आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले निरन्तर विकास गरिरहेको छ र यसैबीच बजारमा एक नयाँ गेम चेन्जर एआईले प्रवेश गरेको छ । डिप सिक चीनको नयाँ कृत्रिम बुद्धिमत्ता मोडेल हो ।
यसले प्राविधिक विश्वको ध्यान आफूतिर तानेको छ । परफरमेन्सको मामलामा यसले च्याटजीपीटी, जेमिनाई, र क्लाउड एआईलाई पनि पछि पारेको छ । यसै सन्दर्भमा, डिपसिकका बारेमा विस्तृतमा जानकारी लिऔं ।
डिप सिक एक उन्नत कृत्रिम बुद्धिमत्ता मोडेल हो, जुन हाङझाउमा रहेको यसै नामको अनुसन्धान प्रयोगशालाले विकास गरिएको हो । यसको स्थापना २०२३ मा लियाङ वेन्फेङले गरेका थिए, जो कृत्रिम बुद्धिमत्ता र मात्रात्मक वित्त (क्वान्टीटेटिभ फाइनन्स) को पृष्ठभूमि भएका इञ्जिनियर हुन् ।
यसले ओपनएआईको च्याटजीपीटीलाई पछि पार्दै एपलको एप स्टोरमा शीर्ष स्थानमा रहेको निःशुल्क एप बन्ने सफलता हासिल गरेको छ ।
यस एपको सफलता अमेरिका, बेलायत, र चीनजस्ता देशहरूमा देखिएको छ । डिपसिकको अकस्मात भएको यो वृद्धिले सिलिकन भ्यालीको ध्यान आफूतिर तानेको छ र यसले कृत्रिम बुद्धिमत्ता क्षेत्रमा अमेरिका एकछत्र हुने धारणालाई चुनौती दिएको छ ।
डिप सिकको पछिल्लो संस्करण आर १ हो । यो उद्योगका लिडर जस्तै ओपनएआई र एनथ्रोपिकलाई टक्कर दिइरहेको छ । आर १ विशिष्ट किन छ भने यो कम लागतयुक्त र खुला–स्रोत हो । यसले सीमाहीन निःशुल्क प्रयोगको सुविधा प्रदान गर्छ । साथै, यो उच्च परफरमेन्स गर्ने कृत्रिम बुद्धिमत्ता प्रणालीलाई उच्च लागतबिना नै पहुँचयोग्य बनाउँछ ।
डिप सिक ओपनएआई र मेटाबाट कसरी फरक छ?
डिप सिक आफ्नो किफायतीपन र कार्यक्षमतामा केन्द्रित भएर ओपनएआई र मेटाजस्ता प्रतिस्पर्धीहरूभन्दा फरक देखिन्छ । जहाँ ओपनएआई र मेटाजस्ता कम्पनीहरूले अत्याधुनिक मोडेलहरू विकास गर्छन्, जसमा धेरै स्रोत र महँगा एआई चिप्स (जस्तै एनभिडियाका एच १०० जीपीयू) को आवश्यकता पर्छ । त्यहाँ, डिप सिकले त्यस्ता मोडेलहरू विकास गरेको छ, जसले समान प्रदर्शन गर्छ तर लागत निकै कम हुन्छ ।
डिप सिकको किफायती एआई हार्डवेयर प्रयोग र मोडेल प्रशिक्षणको लागि नवीन दृष्टिकोणले यसलाई ठूला खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न योग्य बनाएको छ । साथै, यसले लागतलाई न्यून राख्न पनि मद्दत गरेको छ ।
डिप सिकलाई किन यति धेरै ध्यान दिइँदैछ?
डिप सिकको चर्चा यसकारण भइरहेको छ किनभने यो चिनियाँ एआई सपोर्ट निःशुल्क, सीमाहीन, र खुला–स्रोत रहेको छ । यसलाई यसको पारदर्शिता, कार्यक्षमता, र सबैको लागि एआईलाई पहुँचयोग्य बनाउने प्रयासका लागि रुचाइएको छ ।
डिप सिकको सफलताले यस्तो समयमा सफलता पाएको छ जब अमेरिकाले चीनमा अत्याधुनिक सेमिकन्डक्टर निर्यातमा प्रतिबन्ध लगाएको छ । यसको उद्देश्य कृत्रिम बुद्धिमत्तामा चीनको प्रगतिलाई सीमित गर्नु थियो । तर, डिप सिकले कम स्रोतमा काम गर्ने मोडेलहरू विकास गर्न सक्षम रह्यो ।
यसले अमेरिकामा चिन्ता पैदा गरेको छ, जहाँ प्रविधि दिग्गजहरू एनभिडिया, मेटा, र माइक्रोसफ्टले कृत्रिम बुद्धिमत्ता पूर्वाधारमा ठूलो लगानी गरेका छन् । तिनीहरू चाँडै डिप सिक जस्ता कम लागतका विकल्पहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थितिमा हुन सक्छन् ।
अमेरिकी सेयर बजारमा प्रभाव
डिप सिकको उदयले सेयर बजारमा तत्काल प्रभाव पारेको छ । एनभिडिया, मेटा, र माइक्रोसफ्टलगायत प्रमुख अमेरिकी कृत्रिम बुद्धिमत्ता सम्बन्धित कम्पनीहरूको सेयर मूल्य डिप सिकको सफलतापछि घटेको छ ।
विश्लेषकहरूले चेतावनी दिएका छन् कि कम लागत भएका चिनियाँ विकल्पहरूको उदयले स्थापित अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स मोडेलहरूमा असर पर्नेछ । लगानीको परिदृश्य बिग्रिन सक्छ र कम्पनीहरूले आफ्नो कृत्रिम बुद्धिमत्ता रणनीतिमा पुनर्विचार गर्नुपर्ने हुन सक्छ ।
निवेशक एन्ड्रीसेनले डिप सिक मोडेललाई अहिलेसम्मकै उत्कृष्ट इनोभेसन भनेका छन् । यससँगै अर्को एउटा खबरले सबैको ध्यान आफूतर्फ तानेको छ । भनिएको छ कि बढ्दो लोकप्रियताबीच डिप सिकलाई ह्याक गर्ने प्रयास गरिएको छ ।
डिप सिक एआईको लोकप्रियता कति छ भन्ने कुरा यसबाट बुझ्न सकिन्छ कि, रिलिज भएको केही समयपछि नै स्टार्टअपको सिस्टममा यति धेरै दबाब प¥यो कि सेवा एक घण्टाभन्दा बढी समयका लागि बन्द भयो । सेवा रोकिनुको कारणमा ‘साइबर आक्रमण’ जिम्मेवार छ ।