कीवर्डहरू -

१५ वर्षदेखि अमेरिकाको एआई क्षेत्रमा काम गरिरहेकी डा. रोशा

१५ वर्षदेखि अमेरिकाको एआई क्षेत्रमा काम गरिरहेकी डा. रोशा

सन् २०१० को सुरूवाततिर एआई, मेसिन लर्निङ, न्युरल नेटवर्क, इमेज प्रोसेसिङ, डेटा साइन्स भर्खर भर्खर लोकप्रिय हुन थालेको थियो । नयाँ प्रविधिमा चासो, चर्चा र अनुसन्धान रफ्तारमा थियो । 

त्यही समयमा नेपालबाट अध्ययनको शिलशिलामा डा. रोशा पोखरेल अमेरिका पुगेकी थिइन । काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक अध्ययन गरेर अमेरिका गएकी उनी गणितमा अब्बल थिइन । 

गणितमा अब्बल भएपनि स्नातकोत्तरमा ‘यही पढ्छु’ भन्ने कुनै योजना थिएन । तर पनि डेटा साइन्समा छात्रवृत्ति पाइन, अनि सुरू भएको उनको डेटा साइन्सको यात्रा । पोखरेल, सुरूवाती मध्येकी एक डेटा वैज्ञानिक समेत हुन् ।

नेपालमा धेरैलाई डेटा साइन्सको बारेमा थाहा नै थिएन । विकसित राष्ट्रमा पनि यो शब्द प्रचलनको आरम्भमा थियो । रोशा पनि कसरी कसरी छात्रवृत्तिमा डेटा साइन्स पढ्न पुगिन । 

‘म एआई र डेटा साइन्सको क्षेत्रमा जान्छु भन्ने कै योजना थिएन,’ रोशा आइसिटी समाचारसँग भन्छिन्, ‘जे पढे, जे गरे त्यो मेरा लागि सही सावित भयो ।’ 

डेटा साइन्सदेखि एआईसम्मको यात्रा

शिक्षित परिवारमा हुर्किएकी रोशाले मेसिन लर्निङमा विद्यावारिधि (पीएचडी) गरेकी छन् । रोशालाई इन्जिनियरिङ विषय छनौट गर्नु अगाडि उनका बुबाले भनेका थिए - इन्जिनियरिङ पढेपछि मेडिकल बाहेक अन्य सबै ठाउँमा जान मिल्छ । त्यसपछि उनले पनि इन्जिनियरिङ पढ्ने निधो गरिन ।

चार वर्षे इन्जिनियरिङ कोर्ष सक्काएपछि उच्च शिक्षा अध्ययन गर्न विकसित देश जाने उनको इच्छा थियो । त्यो बेला उनका दाजु अमेरिका बस्थे । उनले पनि उच्च शिक्षा हासिल गर्नका लागि सपनाको देश ‘अमेरिका’ जाने योजना बुनिन । डेटा साइन्समा स्नातकोत्तर गर्न छात्रवृत्ति पाइन र अमेरिकाको यात्रा प्रस्थान गरिन । 

डेटा र एआईको क्षेत्रमा काम गर्छु भन्ने उनको कुनै स्पष्ट योजना थिएन । तर उनी बच्चादेखि नै गणितमा अब्बल थिइन । एआई र डेटा साइन्समा गणित आवश्यक पर्छ । त्यसैले पनि हुन सक्छ, स्पष्ट योजना नहुँदा नहुँदै पनि एआई र डेटाको क्षेत्रमा आइपुगिन । 

सुरूवातदेखि नै मेसिन लर्निङमा बढी फोकस भएका कारण एआईको क्षेत्रमा आइपुगेको हुन सक्ने रोशा बताउँछिन् । ‘बच्चादेखि नै म डेटाड्रिभन व्यक्ति हो । त्यसमाथि सुरूवातदेखि नै मेसिन लर्निङमा बढी फोकस भए,’ रोशा भन्छिन्, ‘मैले मेसिन लर्निङ अल्गोरिदम समेत डिजाइन गरेकी छु । त्यसैकारण पनि योजनाबिना एआईमा आए होला ।’ 

डेटा वैज्ञानिकको रूपमा उनको पहिलो जागिर द वेदर कम्पनीबाट सुरू भएको थियो । काम थियो - मेसिन लर्निङ मोडल र न्युरल नेटवर्क मोडल डिजाइन गर्ने । 

पछि उक्त कम्पनीलाई आईबीएमले खरिद गर्‍यो र आईबीएम वाटसन अन्तर्गत सञ्चालनमा आएको थियो । त्यहाँ वरिष्ठ नेतृत्व तहमा रहेर काम गरिन, जहाँ एण्ड टु एण्ड एआई प्रडक्ट बनाउने जिम्मेवारी उनको काँधमा थियो । 

रोशासँग एआई र मेसिन लर्निङमा आईबीएम, सेन्टीन कर्पोरेशन र डेटाभेन्ट जस्ता चर्चित कम्पनीमा नेतृत्वदायी भूमिकामा बसेर काम गरेको अनुभव छ ।  

null

अहिले युएसटी हेल्थप्रुफमा चीफ एआई आर्किटेक्टको रूपमा काम गरिरहेकी छन् । सँगसँगै उनको आफ्नै स्टार्टअप पनि छ, जसको नाम हो, ‘सल्भड्याट’ ।

एक वर्ष अगाडि स्थापना भएको सल्भड्याट एआई कन्सल्टिङ कम्पनी हो । साना तथा मझौला व्यवसायलाई एआई प्रडक्ट बनाउन र कार्यान्वयन गर्न सघाउँदै आएको छ । विशेष गरी हेल्थकेयर क्षेत्रमा काम गरिरहेको छ । 

महिलालाई नेतृत्व तहमा आउनै गार्‍हो 

महिलाहरूको काँधमा धेरै जिम्मेवारी हुन्छ । अहिलेसम्म पनि महिलाहरूलाई राम्रो श्रीमति, राम्रो केयर टेकरको रूपमा मात्रै लिने गरिएको छ । त्यसैले गर्दा पनि महिलाहरूलाई नेतृत्व तहमा आउन धेरै गार्‍हो छ । यो नेपालको मात्रै यथार्थ नभएर विकसित राष्ट्रमा पनि उस्तै छ । झन सूचना प्रविधि क्षेत्रमा अझै गार्‍हो छ । सहभागीता पनि कम छ । 

महिलाहरूलाई नेतृत्व तहमा आउन धेरै गार्‍हो रहेको उनको अनुभव छ । उनी भन्छिन्, ‘नेपालमा होस् या अमेरिकामा होस् या युरोपमा नै किन नहोस् । नेतृत्व तहमा आफ्नो स्थान बनाउन महिलाहरूलाई सहज छैन् ।’

अहिले पनि राम्रो सम्भावना बोकेका महिलाहरू घरको काममा मात्र सिमित छन् । घरमा सिमित रहेका महिलाहरूलाई सशक्तिकरणको खाँचो भएको र त्यसमा पुरूषले सहयोग गर्नुपर्ने पोखरेलको धारणा छ ।  

‘महिलाहरूलाई घरमा मात्रै समिति राख्नु हुँदैन् । उहाँहरूमा अथाह सम्भावना छ,’ पोखरेल भन्छिन् । 

अहिले सल्भड्याट भन्ने आफ्नै कम्पनी छ । तिम्रो सुरक्षा, हाम्रो कर्तव्य भन्ने गैर नाफामुल संस्था पनि सञ्चालन गरिरहेकी छन् । यसले डिजिटल र फिजिकल सेफ्टीको विषयमा जनचेतना फैलाउने काम गर्छ । 

हेल्थकेयर एआई 

अहिले चर्चा भए जस्तो एआई आजको भोलि आएको होइन । सन् १९५० को देशकबाटै यसमा काम सुरू भएको थियो । धेरैले अहिले एआईको सम्भावना र असर बारे अझै बुझेका छैनन् । धेरै जना दोधारमा छन् । 

एआईले हरेक क्षेत्रमा जस्तै हेल्थकेयरमा पनि ठूलो सिफ्ट ल्यानेवाला छ । हेल्थकेयर क्षेत्रमा एआई लिपफ्रग टेक्नोलोजी हुन सक्ने पोखरेलले बताइन् । 

‘एआई प्रविधि हेल्थकेयरमा लिपफ्रग हुन सक्छ । एआईको फाउन्डेसन भनेकै डेटा हो । हेल्थकेयरमा पनि एआई प्रयोग गर्न डेटा चाहिन्छ । डाक्टर नपुगेको एआईको सहयोग लिन सकिन्छ,’ उनले भनिन । 

null

पोखरेलले विशेषज्ञता पनि हेल्थकेयर एआई क्षेत्रमा बढी छ । अमेरिकामा काम गर्दा बनाएका ८ वटा प्रडक्टहरू मध्ये ६ वटा प्रडक्ट हेल्थकेयरसँग सम्बन्धित छन् । 

एआई मेजर टेक्नोलोजीकल सिफ्ट हुने र सन् २०३० सम्म त्यसको प्रभाव देख्न पाइने उनको बुझाइ छ ।

समाजसेवाको रूची 

केही वर्ष अगाडिसम्म बालबालिकामाथि दुर्व्यवहार भएका समाचारहरू आइरहन्थे । यस्ता समाचारले उनको मनमा पीडा हुन्थ्यो । त्यहाँबाट बालिबालिकाको सुरक्षाका लागि केही गर्नुपर्छ भन्ने मनमा जाग्यो र सुरू भयो उनको समाजसेवाको यात्रा । 

यसका लागि विगत ५ वर्षदेखि ‘तिम्रो सुरक्षा, हाम्रो कर्तव्य’ गैरनाफामुलक संस्था सञ्चालन गरिरहेकी छन्, जसले डिजिटल र फिजिकल सेफ्टीको विषयमा जानकारी प्रदान गर्दछ । अहिलेसम्म २० वटा स्कुल, ५०० शिक्षक र ५ हजार बच्चाहरूलाई तालिम प्रदान गरिएको छ । 

आगामी दिनमा सल्भ ड्याट तथा ‘तिम्रो सुरक्षा हाम्रो कर्तव्य’लाई सँगसँगै लैजाने र एआईमै काम गर्ने उनको योजना छ । 

‘म सँधै आफ्नो रूटसँग जोडिन चाहन्छु । नेपालजस्तो आफ्नो पन म अन्त कतै पनि भेट्दिन्न,’ उनले कुराकानीको अन्त्यमा भनिन, ‘आगामी दिनमा आफुले जानेको सीप र ज्ञान डायस्पोराबाटै नेपालको उन्नति र प्रगतिमा खर्च गर्नेछु ।’