काठमाडौं । आजकल स्मार्टफोन कम्पनीहरू हरेक महिना कुनै न कुनै सफ्टवेयर अपडेट जारी गरिरहेका हुन्छन् । यस्तो अवस्थामा फोन अपडेट गर्नु जति आवश्यक छ, त्यति नै सावधानीपूर्वक गर्नु पनि जरुरी हुन्छ ।
हो, नयाँ सफ्टवेयर अपडेटले तपाईंको डिभाइसको पर्फर्मेन्स, सिक्युरिटी र फिचर्स सुधार गर्न सक्छ । तर, यो क्रममा सानो–सानो गल्ती भयो भने डिभाइस स्लो, ह्याङ हुने वा डाटा लससहित डेड समेत हुन सक्छ । त्यसैले अपडेट गर्नु अघि यी कुरामा ध्यान दिनुहोस्...
कम ब्याट्रीमा अपडेट गर्नु
कतिपय मानिस हतारमा ब्याट्री कम हुँदा नै अपडेट सुरु गरिदिन्छन् । यस्तो अवस्थामा अपडेटको बीचमै फोन बन्द भयो भने सिस्टम क्र्यास हुन सक्छ । सधैं कम्तीमा फोनलाई ५० देखि ६० प्रतिशत ब्याट्री भएको अवस्थामा वा चार्जर मा जोडेर मात्र अपडेट सुरु गर्नुहोस् ।
खराब इन्टरनेट कनेक्सन
अक्सर मासिक सिक्युरिटी प्याचको साइज सानो हुन्छ, तर कहिले काहीँ सफ्टवेयर अपडेटको साइज ठूलो हुन्छ । यस्तो अवस्थामा स्लो वा अनस्टेबल इन्टरनेट कनेक्सनले अपडेटको क्रममा समस्या ल्याउन सक्छ । फाइल सहीसँग डाउनलोड नभए इन्स्टलेसन मा पनि समस्या आउन सक्छ ।
डाटा ब्याकअप नलिनु
धेरैले फोन अपडेट गर्नुअघि ब्याकअप लिनु आवश्यक ठान्दैनन् । तर कहिले काहीँ अपडेटको क्रममा डाटा डिलिट हुन सक्छ वा फोन रिसेट पनि हुन सक्छ । यसले तपाईंका फोटो, भिडियो र आवश्यक फाइलहरू मेटिन सक्छन् ।
स्टोरेज खाली नराख्नु
यदि तपाईंको डिभाइसमा स्टोरेज खाली छैन भने फोन अपडेट गर्दा समस्या आउन सक्छ र अपडेट राम्ररी इन्स्टल हुन सक्दैन । यसका कारण फोन स्लो पनि हुन सक्छ । त्यसैले अपडेट गर्नु अघि अनावश्यक फाइल र एप्स डिलिट गरेर ठाउँ खाली गर्नुहोस् ।
अपडेटको क्रममा फोन प्रयोग गर्नु
धेरै मानिस अपडेट भइरहेका बेला फोन चलाउन थाल्छन् वा एप्स खोलिरहन्छन् । यसले पनि इन्स्टलेसन प्रोसेसमा बाधा पुर्याउन सक्छ र अपडेट फेल पनि हुन सक्छ । त्यसैले राम्रो हुन्छ, अपडेट कम्प्लीट नभएसम्म फोनलाई नचलाउनुहोस् ।
आईसीटी समाचार