दाङ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत दाङका विभिन्न वितरण केन्द्रहरूले विद्युत् महसुल भुक्तानी प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने प्रक्रिया तीव्र बनाएका छन् । यसअन्तर्गत लमही वितरण केन्द्र मातहत सञ्चालित भालुवाङ महसुल काउन्टर आगामी जेठ १ गतेदेखि बन्द हुने भएको छ ।
लमही वितरण केन्द्रले लमहीस्थित मुख्य काउन्टर सेवा पनि आगामी साउन १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने तयारी गरेको जनाएको छ । वितरण केन्द्रका अनुसार उपभोक्तालाई क्रमशः अनलाइन भुक्तानी प्रणालीमा अभ्यस्त बनाउने उद्देश्यले भौतिक काउन्टर हटाउने निर्णय कार्यान्वयनमा ल्याइएको हो ।
हाल लमही वितरण केन्द्रअन्तर्गत रहेका करिब ४५ हजार उपभोक्तामध्ये अधिकांशले अनलाइन माध्यमबाट विद्युत् महसुल तिर्दै आएका छन् । बाँकी ग्राहकलाई समेत डिजिटल प्रणालीमा जोड्न प्राधिकरणले अभियान अघि बढाएको छ ।
अब उपभोक्ताले इ-सेवा, खल्ती, फोन-पे तथा विभिन्न बैंकिङ सेवामार्फत सहज रूपमा महसुल भुक्तानी गर्न सक्नेछन् । यता, घोराही वितरण केन्द्रले पनि निकट भविष्यमा भौतिक काउन्टर सेवा बन्द गर्ने तयारी भइरहेको जनाएको छ ।
काउन्टर सेवा बन्द भएपछि उपभोक्ताले मोबाइल वालेट तथा बैंकिङ सेवामार्फत जुनसुकै समय र स्थानबाट डिजिटल माध्यममा महसुल भुक्तानी गर्न सक्नेछन् । हाल घोराही वितरण केन्द्रअन्तर्गत ५६ हजार ९९४ ग्राहक रहेका छन् ।
प्राधिकरणले डिजिटल प्रणाली लागू भएपछि उपभोक्ताले लाइनमा बसेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति पाउने, साथै समय र खर्च दुवै बचत हुने विश्वास व्यक्त गरेको छ ।
आईसीटी समाचार