११ वटा नागरिक संस्थाहरूको साझा समूह डिजिटल फ्रिडम कोलिसनले सात दिने अल्टिमेटम दिएर सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने सरकारी मनसायप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
सामाजिक सञ्जाल प्लेटफर्महरू अभिव्यक्ति स्वतन्त्रतालाई बढावा दिने माध्यम भएको बताउँदै कोलिसनले यस्तो कदमले डिजिटल स्वतन्त्रतालाई गम्भीर रूपमा असर गर्ने चिन्ता व्यक्त हरेको हो ।
‘यस्ता कार्यहरूमा पारदर्शिता र सार्वजनिक परामर्शको अभाव छ, जसले स्वेच्छाचारी निर्णय प्रक्रियाको बारेमा गम्भीर खतराको घण्टी बजाएको छ र यस्तो कदमले डिजिटल स्वतन्त्रतालाई गम्भीर रूपमा असर गर्न सक्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘नागरिकको अधिकारलाई असर गर्ने नियामक उपायहरूले संवैधानिक सिद्धान्त र लोकतान्त्रिक मान्यताहरूसँग अनुकूलता सुनिश्चित गर्दै विस्तृत विधायीकी परिक्षण हुनु जरुरी छ ।’
सामाजिक सञ्जालले नेपालको डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउन, व्यक्तिहरूलाई सक्षम बनाउन र सीमान्तकृत समुदायहरूको आवाजलाई बुलन्द गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको कोलिसनको भनाइ छ ।
विज्ञप्तीमा अगाडि भनिएको छ, ‘यी प्लेटफर्महरूलाई प्रतिबन्ध लगाउने प्रयासले यी महत्त्वपूर्ण उपलब्धिहरूलाई जोखिममा पार्नेछ । सामाजिक सञ्जालमा गरिने यस्ता प्रतिबन्धात्मक कदमहरूले सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको दायरामा प्रतिकूल प्रभाव पार्दै प्रभावकारी लोकतन्त्रका आधारभूत मान्यतामा दीर्घकालीन नकारात्मक असर पार्नेछ। यी नियन्त्रणहरूले सञ्चार माध्यमहरुको दिगोपनलाई पनि खतरामा पार्छ, पत्रकारहरूलाई स्वतन्त्र रूपमा रिपोर्ट गर्न गाह्रो बनाउँछ र सेन्सरशिपको जोखिम बढाउँछ ।’
सामाजिक सञ्जाल प्लेटफर्महरू माथि प्रतिबन्ध लगाउँदा डिजिटल अर्थतन्त्र, रोजगारी र इन्टरनेट सेवाहरूको समग्र गुणस्तर र लागतमा दूरगामी नकारात्मक असर पर्ने कोलिसनले चेतावनी दिएको छ ।
साना, मझौला वा ठूला उद्यमहरू लगायत लगभग सबै व्यवसायहरू मार्केटिङ, ग्राहक संलग्नता, बिक्री, अनलाइन समर्थन र अन्य धेरैका लागि सामाजिक सञ्जालमा निर्भर छन् । यी व्यवसायहरूले ठूलो परिचालन अवरोधहरू भोग्नेछन्, फलस्वरूप डिजिटल मार्केटिङ, सामग्री निर्माण, अनलाइन व्यापार र ग्राहक सेवा जस्ता क्षेत्रहरूमा व्यापक रोजगारी गुम्ने बताइएको छ ।
सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थापन गर्ने निर्देशिका, २०८० अन्तर्गत नेपालमा दर्ता नहुने प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
संसदीय कानूनको अभावमा ल्याइएको निर्देशिकाले सुरुदेखि नै सरोकारवालाहरूको चिन्ता बढाएको कोलिसनको दावी छ । ‘सरोकारवालाहरूसँग अर्थपूर्ण परामर्श बिना यी निर्देशिकाहरूको कार्यान्वयनले पारदर्शिता र जवाफदेहिताको सिद्धान्तको उल्लङ्घन गर्दछ । नागरिकको अधिकारलाई असर गर्ने कुनै पनि कानून संवैधानिक जनादेश र विधायीकि प्रक्रियाहरूसँग मिल्नुपर्छ। स्वेच्छाचारी प्रशासनिक कार्यहरूले नेपाली नागरिकहरूको संवैधानिक अधिकारलाई हनन गर्नु हुँदैन,’ कोलिसनले भनेको छ ।
कोलिसनका अनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध वा अनुचित प्रतिबन्धले नागरिक सहभागितालाई कमजोर बनाउनेछ, लोकतान्त्रिक अभ्यासहरूलाई निरुत्साहित गर्नेछ र अभिव्यक्ति र भेला हुने नागरिकहरूको अधिकारलाई कमजोर पार्नेछ ।
कोलिसन सदस्य संस्थाहरु र प्रतिनिधिहरु
तारानाथ दाहाल |
फ्रीडम फोरम नेपाल |
लक्ष्मणदत्त पन्त |
मिडिया एक्सन नेपाल |
रोशन पोखरेल |
इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट |
प्रवेश सुवेदी |
डिजिटल मिडिया फाउन्डेसन |
राजन पराजुली |
एन्टेना फाउन्डेसन नेपाल |
सुरज अधिकारी |
फोरम फर डिजिटल इक्वालिटी |
आनन्द गौतम |
युथ आईजीएफ नेपाल |
आशीर्वाद त्रिपाठी |
इन्टरनेट सोसाइटी नेपाल च्याप्टर |
विनोद बस्नेत |
एजुकेटिङ नेपाल |
सुस्मीरा अर्याल |
अपाङ्गता अधिकारका लागि महिला समूह |
सञ्जीव घिमिरे |
मिडिया लयर्स एसोसिएसन |