलाई साइबर संसारमा सुरक्षित रहन मद्दत गर्नेछ ।
तपाईको बुझाइमा, साइबर सुरक्षाको क्षेत्रमा नेपाली बजारका चुनौतीहरू के के छन् ?
पछिल्लो समय साइबर सुरक्षा उद्योग तीव्र रूपमा परिवर्तन भइरहेको छ । यसबाट नेपाल पनि अछुतो रहन सक्ने सम्भावना छैन् । प्रविधिको विकासलाई आत्मसात् गर्दा जोखिम पनि सँगसँगै आउँछ । जोखिम कम गर्न नेपालले डिजिटलाइजेसन र साइबर सुरक्षाको बारेमा स्पष्ट लक्ष्य बनाएको छ । तर यो लक्ष्यलाई पूरा गर्न सामुहिक प्रयास आवश्यक छ ।
डिजिटल स्पेशमा काम गरिरहेका नेपाली बिजनेसहरूलाई तपाईको सुझाव के छ ?
साइबर सेक्युरिटीलाई खर्चको रूपमा नहेर्नुहोस् । यसलाई बिजनेस इनेबलरको रूपमा हेर्नुपर्छ । त्यसपछि मात्रै तपाई साइबर थ्रेट, बिच, डेटा लिकको चिन्ता नगरी व्यवसायमा केन्द्रित हुन सक्नुहुन्छ । मेरो एउटा मात्रै सन्देश छ – साइबर सुरक्षालाई खर्चको रूपमा नभएर लगानीको रूपमा हेर्नुहोस् । त्यसपछि मात्रै तपाई बिजनेस फ्लोरिस हुन्छ ।