अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अवधि १० वर्ष हुने भएको छ । प्रतिनिधिसभाले पारित गरेको केही नेपाल ऐन संशोधन विधेयकमार्फत ड्राइभिङ लाइसेन्सको अवधि १० वर्ष बनाइएको हो ।
यसअघि ड्राइभिङ लाइसेन्सको अवधि ५ वर्ष रहेको थियो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा (३) मा रहेका ‘पाँच वर्षसम्म’ भन्ने शब्दहरुको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्दहरु राखिएका छन् ।
यस्तै दफा ५६ को उपदफा (३) मा रहेका ‘पाँच वर्षसम्मको’ भन्ने शब्दहरुको सट्टा ‘दश वर्षसम्मको’ भन्ने शब्दहरु राखिएका छन् । साथै दफा १६८ पछि यस ऐन र प्रदेश कानून बमोजिम दर्ता हुने सवारीको विवरण, चालक अनुमतिपत्रको विवरण, सवारी चालक अनुमतिपत्र सम्बन्धित राजश्व कार्यालयमा भएका विवरण लगायतका अन्य वैयक्तिक तथा जैविक (बायोमेट्रिक्स) सहितको एकीकृत विवरण प्राप्त हुने गरी विभागले सूचना प्रविधिमा आधारित यातायात सेवाको विद्युतीय अभिलेख प्रणाली निर्माण गर्नेछ भन्ने दफा थपिएको छ ।
यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ल्याएका थिए । २६ वैशाख २०८० मा यो विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो । दफाबार छलफलका लागि प्रतिनिधि सभाले विषयगत समितिमा २९ भदौ २०८० मा पठाइएको थियो ।
समितिबाट पास भएर सभामा १४ वैशाख २०८१ मा पुगेको थियो । मंगलबार प्रतिनिधि सभाले पारित गरेको छ । अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ ।