कीवर्डहरू -

डोपामिन साइट्सको नयाँ ट्रेन्ड : १ रुपैयाँ पनि खर्च नगरी अनलाइन शपिङ

डोपामिन साइट्सको नयाँ ट्रेन्ड : १ रुपैयाँ पनि खर्च नगरी अनलाइन शपिङ

काठमाडौं । के तपाईं पनि शपिङ गर्न मन पराउनुहुन्छ, तर बजेटले रोक्छ ? इन्टरनेटमा अहिले डोपामिन साइट्सको नयाँ ट्रेन्ड तिव्र रुपमा बढेको छ, जहाँ तपाईं एक रुपैयाँ पनि खर्च नगरी शपिङ गर्न सक्नुहुन्छ । जान्नुहोस्, यी साइट्स के हुन्, कसरी काम गर्छन्, र किन जेन-जेड यो ट्रेन्डलाई मन पराइरहेका छन् ।

के तपाईं पनि अनलाइन शपिङ गर्न मन पराउनुहुन्छ, तर बजेटका कारण आफैंलाई रोक्नुहुन्छ ? अब अलिकति सोच्नुहोस्, इन्टरनेटमा यस्तै एउटा वेबसाइट होस् जहाँ तपाईं आफूलाई मनपरेको जे पनि किन्ने तर तपाईंको बैंक खाताबाट एक रुपैयाँ पनि नकाटिने हुन्छ ।

सुन्नमा यो सपना जस्तो लाग्न सक्छ, तर डोपामिन साइट्सका रूपमा यो अहिले वास्तविकता बनिरहेको छ । आजको युवा पुस्ता, विशेष गरी जेन-जेड, यस्ता साइट्स मन पराइरहेका छन् । आउनुहोस्, सजिलो भाषामा बुझौँ, यी नयाँ टेक-साइट्स के हुन् र कसरी काम गर्छन् ।

डोपामिन साइट्स के हुन् ?

सजिलो भाषामा भन्नुपर्दा, यी असली ई-कमर्स वेबसाइट्स जस्तै देखिने नक्कली साइट्स हुन्, जस्तै अमेजन वा दराज । वेबसाइटलाई यस्तो तरिकाले डिजाइन गरिएको हुन्छ कि तपाईंलाई लाग्छ, तपाईं कुनै वास्तविक प्लेटफर्ममा शपिङ गर्दै हुनुहुन्छ ।

यी साइट्समा के-के हुन्छ ?

सर्च र कार्ट : तपाईं असली साइट्समा जस्तै यहाँ पनि प्रोडक्टहरू सर्च गर्न सक्नुहुन्छ र कार्टमा राख्न सक्नुहुन्छ ।

फेक पेमेन्ट : तपाईं बाइ नाउमा क्लिक गरेर पेमेन्ट पनि गर्न सक्नुहुन्छ । जे-जस्तो झुटो बैंक डिटेल हाल्नुभयो भनेपनि, पेमेन्ट सधैं सफल देखाउँछ ।

फेक ट्र्याकिङ : रमाइलो कुरा के छ भने, अर्डर गरेपछि तपाईंलाई डेलिभरी स्टेटस पनि देखिन्छ- ‘तपाईंको सामान बाटोमा छ ।’

अन्तिम नतिजा : न त तपाईंको बैंकबाट पैसा काटिन्छ, न त वास्तविक रूपमा कुनै सामान तपाईंको घर डेलिभर हुन्छ ।

नाम डोपामिन साइट्स किन राखियो ?

जब हामी शपिङ गर्छौं वा आफ्नो मनपर्ने कुनै चीज किन्छौँ, हाम्रो दिमागमा खुशीको अनुभूति गराउने एउटा रसायन रिलीज हुन्छ, जसलाई डोपामिन भनिन्छ । यस्ता साइट्स बनाउनुको सीधा तर्क यही हो, तपाईंलाई शपिङ गरेको जस्तो खुशी मिलोस्, त्यो पनि जेब खाली नगरी । महँगा ग्याजेट्स वा कपडा देखेर हुने क्रेविङलाई यी साइट्सले भर्चुअल रूपमा शान्त पारिदिन्छन् ।

जेन-जेडबीच यति चर्चित किन भइरहेको छ ?

हेर्दा यो केवल टाइम-पास जस्तो लाग्न सक्छ, तर युवापुस्ताबीच यसको लोकप्रियताको केही खास कारण छन्:

तनाव कम गर्ने माध्यम : एक्सपर्ट्सका अनुसार युवाहरूका लागि शपिङ तनाव कम गर्ने राम्रो तरिका हो । यी साइट्सले उनीहरूलाई पैसाको चिन्ता नगरी शपिङ गर्ने स्वतन्त्रता दिन्छन् ।

कार्ट डम्पिङको समाधान : धेरै मानिसहरूले वास्तविक शपिङ एप्समा धेरै सामान कार्टमा भर्छन्, तर पैसा नभएकाले चेकआउट गर्न सक्दैनन् । यसले एउटा अनौठो फ्रस्ट्रेशन ल्याउँछ । डोपामिन साइट्स मा भने तपाईं अर्डर बटन थिच्न सक्नुहुन्छ, जसले मनलाई सन्तुष्टि दिन्छ ।

साउथ कोरियाबाट सुरु : अहिले यो ट्रेन्ड साउथ कोरियामा निकै लोकप्रिय छ, तर इन्टरनेटको पहुँचलाई हेर्दा यो छिट्टै नेपालसहित संसारभर फैलिन सक्छ ।

के साँच्चै उपयोगी छन् डोपामिन साइट्स ?

हरेक नयाँ टेक्नोलोजी जस्तै यसको पनि दुई पाटा छन् । टेक र साइकोलोजी एक्सपर्ट्सको यसबारे फरक-फरक धारणा छ:

फाइदा: यदि यसको प्रयोग केवल मनोरञ्जनका लागि वा कामबीचको तनाव घटाउन गरियो भने, यो पैसा खर्च नगरी खुशी पाउने राम्रो माध्यम हुन सक्छ ।

नोक्सान: तर कसैलाई बारम्बार अर्डर गर्ने बानी लाग्यो भने, दिमागमा यसको लत बस्न सक्छ । वास्तविक जीवनमा जब यो लत हावी हुन्छ, मानिसहरू असली साइट्समा गएर पनि जथाभाबी शपिङ गर्न थाल्न सक्छन्, जसले ठूलो आर्थिक नोक्सान पुर्‍याउन सक्छ ।