एलन मस्कले पुनः अर्को सामाजिक सञ्जाल प्लेटफर्म खरिद गर्न तयारी गरिरहेका छन् । टेस्ला र स्पेसएक्सजस्ता कम्पनीका मालिक एलन मस्कले ट्विटर (हाल एक्स) खरिद गरेपछि अब अर्को नयाँ सामाजिक सञ्जाल प्लेटफर्म टिकटक खरिद गर्न तयारी गरिरहेका हुन् ।
सन् २०२२ मा मस्कले ट्विटर खरिद गर्न ४४ बिलियन अमेरिकी डलर खर्च गरेका थिए भने यो कारोबार नगदमा भएको थियो । ट्विटर खरिद गरेपछि यसको नाम पनि एक्समा परिवर्तन गरिएको थियो ।
पछिल्लो रिपोर्टअनुसार एलन मस्कले चिनियाँ शर्ट भिडियो प्लेटफर्म टिकटक खरिद गर्ने योजना बनाइरहेका छन् । अमेरिकामा चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउने तयारी भइरहेका खबरहरूको बीच मस्कले उक्त सर्ट भिडियो प्लेटफर्म खरिद गर्न चासो देखाएका छन् ।
यो चर्चा अमेरिकी सर्वोच्च अदालतमा सुनुवाइको क्रममा उठेको हो । सर्वाेच्च अदालतले टिकटक र यसको मूल कम्पनी बाइटडान्सलाई विभिन्न मुद्दाहरूमा नामांकित गरेको छ ।
अमेरिकी सरकारले टिकटकलाई सुरक्षा दृष्टिकोणले प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ । अधिकारीहरू चिनियाँ सरकारसँग यस एपको सम्बन्ध र अमेरिकी सुरक्षामा पर्ने प्रभावबारे चिन्तित छन् । सुरक्षा कारणले भारतलगायत विभिन्न देशहरूमा पनि टिकटक प्रतिबन्धित छ ।
टिकटकका अमेरिकामा १७ करोड सक्रिय प्रयोगकर्ताहरू रहेका छन् । नयाँ नियमअनुसार १९ जनवरीदेखि टिकटक अमेरिकामा प्रतिबन्धित हुन सक्ने सम्भावना छ । तर, यदि एलन मस्कले टिकटक खरिद गरे भने यसलाई पूर्ण रूपमा प्रतिबन्धित हुनबाट बचाउन मद्दत पुग्न सक्छ ।
टिकटक विश्वभरका युवाहरू, विशेष गरी २० वर्षको उमेर समूहका मानिसहरू माझ निकै लोकप्रिय छ । राष्ट्रपति जो बाइडेनको प्रशासनले प्रस्ताव गरेका नयाँ नियमअनुसार २० जनवरीदेखि अमेरिकी प्रयोगकर्ताहरूले टिकटक प्रयोग गर्न नसक्ने सम्भावना छ । हालसम्म टिकटकले मस्कको यो खरिदबारे कुनै जानकारी सार्वजनिक गरेको छैन् ।
सन् २०२२ मा एलन मस्कले ट्विटरलाई ४४ बिलियन अमेरिकी डलरमा खरिद गरेका थिए । खरिदपछि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्विटरमा फर्किएका थिए । मस्कले खरिदपछि ट्विटरमा धेरै परिवर्तनहरू पनि गरेका छन् ।