काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो क्रेडिट रेटिङमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । CARE Ratings Nepal Limited ले कम्पनीको रेटिङलाई ‘CARE-NP BBB+’ बाट स्तरोन्नति गर्दै ‘CARE-NP A-’ प्रदान गरेको हो ।
कम्पनीका अनुसार नयाँ रेटिङले आईएमई लाइफको सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । साथै बीमित तथा अन्य सरोकारवालाको विश्वास कायम राख्न कम्पनी सफल भएको संकेत पनि यसले गरेको छ ।
‘CARE-NP A-’ रेटिङले कम्पनीसँग आफ्ना वित्तीय दायित्वहरू समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको देखाउने जनाइएको छ । यसले अघिल्लो मूल्याङ्कनको तुलनामा कम्पनीको वित्तीय तथा संस्थागत अवस्थामा उल्लेखनीय सुधार भएको संकेत गर्ने कम्पनीको भनाइ छ ।
आईएमई लाइफ व्यवस्थापनले उक्त स्तरोन्नतिलाई ग्राहक, लगानीकर्ता, अभिकर्ता, कर्मचारी तथा अन्य सरोकारवालाको विश्वास र सहयोगको प्रतिफलका रूपमा लिएको जनाएको छ ।
कम्पनीले आगामी दिनमा ग्राहक सेवा, नवप्रवर्तन, संस्थागत सुशासन तथा दीर्घकालीन वित्तीय स्थायित्वलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
‘Ensuring Future’ भन्ने मूल नारासहित सञ्चालनमा रहेको आईएमई लाइफ नेपालका अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक हो । कम्पनीले विभिन्न जीवन बीमा योजनामार्फत व्यक्ति तथा परिवारको आर्थिक सुरक्षा, बचत र भविष्य सुनिश्चित गर्ने सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
देशभर फैलिएको शाखा सञ्जाल, उपशाखा तथा हजारौं अभिकर्तामार्फत सेवा विस्तार गर्दै आएको कम्पनीले जीवन बीमाको पहुँचलाई ग्रामीण तथा शहरी समुदायसम्म पुर्याउने कार्यलाई प्राथमिकता दिएको जनाएको छ ।
डिजिटल प्रविधिको प्रयोग, ग्राहक केन्द्रित सेवा तथा जिम्मेवार लगानी व्यवस्थापनमार्फत कम्पनीले नेपाली जीवन बीमा क्षेत्रमा आफ्नो अलग पहिचान स्थापित गरेको दाबी गरेको छ ।
व्यावसायिक गतिविधिसँगै कम्पनीले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता, सामुदायिक विकास तथा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कम्पनीका अनुसार ‘CARE-NP A-’ रेटिङ प्राप्त गर्नु केवल उपलब्धि मात्र नभई भविष्यमा अझ उच्च व्यावसायिक मापदण्ड, उत्कृष्ट सेवा र वित्तीय सुदृढताप्रति थप जिम्मेवार बन्ने प्रेरणा पनि हो ।
कम्पनीले आगामी दिनमा पनि बीमितहरूको भविष्य सुरक्षित गर्दै नेपालको बीमा क्षेत्रको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।
आईसीटी समाचार