कीवर्डहरू -

एनभिडियाको पुनरागमनसँगै हुवाङ फाउन्डेसनको छलाङ, एकै दिनमा २.३ अर्ब डलर कमाइ

एनभिडियाको पुनरागमनसँगै हुवाङ फाउन्डेसनको छलाङ, एकै दिनमा २.३ अर्ब डलर कमाइ

काठमाडौं । एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा पुन: कम्पनीको नेतृत्वमा फर्किएपछि त्यसको प्रत्यक्ष लाभ शेयरधनीलाई मात्र भएको छैन । उनकी पत्नी लोरी हुआङले सञ्चालन गर्दै आएको निजी परोपकारी संस्था ‘जेन–हसुन एन्ड लोरी हुआङ फाउन्डेसन’ को सम्पत्तिसमेत एकै दिनमा करिब २.३ अर्ब डलरले बढेको छ ।

‘फर्च्युन’ का अनुसार हुआङ सीईओका रूपमा पुन: नियुक्त भएपछि एनभिडियाको शेयर मूल्य ३० प्रतिशतभन्दा बढीले वृद्धि हुँदै १६५.०५ डलरमा बन्द भएको थियो । फाउन्डेसनसँग एनभिडियाका करिब पाँच करोड ९० लाख कित्ता शेयर रहेको कम्पनीको सन् २०२६ को प्रोक्सी स्टेटमेन्टमा उल्लेख छ । शेयर मूल्यमा आएको उछालसँगै ती शेयरको मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।

जेन्सेन र उनकी पत्नी लोरीले सन् २००७ मा तीन लाख ७० हजार कित्ता एनभिडिया शेयरसहित उक्त फाउन्डेसन स्थापना गरेका थिए । त्यतिबेला ती शेयरको मूल्य करिब एक करोड २६ लाख डलर थियो । करसम्बन्धी विवरण उद्धृत गर्दै फर्च्युनले जनाएअनुसार फाउन्डेसनको सम्पत्ति सन् २०२० को अन्त्यमा ८२ करोड ८० लाख डलर रहेकामा सन् २०२४ को अन्त्यसम्ममा बढेर ९ अर्ब २० करोड डलर पुगेको थियो ।

हुआङ दम्पतीले फाउन्डेसनको सम्पत्तिमा समय–समयमा थप योगदानसमेत गर्दै आएका छन् । सीएनबीसीले उद्धृत गरेको अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) मा बुझाइएको विवरणअनुसार सन् २०२५ जुनमा उनीहरूको लिभिङ ट्रस्टबाट चार लाख ४० हजार कित्ता एनभिडिया शेयर फाउन्डेसन र दाता–सल्लाह प्राप्त कोषमा हस्तान्तरण गरिएको थियो । उक्त शेयरको मूल्य त्यतिबेला करिब ६ करोड डलर थियो ।

गत वर्ष तथ्याङ्कसम्बन्धी संस्था ‘फाउन्डेसनमार्क’ ले उक्त फाउन्डेसनलाई अमेरिकाका १५ ठूला निजी परोपकारी संस्थामध्ये एकका रूपमा सूचीकृत गरेको थियो । यो रकफेलर फाउन्डेसन र कोनराड एन हिल्टन फाउन्डेसनजस्ता प्रतिष्ठित संस्थाको सूचीमा परेको छ ।

यति ठूलो सम्पत्ति भएपनि हुआङ दम्पतीको फाउन्डेसन तुलनात्मक रूपमा गुमनाम छ । यसको आफ्नै वेबसाइटसमेत छैन । सन् २०२३ सम्म फाउन्डेसनमा तलब पाउने कर्मचारीसमेत नरहेको फर्च्युनले उल्लेख गरेको छ ।

लोरी हुआङ सन् २०१४ देखि फाउन्डेसनको अध्यक्षका रूपमा कार्यरत छिन् भने जेन्सेन सचिव तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) को जिम्मेवारीमा छन् । लोरी ती ट्रस्टहरूको सह–ट्रस्टीसमेत हुन्, जसमा हुआङ दम्पतीको एनभिडियामा रहेको अधिकांश शेयर राखिएको छ । फोर्ब्सको अनुमानअनुसार सोमबार बजार बन्द हुँदासम्म ती शेयरको मूल्य करिब १४४ अर्ब डलर पुगेको थियो ।

हुआङ दम्पतीको भेट ओरेगन स्टेट युनिभर्सिटीमा भएको थियो । भेट हुँदा लोरी १९ वर्षकी र जेन्सेन १७ वर्षका थिए । उनीहरूले सन् १९८५ मा विवाह गरेका थिए । जेन्सेनले सन् १९९३ मा क्रिस मालाचोव्स्की र कर्टिस प्रिमसँग मिलेर एनभिडिया स्थापना गरेका थिए ।

फाउन्डेसनको रकम कहाँ खर्च हुन्छ ?
हुआङ दम्पतीको फाउन्डेसनले विभिन्न शैक्षिक तथा सांस्कृतिक संस्थालाई ठूलो रकम सहयोग गर्दै आएको छ । सन् २०२२ मा ओरेगन राज्यलाई पाँच करोड डलर र सन् २०२५ मा क्यालिफोर्निया कलेज अफ द आर्ट्सलाई दुई करोड २५ लाख डलर अनुदान दिएको थियो ।

त्यसैगरी, गत नोभेम्बरमा सान फ्रान्सिस्को ओपेरालाई वार्षिक ५० लाख डलर सहयोग गर्ने घोषणा गरेको थियो । जुलाईमा सान फ्रान्सिस्कोमा नयाँ कला, वास्तुकला तथा डिजाइन कलेज स्थापना गर्न भ्यान्डरबिल्ट विश्वविद्यालयलाई सात करोड ५० लाख डलर प्रदान गरेको थियो ।

यद्यपि, फर्च्युनको रिपोर्टअनुसार फाउन्डेसनले वितरण गर्ने अनुदानको ठूलो हिस्सा दाता–सल्लाह प्राप्त कोष (डोनर एडभाइज्ड फन्ड–डीएएफ) मा जाने गरेको छ । सन् २०२४ मा फाउन्डेसनले गरेको कुल १२ करोड ६० लाख डलर अनुदानमध्ये आठ करोड २० लाख डलर अर्थात् करिब दुईतिहाइ रकम ‘डीएएफ गिभिङ ३६०’ मा गएको थियो । 

उक्त संस्था यसअघि ‘स्वाब च्यारिटेबल’का नामले परिचित थियो । यसअघि सन् २०२३ मा पनि फाउन्डेसनले आफ्नो कुल अनुदानको ७७ प्रतिशत अर्थात् चार करोड ६० लाख डलर स्वाब डीएएफलाई दिएको सीएनबीसीले जनाएको थियो ।

दाता–सल्लाह प्राप्त कोषमार्फत दाताले तत्काल कर छुटको सुविधा लिन सक्छन् । निजी फाउन्डेसनको तुलनामा यस्ता कोषले निश्चित समयतालिकाअनुसार रकम वितरण गर्नुपर्ने र अनुदान प्राप्त गर्ने संस्थाबारे सार्वजनिक रूपमा विस्तृत विवरण खुलाउनुपर्ने बाध्यता कम हुन्छ ।

एनभिडियाको शेयर मूल्यमा आएको वृद्धिसँगै फाउन्डेसनको शेयर सम्पत्तिको मूल्य शुक्रबारको बजार बन्द मूल्यको तुलनामा करिब २.३ अर्ब डलरले बढेर ९.७ अर्ब डलर पुगेको फर्च्युनले जनाएको छ ।